site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
नाइट बसको ड्राइभर भाइ

हेटौँडा आएपछि ड्राइभर चेन्ज भयो । ढोका खालेर ऊ सिटमा बस्यो । पेन्टको पछाडि गोजीबाट प्याकेट पट्ट्याएर राखेको रजनीगन्धा निकालेर एक फाँको मुखमा हाल्यो ।

मोबाइल झिकेर स्पीकरमा ब्लुटुथ कनेक्ट गर्‍यो र बजायो, ‘साइँलो म चार घरे, माया नमारे ।’ स्पीकरको भोल्युम ठूलो बनायो ।

अघि रातिको ड्राइभरलाई त धेरैचोटि भनेपछि मात्र गीत बजाएका थिए । गीत बजाउन पनि किन नमानेको भन्दै क्याबिनमा बसेका हामी सात-दशजना यात्रु रिसाउनै लागेपछि बल्ल गीत बजाएका थिए ।

यिनले रहरले घन्काएको गीत सुन्दा निन्द्रा आफैँ भागिरहेको थियो । सायद मान्छेले स्वभावानुसार गीतको जनरा रोज्दो रहेछ ।

०००

औसत उचाइको गठिलो शरीर । हलुका कालो–गहुँगोरो वर्णको उसमा युवापनको बेग्लै छाँट थियो । उसको पहिरन र छाँटकाट हेर्दा लाग्थ्यो, उसले रोजेको काम यही रहेछ, यही कामले उसलाई रोजेछ ।

ड्राइभर सिटमा सानसँग बसेको ऊ घरी ड्यासबोर्डको भुवादार म्याटमुनि केके राख्थ्यो, घरी स्टेरिङ घुमाएर अगाडि दायाँतर्फको पांग्राको अवस्था नियाल्थ्यो । घरी हर्न बजाएर लुकिङ ग्लासबाट दायाँबायाँ नजर लगाउँथ्यो ।

अब बस धरानसम्म पुर्‍याउन तम्तयार भएर लागेको उसले लुकिङ ग्लास मिलायो । मुखको रजनीगन्धाको रस पिचिक्क झ्यालबाहिर थुक्यो ।

“ल, यइँ २ बजिसको ! धरान पुग्दा ११ बजो भने केइ नभन्नू,” एक्सलेटर पाइडल दह्रो चापेर उसले दुवै पन्जाले स्टेरिङ रगड्यो ।

केस छोटो पारेर काटेको, जेल लगाएर कोरेजस्तो । देब्रे कानमा सानो टप लगाएको ।

नाइट बसमा धेरैचोटि झापा–काठमाडौं गरे पनि आजको यात्रा अलिक फरक थियो । सधैँ यात्रु भएर झ्यालबाट रात्रिकालीन वातावरण हेर्ने म आज भने अगाडिकै सिसाबाट फराकिलो सडक, ड्राइभरको गतिविधिसँग नजिक भइरहेको थिएँ ।

होलीले गर्दा झापा जाने बस सबैमा सिट प्याक थियो । कोठाको कामले गर्दा काउन्टरबाटै टिकट काट्न पनि समय नपुगेकाले कलंकीबाट सिधै चढ्ने अल्छी तरिकाले म क्याबिनमा बस्नुपरेको थियो ।

सिटमात्र होइन,क्याबिनमा पनि उस्तै भिड । जे होस्, यति भए घर पुगिन्छ । सधैँ आफ्नो सिटमा कोही अढेस लाग्न आए टिकट काटेको हुँकारसाथ गाली गर्ने म अहिले भने ‘जसरी भए’नि मिलेर जाऔँ न’ को याचनामा थिएँ ।

एकै गन्तव्य पनि मनको अनुकूल र प्रतिकूलताकोमहसुसले सजिलो र अप्ठ्यारो अनुभव गराइदिने रहेछ ।बसाइ अप्ठ्यारो भए पनि फरक अनुभवका कारण यात्रा रमाइलो थियो । हेटौँडा आइपुग्दा पनि शरीरमा थकानको गुञ्जायस थिएन ।

