site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रकृत्या सह जीवनम्
Tiktok banner adTiktok banner ad

वर्तमान 
(उपन्यास : गायत्री अधिकारी)

लेखक गायत्री अधिकारी साहित्यका विभिन्न विधामा कलम चलाउँछिन् । कविता, कथा लेख्दै आएकी उनको पहिलो उपन्यास ‘वर्तमान’ केही समयअघि सार्वजनिक गरियो ।

आफ्ना कुरामा उपन्यासकार अधिकारीले लेखेकी छन्, “... मलाई उपन्यास लेख्ने तीव्र इच्छा पलाइरहेको थियो । त्यही इच्छा तथा हुटहुटीले गर्दा ममा जगाइरहेको उत्साहलाई यतिखेर अक्षरमा पोख्ने प्रयास गरेँ । २०८१ साल असोजमा लेख्न सुरु गरेर तीन महिनामा उपन्यासको पाण्डुलिपि तयार भयो । मेरो लागि उपन्यास लेख्नु महत्त्वपूर्ण कुरा हो । आकारको मापनतिर म गइनँ । ... ।”

सुन्दर स्वदेश पब्लिकेसनद्वारा प्रकाशित १०४ पृष्ठको यो उपन्यासको मूल्य २५०/– रुपैयाँ राखिएको छ ।

०००

दुर्बिन
(लघुकथासंग्रह : लक्ष्मण अर्याल)

लघुकथा लेखनमा करिब तीन दशकदेखि कलम चलाउँदै आएका कथाकार लक्ष्मण अर्यालको पछिल्लो लघकथाकृति प्रकाशित छ, ‘दुर्बिन’ । उनले यसअघि दुई लघुकथाकृति पाठकसामु पस्किइसकेका छन् ।

पुस्तकको ब्लर्बमा साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले लेखेका छन्, “‘दुर्बिन’भित्रका लघुकथाहरूले आजको समयलाई गहिरिएर केलाउन सकेको छ । ... ।”

ब्लर्बमै साहित्यकार खेमराज पोखरेलले लेखेका छन्, “... ‘दुर्बिन’भित्रका लघुकथ्य रूपसौन्दर्यमैत्री छन् । स्वैरकल्पनाको शिल्पमा समेत सिर्जनधर्मिता अब्बल छ । ... ।”

साहित्यकार रामबाबु घिमिरेले भूमिकामा लेखेका छन्, “... लक्ष्मण अर्यालको साहित्यकार व्यक्तित्व लघुकथामा विशेष केन्द्रित रहेको छ । ... ।”

लघुकथाकार अर्यालले लेखेका छन्, “म ठान्छु – लघुकथाकार पुराणवाचक होइन । ... ऊ त समाज पढेर त्यसको प्रतिविम्ब खिच्ने कलाकार हो । ... ।”

यो संग्रहभित्र अर्यालका ९६ लघुकथा पढ्न सकिन्छ ।

प्रकाश अर्यालद्वारा प्रकाशित १२८ पृष्ठको यो पुस्तकको मूल्य ३००/– रुपैयाँ राखिएको छ ।

०००

धीमहि 
(उपन्यास : जयराम तिमल्सिना)

जयराम तिमल्सिनाले आफ्नो पहिलो उपन्यास बजारमा ल्याएका छन्, ‘धीमहि’ । नेपाली पुस्तक बजारका एक कर्मशील सर्जक हुन्, उपन्यासकार तिमल्सिना ।

उपन्यासको ब्लर्बमा लेखिएको एक हरफले धेरै कुरा बताउँछ, “... एक कर्मशील एवम् अन्तरजगत्को मन्थनमा नै रमाउने जयराम तिमल्सिनाको पहिलो कृति ‘धीमहि’ आत्मद्वन्द्व व्यवस्थापनका यिनै विकल्पहरूको आख्यानिक खोज हो ।”

स्वकथनमा उल्लेख छ, “... तिनै रंग, म नहिँडेको किनार, मेरा आँखाअगाडिबाट बगिजाने मुख्य नदी यो उपन्यासको मूल भङ्गालो हो ।”

पेज टर्नर प्रालिद्वारा प्रकाशित १८४ पृष्ठको यो उपन्यासको मूल्य ४५५:– रुपैयाँ राखिएको छ ।

०००

प्रकृत्या सह जीवनम्
(कवितासंग्रह : प्रा.डा. गोपी उप्रेती)

