
काठमाडौं । अमेरिकामा भारतको गुप्तचर एजेन्सी रिसर्च एण्ड एनालिसिस विङ (रअ)लाई प्रतिबन्ध लगाउन माग गरिएको छ ।मंगलबार, अमेरिकाको अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रतासम्बन्धी अमेरिकी आयोग यूएससीआईआरएफले सन् २०२५ को वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ। यस प्रतिवेदनमा ‘रअ’लाई प्रतिबन्ध लगाउन माग गरिएको छ ।
प्रतिवेदनले भारतमा धार्मिक अल्पसंख्यकमाथि आक्रमण र भेदभावका घटना बढ्दै गएकाले धार्मिक स्वतन्त्रताको अवस्था निरन्तर बिग्रँदै गएको दाबी गरेको छ । तर, भारतले उक्त प्रतिवेदनलाई ‘पक्षपाती र राजनीतिक रूपमा प्रेरित’ भन्दै अस्वीकार गरेको छ ।
रिपोर्टमा भनिएको छ,“भारत सरकारले विदेशमा रहेका धार्मिक अल्पसंख्यकहरू, विशेष गरी सिख समुदायका सदस्यहरू र उनीहरूको आवाजलाई लक्षित गर्न आफ्नो दमनकारी रणनीतिहरू विस्तार गर्न जारी राखेको छ ।”
यूएससीआईआरएफ अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रताका क्षेत्रमा काम गर्ने एक अमेरिकी संघीय आयोग हो । यसको मुख्य कार्य अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता मुद्दाहरूको अनुसन्धान र अनुगमन गर्नु हो।
यस वर्षको प्रतिवेदनमा परराष्ट्र मन्त्रालयको प्रतिक्रिया विगत केही वर्षको प्रतिक्रियासँग धेरै हदसम्म मिल्दोजुल्दो थियो। विगत केही वर्षदेखि युएससीआईआरएफले भारतमा धार्मिक स्वतन्त्रता र अल्पसंख्यक उत्पीडनको बारेमा निरन्तर चिन्ता व्यक्त गर्दै आएको छ र भारतले यसलाई हरेकपटक अस्वीकार गर्दै आएको छ । बीबीसी