०००

छिनभरको हस्याङफस्याङपछि गाडी अगाडि बढ्यो । अघिको ड्राइभरभन्दा अलिक फरक तरिकाले गाडी चलाए पनि सिटमा बसेका यात्रुहरू उषाकालीन निन्द्रा र निमग्नतामा उस्तैगरी डुबिरहेका थिए ।

“भाइ कि दाइ हो, तपाईं कति साले ?,” सडकको आकार–अवस्थासँग ब्रेक, क्लज, एक्सिलेटर र स्टेरिङको लय–गति मिलाइरहेको ऊ मेरो प्रश्नले थोरै बिथोलियो ।

“म पचपन्न साले हो,” मनमा संकोचको कति पनि लेप नलगाई उसले फ्याट्टै जवाफ दिइहाल्यो ।

“ओहो, मेरो भाइ हुनुँ’दो र’छ,” मैले संवादमा सरलता थप्ने प्रयास गरेँ ।

नाम श्रवण श्रेष्ठ । घर धराननजिकै कतै । कहिले धरान, कहिले हेटौँडाको बसाइ ।

सोह्र वर्षको उमेरमा धरानकै प्रेमिकासँग भागी बिहे भएको । सानैदेखि ड्राइभर बन्ने रहर पालेको उसले नाइट बसको लाइसेन्स निकालेको तीन वर्ष भएको रहेछ ।

“मसँगै खलासी गर्नेहरू अझै खलासी नै गर्दै छन्,” गाडी चलाइरहेकै अवस्थामा रजनीगन्धाको प्याकेट खोलेर तुलसी मिसाउँदै ऊ औँलाले होइन, दुवै हातका पाखुराले स्टेरिङ ब्यालेन्स गरिरहेको थियो, “भित्रैदेखि साँच्चै चाहने हो भने रहर पूरा हुन केही समय लाग्दैन ।”

यसो भनिरहँदा लक्ष्यप्राप्तिको आनन्दले उसको मुहार चम्किलो बनेको मैले स्पष्टसँग देखेँ ।

‘लक्ष्यमा पुग्न’, ‘सपना पूरा गर्न’, ‘सफलता हात पार्न’ – संसारमा कति धेरै विद्वान्हरूले कति अनुसन्धान गरेको यो विषयमा उसको बुझाइ कति सरल !

उसको र मेरो उमेरको फरक धेरै नभएकाले उसले बजाउने पचासको दशकका नेपाली चलचित्रका गीत मलाई पनि मन परिरहेका थिए ।गीतको झंकार र बसको रफ्तारले हाम्रो यात्राको दूरी घटाइरहेको थियो ।

०००

ठाउँठाउँमा बसेका ट्राफिक प्रहरीहरूलाई ऊतल्लोस्तरका शब्दहरूले सम्बोधन गर्थ्यो ।

“होली भनेर बाटो छेक्छ सालेहरू !,” तन्मयका साथ स्टेरिङ घुमाउँदै ऊ रिस पोख्छ, “कतिको घर व्यवहार धान्दिनुँ मैले !”

यसो भन्दै ड्यासबोर्डको म्याटमुनिबाट शिखर आइसको एक खिल्ली ओठमा च्यापेर उसले लाइटर सल्कायो ।

“कतिजनाको धान्दिनुभएको छ भाइ ?,” पुलुक्क ऊतिर हेर्दै मुसुक्क हाँसे ।

“हा हा हा । छैन दाइ, गर्लफ्रेन्ड भन्नुभा’होला, छैन,” धुवाँको एक मुस्लो झ्यालतिर फुक्दै विषयलाई स्पष्ट पारेझैँ उसले भन्यो, “जे भने’नि मेरो बुढी मात्रै ।”

ऊ हल्का मुस्कुराउँदै लजाएको भावमा देखेपछि मलाई पनि बोल्न सजिलो भइरहेको थियो ।

“छन् होला नि यति हेन्सम मान्छेको !” मैले जिस्काउन खोजे पनि ऊ जिस्किन चाहेन। तर, अनुहारमा भने मन्द मुस्कुराहटको उज्यालो छल्किरहेको देखिन्थ्यो ।

