site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
पूर्वराजाले लफंगालाई ‘जनकमान्डर’ बनाउनुभयो, ताण्डव नृत्य नचाउन पठाउनुभयो : भट्टराई

काठमाडौं । नेकपा (एमाले)का सांसद योगेशकुमार भट्टराईले पूर्वराजा ज्ञानेन्द्र शाहले निर्मलनिवासबाट केही व्यक्तिलाई माला लगाएर जनताको घर जलाउन पठाएको आरोप लगाएका छन् । सोमबार (चैत १८) प्रतिनिधिसभा बैठकमा उनले शाहले राज्यसँगको सम्झौता भंग गरेको भन्दै उनलाई दिइएको सेवा सुविधा कटौती गर्नेबारे सोच्नुपर्नेमा जोड दिए ।

“पूर्वराजा शाहलाई सरकारले पूर्वराष्ट्राध्यक्षको हिसाबले यो राज्यले सेवा सम्मान दिन्छ भनेर दिएको हो । आज त्यो सम्झौता पनि ज्ञानेन्द्र शाहले भंग गर्नुभयो,” उनले भने, “त्यसैले आज म यो संसद्‌मार्फत प्रश्न गर्न चाहन्छु– सम्झौता भंग भएपछि उहाँलाई दिएको सेवा सुविधा कायम हुन्छ कि हुँदैन ?”

Argakhachi Cement Island Ad

उनले अगाडि भने, “म सरकारलाई सोध्न चाहन्छु– उहाँले सम्झौता भंग गर्नुभयो । उहाँले लफंगाहरूलाई जनकमान्डर बनाउनुभयो । तीनकुनेमा ताण्डव नृत्य नचाउन पठाउनुभयो । म फेरि भन्छु– निर्मलनिवासबाट लफंगाहरूलाई माला लगाएर जनताको घर जलाउन पठाउनुभयो । तपाईंको सम्झौता भंग भयो । त्यसैले तपाईंलाई दिइएको सेवा सुविधा के हुन्छ – सरकारले जवाफ दिनुपर्‍यो ।”

उनले पृथ्वीनारायण शाह र बहादुर शाहबाहेकका राजाले राष्ट्र जोगाउने काम गर्न नसकेको टिप्पणी गरे । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: सोमबार, चैत १८, २०८१  १३:५७
प्रतिक्रिया दिनुहोस्