
काठमाडौं । साहित्य क्षेत्रमा क्रियाशील संस्था ‘एपेक नेपाल’ले यस वर्षदेखि प्रदान गर्ने गरी स्थापना गरेको ‘विश्व–ज्योति काव्यसमान’ पहिलोपटक कवि उषा शेरचनलाई प्रदान गर्ने निर्णय गरेको छ । त्यस्तै, एपेकले ‘विश्व–ज्योति पाण्डुलिपि पुरस्कार’ कवि हेमन्त शिशिरलाई प्रदान गर्ने निर्णय गरेको छ ।
२०१२ सालमा पोखरामा जन्मिएकी कवि उषा शेरचनका कविता, मुक्तक र आख्यानका ६ वटा कृति र पाँच गीति एल्बम प्रकाशित भइसकेका छन् । कवि शेरचन समकालीन नेपाली काव्य–साहित्यमा युगचेतना, नारी समवेदना र प्रकृति प्रेमले ओतप्रोत काव्य सर्जकका रूपमा चिनिने एपेकद्वारा प्रेषित विज्ञप्तिमा उल्लेख छ ।
४० वर्ष ननाघेका र कुनै पनि कृति प्रकाशनमा नआएका युवालाई काव्य–क्षेत्रमा प्रोत्साहित गर्ने उद्देश्यले एपेकले विश्व ज्योति पाण्डुलिपि पुरस्कारको स्थापना गरेको हो ।
यस पुरस्कारका लागि पाण्डुलिपि आह्वान गर्दा प्राप्त ४६ वटा पाण्डुलिपिमध्ये निर्णायक मण्डलले कवि शिशिरको कविताको पाण्डुलिपिलाई यो पुरस्कार प्रदान गर्ने निर्णय गरिएको एपेकले जनाएको छ ।
शिशिरको पुरस्कृत पाण्डुलिपि ‘बन्द घरको झ्याल’ कवितासंग्रहका रूपमा यही चैत्र २५ पर्यटन बोर्डमा आयोजना गरिने एपेक नेपालको वार्षिकोत्सवका अवसरमा लोकार्पण गरिने एपेकले जनाएको छ ।
‘विश्व–ज्योति काव्यसमान’का साथ नगद राशि ५१ हजार रुपैयाँ पनि प्रदान गरिने पनि एपेक नेपालले जनाएको छ ।