
काठमाडौं । सभामुख देवराज घिमिरेले सदनमा राप्रपा सांसद धवलशमशेर राणा पक्राउ परेको प्रहरीको पत्र पढेर सुनाएका छन् । सातदोबाटोबाट पक्राउ परेका राणा राजनीतिक कारण नभई आपराधिक संलग्नतामा पक्राउ परेको प्रहरीको पत्रमा उल्लेख छ ।
राणासहित दुर्गा प्रसाईं, रवीन्द्र मिश्र समेतका प्रदर्शनकारीले सभा गर्ने भनेर भेला भए पनि स्टेज नै नगई भिडलाई उत्तेजित बनाएको पत्रमा उल्लेख छ । ‘गणतन्त्र नेपालको संरचनालाई पल्टाई राजतन्त्र स्थापना गर्ने भनी आपराधिक बलको प्रदर्शन वा प्रयोग गर्न लगाएर कार्यक्रमस्थल छाडेर सिधै हुल हुज्जत गर्दै विरोध कार्यक्रममा सहभागी भएका प्रदर्शनकारीलाई प्रहरीसँग मुठभेड गर्न र निषेधित क्षेत्र तोड्न उक्साएको’ आरोप प्रहरीको पत्रमा छ ।
“विभिन्न मिडिया हाउस तथा सुपर मार्केट, प्रहरी कार्यालय, सरकारी कार्यालय, संस्थान, निजी तथा सरकारी र प्रहरीका सवारीसाधन, सर्वसाधारण नागरिकको निजी घर, राजनीतिक दलका कार्यालय तथा राजनीतिक दलका नेताको निजी निवास समेत तोडफोड र आगजनी गर्नुका साथै प्रहरी कर्मचारीलाई लाठी, ढुंगा, विभिन्न घरेलु हतियार तथा सवारीसाधनमा जबर्जस्ती, ड्युटीमा तीनकुनेस्थित प्रदर्शनकारीको कार्यक्रमस्थलनजिकै रहेको घर, सो घरभित्र रहेका विभिन्न कार्यालय समेत तोडफोड र घरभित्र मानिस छ भन्ने कुरा थाहा जानकारी हुँदाहुँदै आगजनी गरी ज्यान मार्नेसम्मको अपराध गर्दा समेत अगुवा नेता तथा कार्यकर्ताले सो आपराधिक कार्यहरूलाई रोक्ने प्रयास नगरी उल्टै प्रदर्शनकारीलाई उक्साई उत्तेजित बनाई माथि उल्लिखित आपराधिक कार्य गरी राज्यविरुद्धको कसूर समेतको अपराध गरेको हुँदा सो कसूरमा प्रतिनिधिसभा सदस्य माननीय डा. धवलशमशेर राणालाई तलितपुर जिल्ला ललितपुर म.न.पा. वडा नं. १५ सातदोबाटोबाट मिति २०८१/१२/१५ गते अं. २१ः०० बजेको समयमा पक्राउ गरी हिरासतमा राखी थप अनुसन्धान कार्य गर्दै रहेको व्यहोरा जिल्ला प्रहरी परिसर, अपराध अनुसन्धान तथा कारवाही शाखाको प.सं.०८१/०८२, च.नं. १६१८३ मिति २०८१/१२/१६ गतेको पत्रबाट लेखि आएको हुँदा प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २४८ को उपनियम (१) को प्रयोजनको लागि सदनलाई जानकारी गराउँछु,” सभामुखले पत्रसहितको जानकारीमा भनेका छन् ।