
काठमाडौं । बलिउड निर्देशक तथा कलाकार अनुराग कश्यपले दीपक रौनियार कुशल फिल्ममेकर भएको बताएका छन् । भिडियो सन्देशमार्फत उनले ‘सेतो सूर्य’ रिलिजको समयदेखि दीपकसँग आफ्नो फिल्मी कुराकानी हुन थालेको भन्दै उनले दीपक उम्दा नेपाली फिल्म मेकर भएको बताएका छन् ।
दीपक रौनियार र मीनबहादुर भाम आफूलाई मनपर्ने नेपाली निर्देशक भएको पनि उनले दोहोर्याएका छन् । ‘राजागंज’ आफूले हेरेको भन्दै उनले राम्रो थ्रिलर र सोसल ड्रामा भएको बताएका छन् ।
“यो नेपालको चलचित्र हो । यसमा नेपाली नागरिकको दैनिक जिन्दगी देखिन्छ,” उनले भनेका छन्, “यसमा नेपाल देखिन्छ । नेपालमा के छ भन्ने देखिन्छ ।”
‘राजागंज’ नेपाली चलचित्र मात्रै नभएको भन्दै अनुरागले आफूले भारतमा बसेर पनि रिलेट गरेको बताएका छन् । साउथ इस्ट एसियाएका जनताले नै रिलेट गर्नसक्ने अनुरागले बताएका छन् ।
सर्वश्रेष्ठ सिनेमा बनेको भन्दै उनले ‘राजागंज’ हलमा गएर हेर्न पनि आग्रह गरेका छन् । नेपाली चलचित्र धेरै माथि जानसक्छ र जानु पनि पर्ने उनले बताएका छन् । यही चलचित्रबाट नेपाली चलचित्र निकै माथि जानुपर्ने भन्दै उनले सिनेमा हेरेर सपोर्ट गर्न पनि दर्शकसँग आग्रह गरेका छन् ।
उनले भने, “दीपक म तिम्रो ठूलो फ्यान हुँ । तिमी फिल्म बनाइरहनु, यस्तै फिल्म बनाइरहनु ।”
दीपकसँग उनको चलचित्र ‘राजागंज’मा सहकार्य गर्न पाएकोमा आफू गौरवान्दित भएको पनि बताएका छन् । उनले नेपाली फिल्म फेस्टिभल निफमा पनि जान चाहेको बताएका छन् ।
‘राजागंज’मा अनुराग कार्यकारी निर्माता हुन् । चैत १ गतेबाट रिलिज भएको यो चलचित्रलाई दीपक रौनियारले निर्देशन गरेका छन् ।
चलचित्रमा आशा मगराती, दयाहाङ राई, विजय बराल, निकिता चाण्डकलगायत मुख्य भूमिकामा छन् ।