विभिन्न विधा र विषयमा कृतिहरू लेखिसकेका साहित्यकार गोपी उप्रेतीको पछिल्लो कविताकृति हो, ‘प्रकृत्या सह जीवनम’ । यो पुस्तक केही समयअघि बजारमा ल्याइएको छ ।

पुस्तकको ब्लर्बमा प्रा. डा. गोविन्दराज भट्टराईले लेखेका छन्, “पर्यावरणीय साहित्यको निर्माणमा यस क्षेत्रका विद्वान् डा. उप्रेतीले अतुलनीय योगदान दिँदै छन् । प्रस्तुत कृतिले प्रकृति, जीवनप्रणाली, दर्शन र विज्ञानको समुचित ज्ञान र सदुपयोगतर्फ मानवलाई प्रेरित गर्ने दिशामा नयाँ आयाम दिएको छ । ... ।”

यसको ब्लर्बमा होमनाथ सुवेदी, डा. ऋषि वास्ताकोटी, महेश पौड्यालका विचार पनि सम्प्रेषित छ । 

भन्नैपर्ने केही कुरामा कवि प्रा. डा. उप्रेतीले लेखेका छन्, “... यो कवितासंग्रहमा समाविष्ट अधिकांश कविताहरूले प्रकृतिसँगको सह–जीवनमा नै मानवसभ्यता र अस्तित्वको निरन्तरता सम्भव हुन्छ र पृथ्वी प्रकृतिको विध्वंशमा मानवसभ्यता र अस्तित्वको लोप अवश्यम्भावी छ भन्ने सन्देश सम्प्रेषण गर्ने प्रयत्न गरेका छन् । यो त मेरो अनुभूति र अपेक्षा मात्र हो । ... ।”

यसभित्र तीन खण्डमा गरेर लामाछोटा ५४ कविता समेटिएको छ ।

समीता उप्रेती (रिजाल)द्वारा प्रकाशित १९६ पृष्ठको यो कविताकृतिको मूल्य ५००/– रुपैयाँ राखिएको छ ।

०००

मुक्तक मुहिम

(मुक्तकसंग्रह : प्र.सं. रामकाजी कोने/श्रीओम श्रेष्ठ ‘रोदन’)

कवितामा चतुष्पदीय मुक्तक लेखनले व्यापकता पाएको छ । त्यसैको परिणति हो, थुप्रै मुक्तक लेखकहरूको मुक्तकहरूको संग्रह ‘मुक्तक मुहिम’ । यो संग्रहको प्रधानसम्पादक रामकाजी कोने र श्रीओम श्रेष्ठ ‘रोदन’ रहेका छन् । कार्यकारी सम्पादक यादव भट्टराई छन् ।

कृतिमा भूमिका छ, प्रा. डा. लक्ष्मणप्रसाद गौतमको । त्यसको एक अंशमा उनले लेखेका छन्, “... मूलतः सैद्धान्तिक रूपमा कविता, आख्यान, नाटक र निबन्ध गरी चार विधा छन् र मुक्तक कविता विधाको लघुतम रूप वा प्रभेद हो । छोटो आयाममा बृहत् भाव वा विचारको अभिव्यक्ति प्रस्तुत गर्ने भएकाले मुक्तक विस्तृत व्याख्याको अणुवत् झिल्को हो र गागरमा सागर अटाउने क्षमता मुक्तकमा हुन्छ र हुनुपर्छ । ... ।”

‘मुक्तक मुहिम’भित्र यादव खरेल, तेजेश्वरबाबु ग्वंग, नगेन्द्रराज शर्मा, रोचक घिमिरे, ज्ञान उदास, बूँद राना, उषा शेरचन, नन्द हाङखिम, पद्मावती सिंह, भागीरथी श्रेष्ठ, तीर्थ श्रेष्ठ, ज्ञानुवाकर पौडेल, डा. तुलसी भट्टराई, हिरण्यकुमारी पाठक, भाउपन्थीसहित नयाँपुराना सर्जकका गरेर २२४ मुक्तक संगृहीत छ ।

नेपाल मुक्तक प्रतिष्ठान र नेपाल स्रष्टा समाजद्वारा प्रकाशित २६० पृष्ठको यस पुस्तकको मूल्य ३००/– रुपैयाँ राखिएको छ । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत ९, २०८१  १३:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro