site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
अनि उदायो ‘चिकित्साका चौध तारा’

१४ पुस, २०८१ को दिन । गोविन्द श्रेष्ठ दाइले आफ्नै चेम्बरमा ‘चिकित्साका चौध तारा’को पहिलो प्रति मलाई दिनुभयो । मैले ‘सही गरिदिनुस् न दाइ’ भनेँ । उहाँले सही गर्नुभयो । मिति लेख्नुभयो । मेरो हातमा दिनुभयो । लिएर किताबलाई ढोगेँ । म फुरुंग भएँ ! 

०००

कतै कुनै अन्तरकुन्तरमा थिएन डाक्टरहरूको व्यक्तिवृत्तमाथिको पुस्तक अर्थात् ‘चिकित्साका चौध तारा’ ।

मामा (प्रा. डा. अञ्जनीकुमार शर्मा)ले लेख्नुभएको स्वास्थ्यसम्बन्धी आलेख डिक्टेसन गर्ने काम थालेपछि स्वास्थ्य क्षेत्रका विषयमा थोरै जानकारी भने मिलेको हो ।

सम्भवतः २०४३/४४ सालतिर मामाको एउटा किताबको काम सुरु भयो, ‘स्वास्थ्य चेतन’ शीर्षकमा । त्यो किताबमा मेरो सहयोगात्मक भूमिका रह्यो । त्यसभित्रै मामासँग संयुक्त आलेख लेखियो, ‘रोगी, चिकित्सा र चिकित्सक’ शीर्षकमा ।

त्यो किताब छाप्ने प्रेस थियो कालीमाटीमा । म भ्याएसम्म हरेक साँझ प्रेसमा पुग्थेँ र जिम्माका केही काम गर्थें । त्यति बेला अक्षर कम्पोज गरिन्थ्यो र प्रुफ हेर्न ग्याली प्रिन्ट निकालिन्थ्यो ।

मामाको यो पुस्तकपछि धूमपान लिन्छ ज्यान, लागुपदार्थविरुद्धको चित्रकथा, क्यान्सर चेतनजस्ता पुस्तकमा उहाँलाई सहयोग गरेँ । तर, भोलिका दिनमा आफ्नै नाममा ‘चिकित्साका चौध तारा’ प्रकाशित हुन्छ, सोचिएको पनि थिएन ।

मामाको निधनपछि मामालाई सहयोग गर्ने त्यो काम पनि बन्द भयो ।

२०६५ सालपछि मामाको लेखहरूमा काम गर्दैगर्दा उहाँलाई आत्मकथा लेखनका लागि अनुरोध गरिरहन्थेँ । उहाँ नाइँ भनिरहनुहुन्थ्यो ।

यसरी मामाको जीवनकालमा आत्मकथा लेख्ने कुरा मात्रै चल्यो, काम सुरु भएन । प्रायः हरेक भेटमा आत्मकथाको कुरा चल्थ्यो । उहाँ सधैँ नकार्नु हुन्थ्यो ।

‘जीवनी नै पढ्नु छ भने महात्मा गान्धीको पढ्नू, मैले पनि पढेको छु, गान्धीको जीवनी ।’ उहाँको जवाफ सधैँ यही हुन्थ्यो । त्यसैले मामाको जीवनी लेखनको प्रसंग यत्तिकै सेलाएर गयो ।

२०७१ साल असोजमा मामाको निधन भयो । एक वर्षपछि बर्खान्तका दिन फेरि मामाले गर्नुभएका कामका विषयमा कुरा चल्यो । नेपालकै पहिलो शल्यचिकित्सक, क्यान्सर रोगको उपचारमा विशेष दखल, लायन्स क्लबका पहिलो डिस्ट्रिक्ट गभर्नर, क्यान्सर रिलिफ सोसाइटीका संस्थापकमध्येका एक, मेडिकल शिक्षाका अभियन्ता – यस्ता अनेक काम गर्नुभएका मामाको जीवनमा केन्द्रित किताब लेखिनुपर्छ भन्ने कुरा चल्नु अस्वाभाविक थिएन ।

त्यसै दिन अनीता दिदी (मामाकी छोरी प्रा. डा. अनीता ढुङ्गेल)ले किताब लेख्ने कुरा गर्नुभयो । र, मैले दिदीलाई सहयोग गर्ने भएँ । यसरी दिदीको किताब ‘नकोरिएका सन्दर्भहरू’को श्रीगणेश भयो ।

