काठमाडौं । समाजवादी विश्लेषक मीना पौडेल लिखित ‘साहस (महिला बेचबिखन, बहिष्कार र प्रतिकार)’ सार्वजनिक भएको छ । किताब पब्लिशर्सले प्रकाशन गरेको यस पुस्तकमा मानव बेचबिखनको जटिल अनुभव बटुलेका युवा महिलाहरूको अनुभूतिलाई लैङ्गिक, सामाजिक–सांस्कृतिक, कानुनी र आर्थिक हिंसाका पाटामार्फत उजागर गरिएको छ ।
राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा थुप्रै अनुसन्धानमूलक लेख–रचना प्रकाशित गरिसकेकी पौडेलको नेपाली भाषामा यो पहिलो पुस्तक हो । पौडेलको विद्यावारिधि अनुसन्धानबाट विकसित भएर सन् २०११ मा अङ्ग्रेजीमा छापिएको यो पुस्तक फ्रेन्च, जर्मन, इटालियन, पोलिस र पोर्चुगिज भाषामा समेत प्रकाशित भइसकेको छ ।
"यस पुस्तकले नेपालमा मानव बेचबिखन र यसका आयामहरूप्रतिको परम्परागत धारणालाई प्रश्न गर्दै समयसापेक्ष परिभाषा र आम बुझाइको खाँचो औंल्याउँछ," पौडेल भन्छिन्, "मानव बेचबिखन यौनसँग मात्र सम्बन्धित छैन; यो कुनै व्यक्तिविरुद्धको यस्तो सामाजिक अपराध हो, जुन लैङ्गिकता, यौनिकता, आप्रवासन, आर्थिक विपन्नता, सामाजिक–सांस्कृतिक अवहेलना, श्रमको विभेद, संरचनागत शक्ति असन्तुलनले सृजना गरेको हिंसा र राज्यको अर्घेल्याइँ लगायतका अनेकौं पक्षसँग जेलिएको छ ।"
यस पुस्तकमा महिला बेचबिखन जस्तो जटिल विषयमा अनुसन्धान गर्ने उपयुक्त विधि पनि सुझाइएको छ, जसले बेचबिखनबाट प्रभावित व्यक्तिहरूलाई केन्द्रमा राखेर समाजशास्त्रीय–महिलावादी बहसको प्राज्ञिक पैरवी गर्छ ।
साढे तीन दशकदेखि राष्ट्रिय–अन्तर्राष्ट्रिय तहमा प्राज्ञिक अनुसन्धान, नीतिगत पैरवीका साथै जनपक्षीय विकास कार्यक्रमहरूमार्फत सीमान्तकृत समुदायका पक्षमा क्रियाशील मीना पौडेल समाजवादी विश्लेषक हुन् ।