
टेगुसिगाल्पा । होन्डुरसको क्यारेबियन टापु रोआटानबाट उड्ने क्रममा सोमबार एउटा सानो विमान समुद्रमा दुर्घटना हुँदा कम्तीमा सातजनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
दमकल विभागका मेजर विल्मर गुरेरोले दुर्घटनास्थलबाट १० जनालाई निकालिएको र तीमध्ये ६ जनालाई अस्पतालमा मृत घोषित गरिएको बताए ।
त्यसपछि समुद्रमा विमानको भग्नावशेषनजिकै चालक दलका एक सदस्यको शव तैरिरहेको फेला परेको थियो । उक्त विमान समुद्र किनारबाट करिब एक किलोमिटर टाढा दुर्घटना भएको थियो ।
अधिकारीहरूले विमानमा सवार व्यक्तिका संख्याका बारेमा १७ वा १८ रहेको परस्पर विरोधी रिपोर्ट दिएका छन् ।
गुरेरोले यात्रुमध्ये एक ४० वर्षीय फ्रान्सेली नागरिकलाई मूल भूमिमा रहेको सान पेड्रो सुला सहरको अस्पतालमा स्थानान्तरण गरिने बताए ।
लान्सा एयरलाइन्सको विमानले बे आइल्यान्ड्सको एक रोआटानबाट साँझमा उडान भरेको थियो । र, मूल भूमिमा रहेको ला सेइबा बन्दरगाहतर्फ जाँदै थियो । रोआटान होन्डुरसको मुख्य पर्यटकीय गन्तव्यमध्ये एक हो ।
“विमान झन्डै हामीमाथि खस्यो । म माछा मार्दै थिएँ,” एचसीएच टेलिभिजनलाई एक माझीले बताए ।
होन्डुरसका राष्ट्रपति सिओमारा क्यास्ट्रोले दुर्घटनाका पीडितलाई सहयोग गर्न सशस्त्र बल, दमकल समावेश भएको आपत्कालीन समिति ‘तुरुन्तै सक्रिय’ गरिएको बताए ।
ब्रिटिस निर्मित जेटस्ट्रीम ४१ मा ‘स्पष्ट यान्त्रिक खराबी’का कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । रासस/एएफपी