थालिएको यस किताब लेखनका लागि मामासँग काम गरेका कतिपय डाक्टरहरूसँग कुराकानी गर्नुपर्थ्यो । त्यसैक्रममा सबैभन्दा पहिले मेरो कुराकानी भयो, मामाका सहकर्मी प्रा. डा. दिनेशनाथ गोङ्गलसँग ।

उहाँसँग कुरा गर्दा २०२०/२२ सालतिरको काम गर्ने शैली, साधन र क्षणबारे केही रोचक प्रसंग सुनाउनुभयो । त्यस दिन मामासँगको सहकार्यबाहेक डा. गोङ्गलले गर्नुभएको कामका विषयमा पनि लामै कुराकानी गरेँ । करिब एक÷सवा घण्टा मैले उहाँसँग बिताएको थिएँ ।

म बाह्रखरी डटकममा आबद्ध भइसकेको थिएँ । त्यसै अवधिमा केही अग्रज व्यक्तित्व विश्वबन्धु थापा, नवराज सुवेदी, रेखबहादुर भट्टराई, चेतन कार्कीहरूसँग कुराकानी गरेर व्यक्तिवृत्त प्रकाशित भइसकेको थियो ।

त्यही लहरमा छापियो, प्रा. डा. गोङ्गलसँगको कुराकानीमा आधारित व्यक्तिवृत्त ।

त्यसको केही समयपछि एउटा स्तम्भ नै सुरु गरियो, ‘पुराना कुरा’ – जसमा उमेरले ७० वर्ष काटिसकेका अग्रज व्यक्तित्वसँग कुराकानी गरेर तिनका जीवनगाथा प्रस्तुत गरिन्थ्यो ।

२०७५ साल असारको पहिलो बिहीबार ‘पुराना कुरा’को पहिलो शृंखला प्रकाशित भयो । र, कोभिडको बन्दाबन्दी हुनुअघिसम्म करिब ७८ जनाका ‘पुराना कुरा’ प्रकाशित भयो ।

यो ७८ जनाभित्र १३ अग्रज र चर्चित डाक्टरहरूका पुराना कुरा प्रकाशित भएको थियो । त्यसबाहेक साहित्यकार, राजनीतिज्ञ, प्रशासक, वरिष्ठ अधिवक्ता, प्राध्यापक, शिक्षकलगायत व्यक्तिका जीवनवृत्त प्रकाशित थिए ।

अनीता दिदीको किताबमा काम गर्दाको सन्दर्भमा खोज्न सजिलो हुन्छ भनेर १४ जना चिकित्सकको पुराना कुरालाई एउटै फाइलमा राखेँ । एक प्रति प्रिन्ट पनि गरेँ । त्यसभित्र थियो, डा. गोङ्गलसँगै डा. कृष्णजंग राणा, डा. गौरीशंकर लाल दास, डा. मणिन्द्ररञ्जन बराल, डा. मृगेन्द्रराज पाण्डे, डा. यन्तमणि प्रधान, डा. रामप्रसाद पोखरेल, डा. लोकविक्रम थापा, डा. विश्वराज दली, डा. शंकरप्रसाद उप्रेती, डा. सरस्वती पाध्ये, डा. सुदीपकुमार भट्टाचार्य, डा. सुन्दरमणि दीक्षित र डा. हेमाङ्ग दीक्षितका पुराना कुरा । यसरी हामी दिदीभाइ मामाको जीवनचरितलाई शब्दमा उतार्नतिर लाग्यौँ ।

त्यसैबीच वैश्विक रूपमा फैलिएको कोभिडकालमा मामामाथिको किताबको काम हुन सकेन । कोरोनाकै कहरले ‘पुराना कुरा’को लेखन पनि बन्द भयो । किनभने, पाकाहरूसँग कुराकानी गर्ने अवस्था नै रहेन ।

पछि दिदीको किताबको काम सम्पन्न गर्दै जाँदा पाँचसातपटक नै पढियो होला, १४ डाक्टरका ‘पुराना कुरा’ र तिनका संघर्षगाथा । त्यसभित्रका कतिपय प्रसंग, सन्दर्भ सामग्रीका रूपमा किताबमा राखिए ।

दिदीको किताबमा काम गर्दागर्दै १४ जना अग्रज डाक्टरका संघर्षगाथा र रोचक प्रसंगहरूले भने मलाई घचघच्याइरह्यो । हठात् मनले अह्रायो– यसलाई किताबको स्वरूप दे राजेश !