ट्राफिक प्रहरीसँग खासगरी उसको धेरै गुनासो रहेछ । “कहिले त गल्ती नै नभई एक घण्टा होल्ड गरिदिन्छ दाइ ! के गर्नु, अधिकार भएका मान्छेले भनेपछि मान्नैपरो,” ऊ रिसाएको भावमा बोलिरहेको थियो ।

एसियन हाइवे निर्माणसँगै पूर्व–पश्चिम राजमार्ग विस्तारको कामले कतैकतै सडक पूरै बिग्रेकोले गर्दा अनि स्पीकरबाट आएको गीतको आवाजले उसले बोलेको सबै कुरा मैले राम्रोसँग सुन्न पाएको थिइनँ ।

०००

“म अनपढ गँवार मान्छे हो दाइ,” यसो भनिरहँदा पनि उसको अनुहारमा उस्तै चमक देखिन्थ्यो, “त्यही भएर म बेलैमा ड्राइभर भएको । यति भएपछि बुढेसकालसम्म ढुक्क !”

नपढ्नु वा पढ्न नपाउनु उसका लागि कुनै ठूलो विषय थिएन । तर पनि भविष्यप्रतिको उसको चेतना कति गहिरो ! यस्तै कुराले मलाई गम्भीर बनाउन ऊ पर्याप्त थियो ।

“साठी वर्षसम्म नाइट बस हाँक्न पाइहालिन्छ,त्यसपछि स्कुल बस चलाउने हो । त्यो पनि नपाए लोकल बस,” भविष्यप्रति ऊ निःसंकोच र स्पष्ट देखिन्थ्यो ।

“अब खाडी देश गएर’नि के गर्नु दाइ, चारपाँच वर्षमा फर्केर आइहाल्नुपर्छ । बरु, नेपालमै काम गर्‍यो, धेरथोर पैसा कमाइहाल्छु । बुढी पनि सँगै हुन्छे,” उसले नेपालमै काम गर्न पाएकोमा खुसी प्रकट गर्‍यो ।

हरेक नेपाली युवामाझैँ उसले पनि कुरा गराइमा विदेशको झिल्को ल्याइहाल्यो । नेपालमा जहाँ गफ गरे पनि विदेश र फोहोरी राजनीति आइहाल्छ । तर, मलाई यी दुवै विषयमा गफ गर्न मन थिएन ।

देशमा केही काम छैन । विदेश जानु नै सुन्दर भविष्यका लागि एकमात्र विकल्प हो भन्ने अनपढ वा धेरै पढेका आमनेपालीको साझा धारणामाथि उसले सिधा चुनौती दिइरहेको थियो ।

संवादमा राजनीति नमिसाएकाले पनि होला, मलाई ऊसँग गफ गर्न मजा लागिरहेको थियो ।

कामप्रति निष्ठा, लगाव, प्रेम, समर्पण जगाउन सके नोपलमै पनि नहुने केही होइन रहेछ भन्ने सन्देश उसले दिइरहेको थियो ।

बिहानीपखको अन्तिमतिर मलाई निन्द्राले बेस्सरी सतायो । क्याबिनकै एक कुनातिर म लढेँ । 

०००

आँखामा घाम परेपछि मेरो निन्द्रा खुल्यो । बस इटहरी बसपार्कमा रोकिएको रहेछ ।

“ल, छिटो झर्नु दाइ, इटहरी आइपुग्यो,” उसले भन्यो ।

म प्यासेजमा राखेको ब्याग बोकेर बाहिर निस्किएँ । ड्राइभर सिट भएको साइडतिर लागेर श्रवणको मोबाइल नम्बर मागेँ ।

यत्तिकैमा पछाडिबाट ट्राफिकले सिटी बजायो । मलाई नम्बर नदिई श्रवणले बस अगाडि बढायो । ऊसँग धेरै कुरा सोध्न बाँकी नै थियो । परिवार, प्रेम, जिम्मेवारी, भविष्य, यात्रा, सडक...।

मलाई छोडेर बस अघि बढ्यो, अझै अघि बढ्यो र सानो हुँदै कतै छेकियो । म बिर्तामोड जाने अर्को बसको खोजीमा लागेँ ।
 

प्रकाशित मिति: शनिबार, चैत ९, २०८१  ०९:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro