
काठमाडौं । भारतीय क्रिकेट टिमले आईसीसी प्रतियोगितामा पछिल्लो २४ खेल खेल्दा २३ खेलमा जित निकालेको छ । उत्कृष्ट लय कायम रहँदा भारतले तीन प्रतियोगिताको फाइनलमा प्रतिस्पर्धा गर्यो । जसमध्ये एउटा फाइनलमा निराश बने पनि भारतले बाँकी दुई फाइनलको उपाधि उचालेको छ । भारतको यस लयको कप्तानीमा छन्, अनुभवी ओपनर ब्याटर रोहित शर्मा ।
आइतबारमात्रै दुबईमा सम्पन्न भएको फाइनलमा भारतले पाँच खेल खेल्दा शतप्रतिशत जितको लयलाई कायम राख्यो । फाइनलमा न्युजिल्यान्डलाई चार विकेटले हराउँदै तेस्रोपटक च्याम्पियन्स ट्रफीको उपाधि जित्दा भारतबाट नायक बने, तिनै रोहित शर्मा ।
त्यसअघि गत वर्ष सम्पन्न आईसीसी ट्वान्टी–२० विश्वकपमा पनि यही लय कायम राखेको थियो । त्यसको अघिल्लो वर्ष घरमै आयोजित एकदिवसीय विश्वकपमा पनि भारतले अपराजित रहँदै फाइनलसम्मको यात्रा तय गरेको थियो । जहाँ उपाधि भिडन्तमा भने विश्वकै ठूलो क्रिकेट रंगशालामा भारतीय टिम अस्ट्रेलियासँग निराश बनेको थियो ।
“इमान्दार भएर भन्नुपर्दा यो निकै ठूलो कोसेढुंगा हो,” कप्तान रोहितले आफ्नो टिमले निकालेको २३ जितप्रति यसरी सन्तुष्टि पोखे, “यसले हाम्रो टिम कस्तो हो भन्ने देखाउँछ । मलाई थाहा छ, हामीले एकदिवसीय विश्वकपको फाइनलमा हार बेहोर्यौँ । तर, त्यसपछि हामीले एक खेल पनि नहारी ट्वान्टी–२० विश्वकपको उपाधि जित्यौँ । अहिले हामीले यहाँ पनि त्यसरी नै उपाधि जितेका छौँ ।”
भारतको यो तथ्यांकलाई अझ साँघुरो बनाएर हेर्ने हो भने रोहितको टिमले सन् २०२४ देखि आईसीसी प्रतियोगिताका १३ मध्ये १३ वटै खेलमा जित निकालेको छ ।
यसअघि, भारतले महेन्द्रसिंह धोनीको कप्तानीमा सन् २००७ को ट्वान्टी–२० विश्वकप, सन् २०११ को एकदिवसीय विश्वकप र सन् २०१३ को च्याम्पियन्स ट्रफीको उपाधि जितेको थियो । तर, यी तीन प्रतियोगितामध्ये भारत च्याम्पियन्स ट्रफीमा मात्रै अपराजित च्याम्पियन बनेको थियो ।
“आईसीसीका दुई प्रतियोगिताको उपाधि जित्नु टिमको ठूलो उपलब्धि हो । अपराजित रहनु अझ ठूलो उपलब्धि हो । मैले अपराजित रहँदै उपाधि जित्ने टिम निक्कै कम देखेको छु । अब त्यहाँ भविष्यको कुनै योजना छैन । जे हुन्छ, त्यो हुँदै जान्छ,” कप्तान रोहितले थपे ।