मनले अह्राए पनि केही गर्न सक्ने अवस्था थिएन ।

तथापि, लागिरह्यो– यसलाई किताबको रूपमा ल्याउनु नै पर्छ । थोरैको संख्यामा भए पनि यी डाक्टरहरूले एमबीबीएस पढ्दा, ५०/६० वर्षअघि अस्पतालमा काम गर्दाको समयले धेरै कुरा बताउँथ्यो ।

त्यसबखत बिरामीको उपचार गर्दा कति गाह्रो थियो र कस्ताकस्ता कठिनाइका बीच तिनले काम गर्दै गए, यी सबै गाथा आमपाठकका लागि पनि रोचक हुनसक्छ भन्ने लागिरह्यो ।

किताबका विषयमा सोच्न त सोचियो, तर प्रकाशनमा ल्याउनु सजिलो काम थिएन । एक किसिमले फलामको चिउरा चपाउनुसरह थियो । कारण, कोभिडले पुस्तकको व्यापार, व्यवसायलाई पनि धमिलो बनाउँदै गएको थियो ।

एक दिन यी १४ जना चिकित्सकको नाम एउटा कागजमा लेखेँ र खल्तीमा हालेर हिँडे । आफूसँग परिचित केही प्रकाशकका कानमा ती नामहरू भट्ट्याएँ । किताबमा लेखिएका केही प्रसंग पनि सुनाएँ ।

अपितु, जवाफ सकारात्मक आएन । म ती नामहरू लेखिएको कागज पट्ट्याएर आफ्नै खल्तीमा फेरि राख्थेँ, सलीम जावेदले फिल्मको स्क्रिप्ट सुनाएर निर्माताले फर्काएपछि झोलामा राखेजस्तै !

एक दिन रत्न पुस्तक भण्डारमा गोविन्द दाइसँग उहाँकै कोठामा कफी खाएर गफ गरिरहेको थिएँ । मलाई अग्रज डाक्टरका नामहरू गोविन्द दाइलाई सुनाउन मन लाग्यो ।

मैले खल्तीमा कागजहरूको चेपमा अल्झिएको नामको पर्ची निकालेँ । पर्ची खल्तीको खल्ती नै च्यातिइसकेको थियो । लेखिएको डाक्टरहरूको नाम पढेर सुनाएँ ।

दाइले भन्नुभयो, ‘के हो यो ?’

मैले बाह्रखरीको ‘पुराना कुरा’भित्र परेका यी अग्रज डाक्टरहरूको जीवनवृत्तबारे जानकारी गराएँ ।

‘पुराना कुरा’का पाठक गोविन्द दाइ पनि हुनुहुन्थ्यो । उहाँले कतिपय डाक्टरहरूको पुराना कुरा पढ्नुभएको थियो ।

र, त्यसै दिन गोविन्द दाइले भन्नुभयो, ‘राजेशजी, डाक्टरहरूको जीवनवृत्त समेटिएको यो किताब रत्न पुस्तकबाट निकाल्छु ।’

गोविन्द दाइले यति भनिरहँदा म आकाशमा तैरिँदै गरेको अनुभव गर्दै थिएँ । अर्थात्, मेरा खुट्टा भुइँमा थिएनन् ।

अनीता दिदी र म मामाको जीवनचरितलाई पुस्तकाकार रूपमा ल्याउनतिर लाग्यौँ । केही समयपछि मामाको जीवनका विभिन्न घटनाक्रम समेटिएको पुस्तक ‘नकोरिएका सन्दर्भहरू’ बजारमा आयो । 

त्यसपछि मात्रै डाक्टरहरूको जीवनगाथा समेटिएको यो किताबको सम्पादन गर्न थालेँ । त्यसैबखत यसभित्र नेपालका पहिलो शल्यचिकित्सक प्रा. डा. अञ्जनीकुमार शर्मा र त्यस बेलाका दन्तचिकित्सक डा. बुद्धिमान श्रेष्ठको अविच्युरी (स्मृति) पनि राख्नुपर्छ भन्ने लाग्यो ।

यस विषयमा गोविन्द दाइसँग सल्लाह गर्दै चिकित्सा क्षेत्रका अर्का दुई ताराका स्मृति अंशलाई पुस्तकभित्र समावेश गरियो । र, त्यसउप्रान्त पाण्डुलिपिमाथि काम थाल्नुभयो, माधवजी (नेपाल)ले ।

केहीअघिदेखि नै किताबको शीर्षक के राख्ने ? यो सवाल मनमा उठिरहेको थियो । नाम जुराउन सकिरहेकै थिइनँ । नामलाई लिएर केही साथीहरूसँग सरसल्लाह नभएको होइन । तर, पाठकले रुचाउने खालको शीर्षक आइरहेको थिएन ।

एक दिन अशेष मल्ल दाइसँग भेट हुँदा यस विषयमा कुरा गरेँ । उहाँले ‘अस्पतालका खम्बा’ राख्न सुझाउनुभयो । ठिक लाग्यो । तर, यो शीर्षक टुंगोमा पुग्न सकेन ।

उप्रान्त अरू पनि केही शीर्षकहरू सोचियो । अनि, जसरी सोचियो त्यसरी नै ती शीर्षकहरू हराएर गए । शीर्षक केके मात्रै सोचिएन, सादा कागजमा अनेक शीर्षक कोरेँ, दस्तखत अभ्यास गरेभन्दा बढी ।

किताबको काम पेज डिजाइनमा पुगिसकेको थियो । कभर बनाइनु थियो । अब भने ढिलो गर्नु हुन्थेन, शीर्षक टुंग्याउन । तर, शीर्षक फुरे पो !

यहाँ ‘घुरको धुवाँ’को सानो प्रसंग जोड्नु सान्दर्भिक ठान्दछु । बाह्रखरीमा मधेसकेन्द्रित संस्मरण लेखिरहँदा गोविन्द अधिकारी दाइले सुझाउनुभएको थियो, ‘मधेसका स्मृति लेख्दा स्थानीय लबजको प्रयोग गर्नुस् न, त्यसले बेग्लै मिठास दिन्छ ।’

र, ‘घुरको धुवाँ’ जन्मको कारण त्यही स्थानीय लबज बन्यो । यसपटक फेरि गोविन्द दाइ गाँसिनुभयो यो किताबसँग ।

किताबको शीर्षकलाई लिएर ममा रनहा छुटेको थियो । अस्पतालका खम्बा, स्टेथेस्कोप, डाक्टरका गाथा – यस्ता अनेक शीर्षक रोजे पनि चित्त बुझ्न सकिरहेको थिएन ।

एक दिन काम विशेषले गोविन्द अधिकारी दाइसँग फोनमा कुरा गर्दै थिएँ । त्यसै बेला मैले शीर्षकको अभावले आफू छट्पटिएको सुनाएँ । केही क्षण गोविन्द दाइको तिरबाट आवाज आएन । अनि, आवाज सुनियो– चिकित्साका चौध तारा राख्दा कस्तो होला !

यता गोविन्द अधिकारी दाइले शीर्षक सुझाउनुभयो । लगत्तै गोविन्द श्रेष्ठ दाइलाई फोन गरेर सुनाएँ । शीर्षक उहाँले मन पराउनुभयो । अनि, एक सातापछि दाइले भेटमा भन्नुभयो, ‘किताबको कभर राम्रो बनेको छ...।’

०००

पुस्तक बजारमा आइसकेपछि चौधजना मात्रै किन ? भन्ने सवाल उठ्यो । सवाल अस्वाभाविक थिएन ।

वास्तवमा यो संख्या १४/१६ मात्रै नभएर २८ वा ४२ पनि हुन सक्थ्यो । अग्रजहरूसँग कुराकानी गर्ने सूचीमा डा. सानुमैया दली, डा. दिव्यश्वरी मल्ल, डा. प्रमिला प्रधान, डा. रोशना अमात्य, डा. जुनु थापा, डा. डीबी कार्की, डा. दीर्घसिह बम, डा. रामरतन उपाध्याय, डा. सीएल भट्टचन, डा. मदन उपाध्याय, डा. रामवरण यादवलगायत अरू पनि धेरैधेरै नाम थियो ।

तर, कोरोना कहरले धेरै कुरा रोकियो । अनि, रोकियो ‘पुराना कुरा’ पनि । नभए अहिले १४ भन्दा बढी डाक्टरहरूको जीवनवृत्त किताबमा समेटिन्थ्यो होला !

जे होस्, यी १४ र दुई गरेर १६ जना अग्रज चिकित्सकका जीवनका आयामहरू कतै विलुप्त नहुने गरी यस किताबभित्र अटेको छ ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शनिबार, चैत २, २०८१  ०७:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro