site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
ज्ञानेन्द्र शाहको अन्तिम दाउ

पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं आउने साधारण घटनालाई फागुन २५ गते निकै अतिरञ्जित रूपमा मञ्चन गरियो । काठमाडौंको विमानस्थलदेखि उनको निवाससम्म शाहको समर्थनमा हजारौं व्यक्ति सडकमा ओर्लिए । विसं २०६५ जेठ १५ गते नारायणहिटी राजदरबारबाट निर्मल निवास र नागार्जुन सरेका ज्ञानेन्द्र शाहलाई फेरि दरबारमा फर्केर श्रीपेच पहिरी राजदण्ड हल्लाउने सोख लागेजस्तो छ जस्लाई उनले समर्थकहरूमार्फत निकै मलजल गरेका छन् । 

'हिजोका राजालाई, भोलिको राजा' हुने सोख पलाउनका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय वातावरणले पनि साथ दिएको छ । विगत १६ वर्ष राजनीतिबाट टाढा रहेका ज्ञानेन्द्र शाह यसपल्ट सशक्त ढंगले राजनीतिको पोखरीमा हेलिएका छन् । सतहत्तर वर्षीय वृद्ध पूर्वराजाका लागि यसपल्टको खेल अन्तिम दाउ हुनसक्छ । 

वि.सं. २०५८ साल जेठ १९ गते उनका दाजु राजा वीरेन्द्र शाहको वंशनाश भएका कारण टुप्लुक्क सिंहासनमा पुगेका ज्ञानेन्द्र शाहलाई 'देखिने र सुनिने' राजाको रूपमा स्थापित हुने हतार र हुटहुटीले २०६० माघ १९ गते आफैँलाई नयाँ 'महेन्द्र'का अवतारमा उभ्याए । त्यस बखत संवैधानिक राजाकै रूपमा नैतिकताको आधारस्तम्भ बनेर राजनीतिक दलहरूलाई अनुशासित गर्ने अभिभावकको भूमिकामा रहन सकेको भए नेपालको इतिहास अर्कै हुन्थ्यो । 

अहिले संवैधानिक राजाको रूपमा आफ्नो उमेदवारी पेस गर्दै गर्दा कुन बाटो फर्कन सकिन्छ भन्नेसमेत हेक्का भएको देखिएन । किनभने उनकै गलत कदमका कारण फर्कने ढोका कुनै बाँकी रहेका छैनन् । राजतन्त्रलाई कुनै रूपमा पनि विश्वास गर्न सकिँदैन भन्ने मनन गरेरै जनताले गणतन्त्र स्थापित गरिसकेका छन् । 

गणतन्त्रमा राजतन्त्रका लागि संघर्ष गर्नु भनेको अस्तित्वनै दाउमा राख्ने खेल हो । नवराजावादीहरूलाई भने शाह परिवार राजाको रूपमा रहेमात्र उपयोगी हुन्छ । त्यसैले अब सहजै पछि हट्न दिनेछैनन् । अर्थात्, ज्ञानेन्द्र शाहका लागि अब लड्नु वा नलड्नु दुवैतर्फ उत्तिकै ठूलो जोखिम छ । 

यति सबै हुँदाहुँदै पनि ज्ञानेन्द्र शाहको समर्थनमा सडकमा आएको भिडलाई उदारवादी राजनीतिक सोच राख्ने समूहले नकारात्मक रूपमा लिनुपर्ने आवश्यकता छैन । लोकतन्त्रको सुन्दरतम पक्ष भनेकै लोकतन्त्रकै समेत विरोधमा संगठन गर्न पाउनु वा यस व्यवस्थालाई सडकमै उत्रेर विरोध गर्न पाउनु हो । जनताले चाहन्छन् भने ज्ञानेन्द्र शाह निर्वाचनमा भिडेर अघि आउन पनि स्वतन्त्र छन् ।

अझ, अर्थतन्त्र धराशायी भएर जनताले उपभोग गर्ने सरसामानको बिक्रीमा कमी आएको समयमा राजा र राजावादी समूहले सयौं वर्ष देश लुटेर संचित गरेको पैसा केही मात्रामा भए पनि जनताको हातहातमा पुग्छ । देशभरबाट राजावादी काठमाडौं आएर होटल, लजमा बस्ने, रेस्टुराँमा खाने, बस ट्याक्सी चढ्ने आदिमा खर्च गर्दा अर्थतन्त्रमा सकारात्मक असर पर्छ । 

सिक्काको अर्को पाटो हेर्दा, नेपालमा बारम्बार जनताले लोकतान्त्रिक शक्तिहरूलाई सत्तामा पुर्‍याउँदा पनि राजनीतिक दलका नेताहरू जनताप्रति जिम्मेवार भएर काम गर्न नसकेको तथ्य कसैबाट लुकेको छैन । राज्यको कुनै पनि निकायमा राजनीतिक दलको सदस्यता नभएको व्यक्तिले प्रवेश पाउने अवस्था रहेन । राज्यले प्रदान गर्ने सेवा र सुविधासमेत राजनीतिक दलका नेता तथा कार्यकर्ताले सहजीकरण नगरेको अवस्थामा जनताले उपभोग गर्न पाउने अवस्था छैन । 

राजनीतिक दलहरू जनमुखी नभएर कार्यकर्तामुखी भएका छन् । यस्तो अवस्थामा कसैले पनि राजनीतिक नेतृत्वको विरोधमा झन्डा उचाले राज्यको काम कारबाहीबाट निराश जनताले त्यस्तो समूहलाई साथ दिन पुग्छन् । स्थानीय निर्वाचनमा बालेन,  हर्कजस्ता स्वतन्त्र उमेदवारले मत पाउनुको कारण पनि त्यही हो । संसदीय निर्वाचनमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले सोच्दै नसोचेको २० सांसद विजयी बनाउन सक्नुको कारण पनि त्यही हो । 

त्यसैले पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो जीवनको उत्तरार्धमा राजनीतिक शक्ति पुनःप्राप्तिका लागि जुन संघर्ष अघि बढाएका छन् त्यसले उनलाई के फाइदा हुन्छ त्यो समयले बताउनेछ तर त्यसले राजनीतिमा एक ऊर्जा थपेको छ र राजनीतिक दललाई नैतिकरूपमा थप जिम्मेवार हुन सकारात्मक दबाब दिएको छ । राजनीतिक दलका नेताहरूले राजावादीको प्रतिवादमा समय खेर फाल्नुको साटो आत्मसमीक्षा गरी शासन शैली र आफ्नो व्यवहार सच्याउन ध्यान दिनु उचित हुनेछ ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१  १३:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro