
प्राकृतिक सौन्दर्य भनेको संसारको सबैभन्दा शुद्ध र असाधारण कला हो । यो सौन्दर्य कुनै मानवनिर्मित वा कृत्रिम हुँदैन । यसलाई मात्र देखेर र अनुभव गरेर महसुस गर्न सकिन्छ । प्राकृतिक लय नै यसको ‘निर्वस्त्र सौन्दर्य’ हो भन्ने विचार गहिरो छ ।
प्रकृतिले हामीलाई आफ्नो वास्तविक रूप देखाउँछ – लाज नगरी, कुनै झर्कोफर्को केही नगरी शीतल हावाको स्पन्दनले मायालु लयको आभास गराउँदै । यो लय सँगसँगै चल्ने जीवनको समृद्धि, विभिन्न मौसममा फुल्ने फूलहरू, हर्षित चेहरा–चित्रहरू ।
हिमाल, पहाड र पर्वतका कुनाकन्दराका निर्मल झरना, नदी, वनजंगलका प्राकृतिक सौन्दर्य । यिनै चुली, फेदी, पाखाकन्दराका निश्चल मुस्कानसहितका निर्वस्त्र सौन्दर्यहरू ।
उज्यालो किरणमा प्रस्तुत बेग्लै रङहरूका मिलनमा आगन्तुकलाई देख्नुको सम्पूर्ण सौन्दर्य देखाउँछन् ।
प्रकृति एउटा अनमोल कविता हो । यसको प्रत्येक पंक्ति स्वाभाविक रूपले रचना हुन्छ । त्यसका गहिरा र ठूला पर्वत, समुद्रका लहरहरू र खुला आकाशको असीमित विस्तारमा एउटा अनकन्टार लय लुकेको हुन्छ ।
ती सबै जीवन र प्राकृतिक घटनाहरू एकापसमा घुलमिल भई तिनले प्रत्येक पलको मिठास र आकर्षण ल्याउँछन् ।
जसरी संगीतका विभिन्न सुरहरू एकै लयमा घुलेर सांगीतिक लयको मिठास भर्छन्, त्यस्तै प्राकृतिक लयले सम्पूर्ण जीवन–जगत्लाई एकताको संगीतमा परिणत गरिदिन्छ ।
प्राकृतिक सौन्दर्यको निर्वस्त्रता भनेको यसका सबै पक्षहरूलाई अविवेकपूर्णजस्तो देखिनु हो । कुनै प्रक्षिप्त रंगीन कला या कृत्रिम सौन्दर्यको आकर्षणले यसलाई ढाक्न सक्दैन । वासन्ती चाँदनी, आकाशको रङ, हरियालीका उत्सव, झरनाका आवाज र बादलका अनौठो आकार सबैको अनौठो दृश्य–संयोजनमा प्रकृतिको पृथक् लयबद्ध रूप दृष्टिगोचर हुन्छ । यस लयको साँचो रूपले हामीलाई प्रकृतिका अनेकन् रहस्यमय स्वरूप र संरचनाहरूको दर्शन दिन्छ ।
प्रकृतिको सौन्दर्यले हाम्रो मनलाई सान्त्वना, शान्ति र सुखको अनुभूति दिन्छ । हाम्रो शरीर र हृदयलाई एकाकार गरेर यो सौन्दर्यले हामीलाई जीवनको वास्तविक अर्थ सम्झाउँछ ।
यसले न शारीरिक अपितु मानसिक शान्ति र आध्यात्मिक उत्थान पनि प्रदान गर्छ । हामीलाई थाहा छैन कि त्यो साँच्चिकै किन हो । तर, यसले हामीलाई शुद्ध र सच्चा बनाउँछ ।
समष्टिमा प्राकृतिक लय नै यसको निर्वस्त्र सौन्दर्य हो । हामीलाई प्रकृतिका विशुद्ध रूपका साक्षात्कारमा निम्तो दिन्छ । हामी संसारका अनेकौँ सौन्दर्यलाई देख्छौँ ।
त्यस बेला हामी आफैँलाई छोडेर प्राकृतिको समर्पणमा विलीन हुन पाउँछौँ । यही वास्तविक सौन्दर्य हो । यसका लय र रचनामा कुनै छद्मभेष हुँदैन । प्राकृतिकपन र शुद्धता यसमा रहेको हुन्छ ।
प्रकृति आफैँमा अनुपम छ । यसलाई शब्दमा बयान गर्न सायदै कुनै लेखन सक्षम हँदैन । प्रकृतिको मूल स्वरूप नै यसका अनेक रूपहरूसँग सम्बद्ध छ । त्यहाँ सौन्दर्यको पूर्ण र विस्तारित अभिव्यक्तिको अनुभूति हुन्छ ।
प्रकृतिको यो निर्वस्त्र सौन्दर्यले मानव मनको हरेक कुनाकुनामा स्पर्श गर्छ । कुनै पनि कलाको क्यानभासभन्दा परिपूर्ण हुन्छ ।
पदयात्रामा निस्किँदा हामी हिमालको चुचुरामा उभिएर अथाह सेताम्मे हिमशिखरहरूको दृश्यावलोकन गर्छौं । हामीलाई लाग्छ, प्रकृतिले आफूलाई कसैका लागि रोकेको छैन । उसका प्रत्येक रूप, आकृति र आयाम खुलेर प्रस्तुत हुन्छन् ।
त्यहाँ कुनै कृत्रिमता छैन, कुनै आवरण हुँदैन । यस्तै, बिहानको सुनौलो घामले दूरदराजका हिमाल र पहाडलाई अँगालो हाल्दा, झरनाबाट झरेको जलले धर्तीलाई चुम्दा र बादलको छाया धर्तीमा लहरिँदा हामी यो निर्वस्त्र सौन्दर्यलाई महसुस गर्छौं । अनुपम सौन्दर्यको बिस्कुन त्यहाँ लागेको हुन्छ ।
निर्वस्त्र सौन्दर्य नंगोपन होइन, यो आत्मीयता, मौलिकता र प्राकृतिक स्वरूपको साक्षात्कार हो । प्रकृतिमा कुनै नाटकीयपन हुँदैन । देखावटी, कुनै बनावटीपन केही हुँदैन ।
फूलहरू आफ्नै ढंगले फुल्छन्, पातहरू आफ्नै तालमा झर्छन् । नदीहरू आफ्नो प्राकृतिक गतिमा बग्छन् । यो प्राकृतिक लय नै उसको निर्वस्त्र सौन्दर्य हो ।
हामी प्रकृतिसँग प्रत्यक्ष रूपमा जोडिन्छौँ, हाम्रो मन र मस्तिष्क पनि निर्मल हुन्छ । सहरका तामझाम, प्रदूषण र व्यस्तताका घेराबाट बाहिर निस्केर हरियालीबीच डुल्दा हामीलाई थाहा हुन्छ, जीवन कति सरल र कति सुन्दर छ ।
एकलास, एकान्त जंगलमा एउटा चराको गुञ्जन मनै छुने किसिमको लाग्छ । पत्थर फुटाएर उम्रिएका साना पोथ्रापोथ्रीमा फुलेको फूलको सौन्दर्य र बास्नाले आँतै हरहर हुन्छ । हावा सुसाउने धुन र चिसो स्पर्श यी सबै प्रकृतिको निर्वस्त्र सौन्दर्यका अभिन्न अंश हुन् ।
आज आधुनिक समाजले प्रगतिका नाममा प्रकृतिलाई लगातार चिथोर्दै छ । मानवले आफ्ना आकांक्षाहरू पूरा गर्न प्रकृतिको यो सौन्दर्यमा बाधा पुर्याइरहेको छ ।
तर, प्रकृतिले आफ्नो निर्वस्त्र सौन्दर्यलाई कहिल्यै हराउन दिँदैन । जहाँसम्म उसलाई पूर्ण रूपमा नष्ट गरिन्छ, उसको मौलिकता सधैँ बाँकी रहन सक्दैन ।
प्रकृतिको निर्वस्त्र सौन्दर्यले हामीलाई सरल जीवनको महत्त्व सिकाउँछ । यसले हामीलाई सम्झाउँछ कि सत्यता, मौलिकता र सरलता नै वास्तविक सौन्दर्यका आधारस्तम्भ हुन् ।
यसैले प्रकृतिको रक्षा गर्नु, उसको सौन्दर्यलाई कायम राख्नु र उसको सहअस्तित्वमा बाँच्न सिक्नु नै हाम्रो कर्तव्य हो ।
प्रकृतिको निर्वस्त्र सौन्दर्य एउटा वरदान नै हो । यसले हाम्रो जीवनमा सन्तुलन र समृद्धि ल्याउँछ । यसलाई नजिकबाट हेर्ने, बुझ्ने र अनुभूत गर्ने अवसर हामी सबैले लिनुपर्छ । आखिर यही सौन्दर्यमा जीवनको वास्तविक अर्थ लुकिरहेको हुन्छ ।
यस्तो प्रकृति, निष्ठाको प्रतीक, शीतलताको छाया । संसारका महानतम् अजस्र शक्तिहरूको साक्षी बनेर उभिएको यो अद्वितीय कृति । हामी हिमाललाई हेर्छौं, लाग्छ– यसको सौन्दर्य कुनै परिधिमा सीमित छैन । यो निर्वस्त्र छ, कुनै आवरण र कृत्रिम सजावटबिना – आफ्नो मौलिक र प्राकृतिक स्वरूपमा ।
बर्सातको पानीले पखाल्दैन । हिउँदको हिउँले केही गर्दैन । गर्मीको धूपले सुक्दैन । हेरेर नाथक्ने आँखाको हेराइले, क्यामेराको लेन्सले यी प्राकृतिक सौन्दर्यलाई केही प्रभाव पार्दैन ।
हिमालको उचाइ मात्र होइन, यसको मौनता पनि गर्विलो हुन्छ । त्यसको सुक्खा हावामा रहेको स्फटिक स्वच्छता, सेतो हिउँले ढाकिएका हिमाली लस्कर, गहिरो निलो आकाशमा बग्ने ती निर्दोष बादलहरू – यी सबै हिमाली सौन्दर्यका अनन्त आयाम हुन् ।
निर्वस्त्र सौन्दर्य प्रकृतिको यथार्थ हो, जुन कुनै कृत्रिमताबिना आफ्नो सम्पूर्ण अस्तित्वलाई व्यक्त गरिरहन्छ ।
सूर्यको किरण हिमालको चुचुरोमा पर्दा त्यहाँ समयानुसार रातो, सेतो र अरू अनेकौँ रङहरूको इन्द्रेणी मिलन बन्छ । यो पल एउटा आध्यात्मिक सन्देशजस्तै लाग्छ । जस्तो कि प्रकृतिले भनेको हो, ‘म कुनै बनावटमा विश्वास गर्दिनँ, तर मेरो सत्य नै मेरो सौन्दर्य हो ।’
वास्तवमा हिमालमा कुनै झुट छैन, कुनै कपट हुँदैन । यो शुद्ध छ, रहन्छ, रहिरहन्छ ।
हिमाली सौन्दर्यलाई नजिकबाट हेर्दा हामीले प्रकृतिको अपार धैर्यता र शान्तिलाई बुझ्न सक्छौँ । हिमालले मान्छेलाई सन्देश दिन्छ– आफ्नो जीवनलाई पनि यस्तो शान्त र निर्वस्त्र बनाऊ, जहाँ कुनै आवरणले ढाकिएको नहोस् । सत्यलाई ढाक्न पर्दैन, सत्य आफैँँले आफ्नो सुन्दरता बोल्छ ।
तर, हिमालको सौन्दर्य यसको शारीरिक स्वरूपमा मात्र सीमित छैन । यो मानवीय मनोविज्ञानलाई पनि गहिरो रूपमा प्रभावित गर्दछ । हिमाललाई हेर्दा लाग्छ, जीवनमा अवरोधहरू जति ठूलो भए पनि तिनीहरूलाई पार गर्न सकिन्छ ।
ठूलाठूला पहाडजस्तै चुनौतीहरूलाई नजिकबाट हेर्दा तिनीहरू पनि पार गर्न सकिने बाटोहरूमा परिणत हुन्छन् ।
निर्वस्त्र सौन्दर्य भनेको बाह्य स्वरूप होइन । यो आत्माको पनि सौन्दर्य हो । हिमालजस्तै सत्य र सरलतामा अडिग रहनु नै निर्वस्त्र सौन्दर्यको वास्तविक रूप हो ।
हिमाल हामीलाई सिकाउँछ– आफ्नो जीवनलाई हिमाली सौन्दर्यजस्तै बनाऊ, जहाँ कुनै बनावट नहोस्, कुनै झुट नहोस् । जहाँ सत्य नै सुन्दरता कायम रहिरहोस् ।
हिमाललाई एकपटक नजिकबाट हेर्नुहोस् । त्यसको मौनतामा सुन्नुहोस्, त्यसको निर्मलतामा हराउनुहोस् । त्यहाँ जीवनको सबैभन्दा सुन्दर निर्वस्त्र दर्शन मिल्छ ।