site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
इलाममा चिनियाँ प्रतिनिधिमण्डलको चिया अवलोकन भ्रमण

इलाम  । नेपालस्थित चिनियाँ राजदूतावासका आर्थिक सल्लाहकारसहित उच्च पदस्थ प्रतिनिधिहरूले आज इलामको भ्रमण गरेका छन्। 

टी एलायन्स अफ नेपाल र इलाम नगरपालिकाको समन्वयमा सम्पन्न यस विशेष भ्रमणमा अतिथिहरूले इलामको ऐतिहासिक चिया बगान तथा चिया उद्योगको अवलोकन गरे। 

इलाम नगरपालिकाका प्रमुख केदार थापाले प्रमुख अतिथिहरूलाई स्वागत गर्दै नेपाल-चीन सम्बन्धमा चियाले खेलेको महत्त्वपूर्ण भूमिकाबारे प्रकाश पारे।

नगर प्रमुख थापाले स्वागत मन्तव्यमा भने, "नेपाल र चीनबीचको सम्बन्ध सांस्कृतिक, व्यापारिक तथा ऐतिहासिक रूपमा गहिरो छ। विशेष गरी चियाले दुवै देशका जनतालाई आपसमा अझ नजिक ल्याएको छ।" 
उनले १५० वर्षअघि नेपालमा चिया खेतीको सुरुवात चिनियाँ चिया बीउबाट भएको उल्लेख गर्दै, चियाले नेपालको अन्तर्राष्ट्रिय पहिचान निर्माणमा महत्त्वपूर्ण योगदान दिएको बताए।

टी एलायन्स अफ नेपालले चीन सरकारका विशिष्ट पाहुनाहरूलाई स्वागत गर्दै चिया प्रवर्द्धनका लागि सहकार्यलाई बलियो बनाउने प्रतिबद्धता जनाएको थियो। 

tean-1742129830.JPG
 

संस्थाका प्रतिनिधिहरूले सन् २०२४ डिसेम्बरमा चीन सरकारको वाणिज्य मन्त्रालय तथा झाङझोउ कलेज अफ साइन्स एन्ड टेक्नोलोजीले आयोजना गरेको विशेष चिया तालिमको प्रभावबारे जानकारी गराए। 

सो तालिमले नेपाली चिया व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउने अवसर प्रदान गरेको बताइएको थियो । साथै, टी एलायन्स अफ नेपालले चिया परीक्षण (टी टेस्टीङ) कार्यक्रमको आयोजना गर्दै अतिथिहरूलाई नेपाली चियाका विविध स्वादहरूको अनुभव गरायो।

इलाम उद्योग वाणिज्य संघका अध्यक्षले टी एलायन्स अफ नेपाललाई शुभकामना व्यक्त गर्दै यस्ता भ्रमणहरूले नेपालको चिया उद्योगलाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्न योगदान पुर्याउने विश्वास व्यक्त गरे। चिनियाँ राजदूतावासका प्रतिनिधिहरूले नेपाल-चीन सम्बन्धलाई अझ प्रगाढ बनाउँदै नेपालको चिया उद्योगको प्रवर्द्धनमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए।

यस भ्रमणबाट नेपाल-चीन सहकार्य थप सशक्त हुने अपेक्षा गरिएको छ। इलामको ऐतिहासिक चिया बगान तथा चिया उद्योग अवलोकनसँगै, दुवै देशले कृषि तथा व्यापारिक साझेदारीलाई विस्तार गर्ने नयाँ अवसरहरू खोज्ने प्रतिबद्धता जनाएका छन्।

प्रकाशित मिति: आइतबार, चैत ३, २०८१  १८:४२
प्रतिक्रिया दिनुहोस्