
काठमाडौं । च्याम्पियन्स लिगको कीर्तिमानी इतिहासमा मंगलबार राति १७ वर्षीय युवा फरवार्डको नाम लेखियो । लामिन यमल, स्पेनका यी युवा फरवार्डले बेन्फिकासँगको खेलमा एक गोल र एक असिस्ट गरे । योसँगै बार्सिलोनाका यमल च्याम्पियन्स लिगको एक खेलमा गोल र असिस्ट गर्ने सबैभन्दा युवा फुटबलर बने ।
यस सिजन उनले क्लबका निम्ति २८ गोलमा सहयोग गरेका छन् । देश र क्लब जोड्ने हो भने उनको यो तथ्यांक ६० गोल सहयोगमा पुग्छ । र, स्मरण रहोस् उनी १७ वर्ष मात्रै पुग्दैछन् ।
व्यावसायिक होस् या देशका निम्ति यमलको प्रदर्शन सधैँ आत्मविश्वासी बन्दै आएको छ । बेन्फिकाविरुद्धको गोल र असिस्ट यसैका बुलन्द उदाहरण हो । च्याम्पियन्स लिग अन्तिम–१६ को दोस्रो लेगमा यमलले राफिन्हाका निम्ति सुन्दर असिस्ट गरे । १८ यार्ड बक्समा विपक्षी रक्षापंक्तिबाट निकालेको उक्त फ्लिक पासलाई राफिन्हाले भली प्रहार गर्दै जाली चुमाए ।
त्यसपछि पहिलो हाफमै यमलको नाम गोलकर्ताको सूचीमा थपियो । यो गोल असिस्टभन्दा पनि अझ सुन्दर रह्यो । बक्सबाहिरबाट गरेका उनको ‘सेकेन्ड बार’ प्रहारले जाली चुम्दाको दृश्य दर्शनीय थियो ।
“उनको गोल दर्शनीय थियो,” सहकर्मी राफिन्हाले भने, “यसले यमल कस्तो खेलाडी हो भन्ने देखाउँछ । उनी जब्बर क्षमता भएका दर्शनीय खेलाडी हुन् ।”
मंगलबार बार्सिलोनाले दोस्रो लेगमा बेन्फिकालाई ३–१ ले हरायो । योसँगै बार्सिलोना समग्रमा ४–१ को जितसहित प्रतियोगिताको अन्तिम–८ मा प्रवेश गरेको हो । स्पेनको यो टोलीले अब सेमिफाइनल प्रवेशका निम्ति बोरुसिया डर्टमन्ड र लिलबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
“यमलले लामो समयदेखि गोल गरेका थिएनन् । ६ खेल र एक महिनायता । यो हाम्रो लागि निकै महत्त्वपूर्ण गोल थियो, उनी खुसी छन् । हामी सबै उसको लागि खुसी छौँ । उ एक सानदार खेलाडी हो,” प्रशिक्षक हेन्सी फ्लिकले खेलपछि यमलको तारिफमा यसरी शब्द खर्चिए ।
'एक असाधारण बच्चा'
अन्तिम–१६ को दोस्रो लेगअघि इंग्ल्यान्डका पूर्वमिडफिल्डर ओवेन हग्र्रेवेसले यमलको तुलना युवा वाइन रुनीसँग गरे । वाइन रुनी, जसले एभर्टनबाट आफ्नो डेब्यु १६ वर्षमै गरेका थिए ।
एभर्टनबाट म्यानचेस्टर युनाइटेड पुगेका रुनी उक्त इंग्लिस क्लबको सर्वाधिक गोलकर्ता समेत बने । यही लय उनले इंग्ल्यान्डको राष्ट्रिय टिममा पनि कायम राखे । हाल ह्यारी केनले उछिन्नुअघि रुनी इंग्लिस टिमको पनि सर्वाधिक गोलकर्ता थिए ।
“मैले हालसम्म यति एकनासको प्रदर्शन गर्ने १७ वर्षीय खेलाडी देखेको छैन । यसअघि वाइन रुनीलाई देख्दा उनी यो संसार बाहिरको खेलाडीजस्तो लाग्थ्यो,” हर्गे्रवेसले भने, “तर, यो बच्चा साँच्चै अविश्वासनीय छ । उसले गोल गर्छ, गोलको अवसर सिर्जना गर्छ र यी कुरा निक्कै सहज भएको देखाउँछ । मैले अहिलेसम्म देखेको सबैभन्दा उत्कृष्ट १७ वर्षीय खेलाडी ।”
यमलले गत सिजन बार्सिलोनाबाट ५० खेल खेलेका थिए । यस सिजन हालसम्म यो संख्या ३६ पुगिसकेको छ । यसले उनी अहिले नै क्लबको अभिन्न खेलाडी बनिसकेका देखाउँछ ।
तर, लिभरपुल तथा इंग्ल्यान्डका पूर्वविंगर स्टिभ म्याकमानामानले भने टिमका निम्ति यति धेरै महत्त्वपूर्ण बन्दा युवा उमेरमै उनको करियर धरापमा पर्न सक्ने चेतावनी दिन्छन् ।
“यो कुरामा निकै सजक हुनुपर्छ । किनकी हामीले यसअघि पेड्रीले पनि धेरै खेल खेलेको देखिसक्यौँ । अन्सु फाती र गाभीमा पनि उनीहरुले १८ देखि २० वर्षको उमेरमै गहिरो चोट बनेको देखिसकेका छौँ,” क्याममानामानले थपे ।
“मलाई लाग्छ उनी सही स्थानमा छन् । किनभने बार्सिलोनाले आफ्नै एकेडेमीको उत्पादनलाई प्रयोग गर्ने गर्दछ । मेरो मुख्य चिन्ता भने चोटप्रति हो । कुनै वर्ष मैले उनी खराव इन्जुरीबाट गुज्रिरहेका छन् भन्ने बताउनु नपरोस् भन्ने आशा छ । यस्ता कुरा बार्सिलोनामा हामीले यसअघि नै देखिसकेका छौँ । यस्तो भए उनी फुटबलले गुमाउने सबैभन्दा राम्रो खेलाडी बन्नेछन् ।