
काठमाडौं । निर्माणाधीन १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजनाको जलाशय क्षेत्रअन्तर्गत भीमाद नगरपालिका–५ स्थित वानटाङ खोलामा पक्की पुल निर्माण गर्न ठेक्का सम्झौता भएको छ ।
भीमाद–ऋषिङ सडकअन्तर्गत आयोजनाको जलाशयका कारण डुबानमा पर्ने वानटाङ खोलामा करिब १३० मिटर लामो पक्की पुल निर्माणका लागि सबैभन्दा कम बोलकबोल गर्ने निर्माण व्यवसायीसँग बुधबार ठेक्का सम्झौता भएको छ । निर्माण व्यवसायीले नै पुलको डिजाइन र निर्माण गर्ने (डिजाइन एन्ड बिल्ड) गरी सपना निर्माण सेवा प्रा.लि.सँग २३ करोड सात लाख रुपैयाँ (मूल्य अभिवृद्धि करसहित)मा ठेक्का सम्झौता भएको हो ।
आयोजनाको प्रवर्धक तनहुँ हाइड्रोपावर लि.का तर्फबाट प्रबन्ध–सञ्चालक किरणकुमार श्रेष्ठ र सपना निर्माण सेवाका तर्फबाट प्रबन्ध–सञ्चालक हरिप्रसाद ढकालले ठेक्का सम्झौतामा हस्ताक्षर गरेका छन् । ३० महिनाभित्र पुल निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको हो ।
आयोजनाको विकास साझेदार एसियाली विकास बैंकको खरिद निर्देशिका बमोजिम पुल निर्माणका लागि निर्माण व्यवसायी छनोट गर्न १४ असार २०८१ मा टेन्डर आह्वान गरिएको थियो । पाँच निर्माण व्यवसायीबाट प्रस्ताव पेस भएको थियो । प्राविधिक बोलपत्रहरूको मूल्यांकनमा पाँचवटै कम्पनी सारभूत रूपमा प्रभावग्राही भएका थिए । त्यसपछि आर्थिक बोलपत्र खोलिएको थियो । आर्थिक बोलपत्रहरूको मूल्यांकनपश्चात न्यूनतम मूल्यांकित सारभूत रूपमा प्रभावग्राही सपना निर्माण सेवाको बोलपत्र स्वीकृत गरी ठेक्का सम्झौता गरिएको हो ।
वानटाङ सेती नदीको सहायक खोला हो । आयोजनाले व्यास नगरपालिका–५ र ऋषिङ गाउँपालिका–१ को सीमानामा निर्माण गर्ने १४० मिटर अग्लो बाँधका कारण बन्ने जलाशयका कारण माथिल्लो तटीय क्षेत्रमा पर्ने वानटाङ खोला पनि डुबानमा पर्नेछ । अधिकतम तह समुद्र सतहबाट ४१५ मिटरसम्म बन्ने जलाशयका कारण त्यस भेगका बासिन्दाको आवतजावतमा अवरोध हुने भएपछि आवागमनलाई सहज बनाउन पक्की पुल निर्माण गर्न लागिएको कम्पनीका प्रबन्ध–सञ्चालक श्रेष्ठले बताए ।
भीमाद बजारबाट ऋषिङपाटनसम्मको सडक कालोपत्रे भइसकेको छ । बीचमा पुल नहुँदा मुख्य रूपमा वर्षायाममा त्यस भेगको आवागमन प्रभावित हुँदै आएको छ । आयोजनाले हाल वर्षायाममा वानटाङ खोला हुँदै गरिने आवतजावतलाई सहज बनाउन अस्थायी कल्भर्ट निर्माण गरिदिएको छ । यसबाट त्यस भेगका बासिन्दा लाभान्वित भएका छन् ।
आयोजनाको सामाजिक विकास कार्यक्रमअन्तर्गत हालसम्म व्यास तथा भीमाद नगरपालिका र ऋषिङ, म्याग्दे तथा बन्दीपुर गाउँपालिका आयोजना प्रभावित वडाहरूमा ६८ योजना सम्पन्न भएका छन् । ६ वटा योजना सञ्चालित छन् । जीविकोपार्जन पुनर्स्थापना योजनाअन्तर्गत आयोजना प्रभावितहरूको आयआर्जन वृद्धिका मौरीपालन, बाख्रापालन, वित्तीय साक्षरता, व्यावसायिक तरकारी खेती, इलेक्ट्रिसियन लगायतका विभिन्न तालिमहरू सञ्चालन गर्दै आएको छ ।