
काठमाडौं । नेपालीलाई ‘स्टुडेन्ट’ र ‘वर्किङ’ भिसामा बेलायत पठाउने प्रलोभन देखाउँदै एउटा गिरोहले ठगी धन्दा चलाएको खुलेको छ । कन्सल्टेन्सीको आवरणमा गिरोहले ठूलो संख्यामा नेपाली युवाहरुसँग करोडौं रुपैयाँ ठगी गरेको पाइएको हो ।
यो ठगी धन्दाको नेतृत्व हेटौंडाको मकवानपुर उपमहानगरपालिका–८ बस्ने ३६ वर्षीया जानुका ढुंगानाले गरेको भनाइ पीडितहरुको छ । पीडितहरुले नेपाल प्रहरी र वैदेशिक रोजगार विभागमा दिएको उजुरीमा गिरोहको नाइके ढुंगाना भएको उल्लेख गरेका छन् ।
ढुंगाना चितवनको भरतपुर महानगरपालिका–१० स्थित बेस्ट ब्रेन्स एजुकेशन एन्ड भिजा सर्भिसेस नामक कन्सल्टेन्सीकी सञ्चालक हुन् । त्यही कन्सल्टेन्सी मार्फत ‘स्टुडेन्ट’ र ‘वर्किङ’ भिसामा बेलायत पठाउने नाममा उनले ठगी गरेको पीडितहरुको भनाइ छ ।
“वर्किङ भिसामा बेलायत पठाइदिन्छु भन्ने प्रलोभनमा पारेपछि मैले डेढ वर्षको अवधिमा पटक पटक गरी ४३ लाख ६० हजार रुपैयाँ मैले जानुका ढुंगानालाई बुझाएँ,” चितवनको भरतपुर महानगरपालिका–१६ की शर्मिला सुनारले बाह्रखरीसँग भनिन्, “बेलायत जान त पाइएन नै, आफ्नो पैसा समेत फिर्ता पाइएको छैन ।”
सुनारले ढुंगानासँग आफ्नो पैसा फिर्ता माग्न थालेको ६ महिना बितेको छ । सुरूमा ढुंगानाले छ साताभित्र पैसा फिर्ता गर्ने प्रतिवद्धता जनाएकी थिइन् । तर छ महिना बित्दा पनि उनले आफ्ना वाचा पूरा गरेकी छैनन् ।
“भिसाका लागि आवेदन दिँदा आवश्यक पर्ने वर्क परमिटलगायतका कागजात नक्कली रहेछ । नक्कली कागजात पेश गरेको भन्दै नयाँदिल्लीस्थित बेलायती दूतावासले १० वर्षका लागि हाम्रो पासपोर्टलाई प्रतिबन्ध लगाएको छ,” उनले सुनाइन् ।
सुनारले पहिलो पटक सन् २०२३ मार्च १० मा ढुंगानालाई केही रकम बुझाएकी थिइन् । त्यसपछि उनले पटक–पटक गरी ४३ लाख ६० हजार रुपैयाँ बुझाएको बताइन् । फरक–फरक बैंक अकाउन्टमा पैसा राख्न उनलाई भनिएको थियो र उनले त्यसै गरेकी थिइन् ।
उनीसँगै अन्य पाँच जनाले पनि वर्किङ भिसामा बेलायत जान ढुंगानाले भनेको बैंक अकाउन्टमा पैसा जम्मा गरेका थिए ।
“ढुंगानाले प्रतिव्यक्ति ४० देखि ५० लाख रुपैयाँसम्म उठाएकी छन्,” सुनारले भनिन्, “आफू ठगिएको थाहा पाएपछि सोधपुछ गर्दा अन्य २० जना जति पनि ठगिएको थाहा पाएँ ।”
पीडितहरुले आफूहरुले ढुंगानालाई बुझाएको रकमको सम्पूण विवरण वैदेशिक रोजगार विभाग र नेपाल प्रहरीलाई बुझाएका छन् । ठगिएकाहरुले आफूसँग पैसा माग्न थालेपछि ढुंगाना देश छोडी बेलायतमै बस्दै आएकी छन् ।
सुनारका अनुसार, ढुंगानाले उनलाई ‘केयर गिभर्स’मा जागिर लगाइदिने र मासिक चारलाख रूपैयाँ तलब हुने प्रलोभन देखाएकी थिइन् ।
सुर्खेत वीरेन्द्रनगरकी संगम शाही पनि ‘वर्किङ’ भिसामा बेलायत जाने प्रलोभनमा परी ढुंगानालाई ३२ लाख रुपैयाँ बुझाएको बताउँछिन् ।
“वर्किङ भिसामा बेलायत जान पाइन्छ भनी मैले ढुंगानालाई ३२ लाख बुझाएको थिएँ । न बेलायत जान पाइयो न पैसा नै फिर्ता पाइयो,” शाहीले बाह्रखरीसँग भनिन्, “पैसा माग्दा उल्टो धम्क्याउँछिन् । उनको काका अर्जुन ढुंगानाले पनि हामीलाई धम्क्याउने गरेका छन् ।”
पीडितहरुले मकवानपुर हेटौंडा उपमहानगरपालिका–८ का अर्जुन ढुंगाना पनि यस ठगीधन्दा जानुका ढुंगानासँग मिलेको आरोप लगाउँदै उनीविरुद्ध पनि उजुरी दिएका छन् ।
“म जस्तै पीडितहरु २५/२६ जना भएका छौं । एक जनासँग ३५ देखि ५५ लाख रुपैयाँसम्म उठाएको बुझिएको छ,” शाहीले भनिन् ।
पीडितहरुले वैदेशिक रोजगार विभाग र नेपाल प्रहरीमा उनीहरुविरुद्ध उजुरी दिएका छन् ।
जानुका ढुंगानालगायत विरुद्ध वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी ठगी गरेको भनी विभागका २०८१ मंसिर १० गते जोहरी दर्ता (मुद्दा न.१३८३) भएको थियो ।
वैदेशिक रोजगार न्यायाधीकरणले २०८१ मंसिर २८ गते प्रतिवादीहरू पक्राउ गर्न अनुमति दिएको थियो ।
त्यसपछि विभागले वर्ष २६ की जानुका ढुंगानालगायतलाई पक्राउ गरी उपस्थित गराइदिन भन्दै टेकुस्थित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, चितवन जिल्ला प्रहरी कार्यालय र मकवानपुर जिल्ला प्रहरी कार्यालयलाई पत्र पठाएको थियो ।
टेकुस्थित उपत्यका अपराध अनुसन्धान कार्यालयमा परेको एक जाहेरीमा यस ठगीधन्दा जानुका ढुंगानालगायत ३३ संलग्न रहेको उल्लेख गर्दै उनीहरुमाथि कारबाहीको माग गरिएको छ ।
जाहेरीमा ठगीधन्दामा जानुका ढुंगाना, अर्जुन ढुंगाना, भारतीय नागरिक हरविन्दर सिंह, गोविन्दराज पोन्डा, अतिक मल्लिक, बालकृष्ण कार्की, सरिता गौतम, दिलिपकुमार शाह, सुसिला सुवेदी, रुपा राना, विष्णुबहादुर राना, रामबहादुर धमला, किरण कँडेल, लालबहादुर बराइली, जितबहादुर खत्री, प्रकाश पाण्डे, कुमार चन्द, महेशचन्द्र बाँनिया, निर्मल तिमल्सिना, मुना भट्ट, सुरेशचन्द्र गौतम, पवित्रा स्याङतान, भोजराज कँडेल, ममता भट्ट, बालकृष्ण सापकोटा, तुलबहादुर खत्री, रविनसान श्रेष्ठ, आयुश कार्की, विक्रम बस्नेत, सविना घोरासैनी, धनबहादुर घर्तीमगर र सुजना राई संलग्न रहेको उल्लेख छ ।
प्रहरीमा परेको एक उजुरीमा जानुका ढुंगानाले विभिन्न व्यक्तिहरुबाट तीन करोड ११ लाख रुपैयाँभन्दा बढी रकम ठगी गरेको उल्लेख छ ।
पीडितहरुले बेलायत प्रहरीमा पनि जानुका ढुंगानालगायत विरुद्ध उजुरी दिएका छन् । उक्त उजुरीमा चितवनका १९६ र पोखराका ३९० गरी ५८६ जना ठगिएको उल्लेख गरिएको छ । उजुरीमा ६० करोड रुपैयाँभन्दा बढी ठगी गरिएको जनाइएको छ ।
प्रमुख आरोपी जानुका ढुंगानाले सामाजिक सञ्जालमार्फत आफूले ठगी नगरेको र आफूलाई फसाइएको बताउँदै आएकी छन् ।
उनले ठगीमा संलग्न रहेको केही व्यक्तिको नाम समेत लिएकी छन् । मन्दिप केसी, विन्दु पोखरेल, न्याय अधिकारी, राजेन्द्र सापकोटा, रविन कार्की, सम्पूर्ण केसीलगायतका व्यक्तिले आफूलाई फसाउन लागेको उनले बताएकी छन् ।
यस विषयमा जानुका ढुंगानासँग बुझ्न खोज्दा उनीसँग सम्पर्क हुन सकेन । ‘स्टुडेन्ट’ र ‘वर्किङ’ भिसामा बेलायत पठाउने नाममा भएको ठूलो ठगीका विषयमा बुझ्दा टेकुस्थित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उजुरी थुप्रै परेको र अनुसन्धान भइरहेको बतायो ।
“उजुरीहरु आएका छन् । अनुसन्धान गर्दैछौं,” टेकुस्थित उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले बाह्रखरीसँग भने ।