site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
डायरी 

कहिले दर्दका घोचाइमा जिन्दगी दुख्यो । कहिले आफ्नै सोचाइमा जिन्दगी डुब्यो । कहिले भञ्ज्याङ र झाडीमा । कहिले जंगल र टारीमा । कहिले पसिनाको खोला बग्ने खाडीमा । कहिले यार्सा खोज्न पुपाल घारीमा । यत्रतत्र । सर्वत्र । कहिले आफ्नै किनारा बिर्सेर बगियो । कहिले आफ्नै निसाना बिर्सेर हिँडियो ।

कहाँ होला समस्याको निदानशाला ? कहाँ होला दर्दहरूको बधशाला ? सारा दर्दहरूलाई च्वाट्ट काट्न मन लाग्छ । समस्याहरूलाई रहरका भुंग्रोमा भुट्न मन लाग्छ ।

कहिले म कथामा कविता लेखिरहन्छु । कहिले म कवितामा कथा लेखिरहन्छु । पढून् नपढून् पाठकको जिम्मा भयो । म लेखनदास हुँ, आफ्नो कहानी लेखिरहन्छु ।

कहिले जिन्दगी नेप्सेझैँ छिनमै ओरालो लाग्छ । कहिले जिन्दगी रिसको पारोझैँ उकालो चढ्छ । कहिले म सौखिन राजा मिदास होइजान्छु । कहिले नीरोझैँ आफ्नै बाँसुरीको धुनमा उदास भइजान्छु ।

यसरी नै मेरो कहानी सुरु हुन्छ । यसरी नै कहानीको अन्त्य हुन्छ । मेरो जीवन कहानीको न आदि हुन्छ न अन्त्य हुन्छ । सायद एक मुठी सास रहुन्जेल जिन्दगी यसरी नै चलिरहन्छ । 

०००

वर्षौंअघि म आफ्नो गाउँबाट आफ्नै इच्छाले भागेको थिएँ । वर्षौं बेपत्ता रहेँ । खासमा कहिल्यै गाउँ फर्किने मेसो पनि खोजिनँ । सायद मेरो आफ्नै बाध्यता र विवशताले पनि हो । परन्तु, यसपालि मलाई आफ्ना आमाबा र भाइ भेट्ने एक अलौकिक उत्साह भित्रैदेखि जागृत भएर आयो । मनको यस अलौकिक उत्साहलाई रोक्न सकिनँ मैले ।

मेरो यात्राको मिति पनि तय भयो । म गाउँ हिँडेँ ।

आकाशबाट सूर्यदेवले धर्ती फाट्ने गरी र प्राणीहरूको इहलीला समाप्त हुने गरी शक्तिशाली तापमानको मिसाइल प्रहार गर्दै थियो । गर्मीले हायलकायल भएका मनुवाहरूको कंकाल सडकभरि अनियन्त्रित थियो ।

अनियन्त्रित मानिसहरूको भीडबाट उछिट्टिएर म पनि निर्दयी गर्मीबाट बच्न एउटा फलफूल पसलमा बिनाइजाजत पसेँ । आफ्नै मनोमानी ढंगले कुर्सी तानेर घ्याच्च बसेँ । गर्मी र थकाइले हायलकायल भएको शरीर पानीको कमीले गर्दा उद्विग्न थियो । घाँटी खुबै तिर्खाएको थियो ।

बिनाइजाजत छिरेपछि साहुनीले केरकार गरी । जवाफमा मैले भनेँ– बनाना लस्सी ल्याइदिनू ।

ठिक छ ! को पारामा उनी गइन् ।

कमिलाझैँ मानिसहरू यता जान्छन् । उता जान्छन् । कोही भित्र छिर्छन् । कोही बाहिर निस्कन्छन् । सबैको आ–आफ्नै धुन छ । आ–आफ्नै लय छ । आ–आफ्नै राग छ । विराग छ ।

जुस पसलको छेउमै एउटा सानो किराना पसल बाँयातिर फर्केको थियो । एउटी युवती आइन् र सोधिन्– रेड पेन छ ?

युवती निकै हतारोमा थिइन् । एउटा पुड्को साइड ब्याग बायाँ काँधमा झुन्डिएको थियो । पसिनाले मेकअप बिग्रेलाझैँ गरी सतर्क थिइन् । झोलाबाट रुमालले मोबाइलको ऐना हेर्दै पसिना पुछिन् ।

किराना पसलवाली आई र भनी– कालो पेन ?

युवती– रेड भन्या कालो हो र ? उसो भए ब्ल्याक भनेको रातो होला !

किराना पसलवाली– हैन कअ्, कालो मात्र छ भनेको...

युवती– अनि रातो छैन भन्या’भा हुन्थो नि !

किराना पसलवाली– भनेको बुझे त भयो करे नि !

दुवैबीच एक टुक्रा हाँसो भुइँमा बजारियो । हाँसो सानै भए पनि निकै दमदार थियो । बजारिएको हाँसोको जिलेटिन भुइँमा ठोक्किएर उछिट्टियो । त्यसको छिर्काले मेरा दुवै कान छेडेर गए । बनाना लस्सीमा धीत नमरेको मेरो ध्यान नराम्ररी भंग भयो ।

किराना पसलवाली– तिमीजस्तो पढ्या’भा हुन्थ्यो करे ! पढ्ने बेला गुच्चा खेलियो...

जिब्रो तानेर अचम्मको भावमा युवतीले भनिन्– हो र !

पसलवाली– हो त !

मेरो औपचारिक ध्यान लस्सीमा थियो । अनौपचारिक ध्यान उनीहरूको कुरामा । उनीहरूको ध्यान मतिर थिएन । आँखाको लेन्सले गोप्य रूपमा ती दुईबीचको ठट्यौली खिचिरहेको थियो । कानले प्रत्यक्ष प्रसारण गर्दै थियो ।

युवती– किन खेल्नुभा’को त गुच्चा !

पसलवाली– पढ्न अल्सी लाएर...

हौसिएर युवतीले भनिन्– कस्तो खालको गुच्चा खेल्या हौ र ?

पसलवाली– डल्लो ।

युवती– मैले गुच्चा चेप्टो हुन्छ भन्या छु र ?

पसलवाली– अनि डल्लोलाई डल्लो भन्नु परेन ?

युवतीले दायाँबायाँ हेरिन् । यो हेराइ वरिपरि कोही छ कि ! भन्ने पाराको थियो । उनले मलाई पनि हेरिनन् । कोही नभएको मौका छोपी कुराको पाइन अझ दमदार बनाउँदै युवतीले भनिन्– स्कुल पढ्दापढ्दै गुच्चा खेल्या हौ कि छोडिकन खेल्यौ ?

पसलवाली– पढ्दापढ्दै ।

युवती– गुच्चा खेलाउनेसँगै ब्या’ ग¥यौ ?

पसलवाली– छ्या, त्यस्तो हैन क ! साँच्चिकै गुच्चा भनेको ।

युवतीले घिच्रो तन्काएर कतै हेरिन् ।

पसलवाली– तिमी खुब गुच्चा खेल्छौ कि क्या हो ? कुरा यस्तो पो गर्न थाल्यौ !

फेरि एउटा हाँसोको सानो जिलेटन पड्कियो । वरपर खासै अरू मान्छे नभएकोले त्यसको अलिकति छर्रा मलाईबाहेक कसैलाई असर गरेन ।

युवती कालीकाली थिइन् । हिस्सी परेकी । उनले कुरा पनि हिस्सी गर्दी रहिछिन् भन्ने खुलासा भयो । यो कुराको मलगायत वरिपरिका कुर्सी, टेबुल र भित्ताहरू साक्षी थिए ।

यतिखेर युवती कतै अलप भइन् । पसलवालीचाहिँ मैले लस्सी नसकुन्जेल पसलका झिँगा धपाउँदै थिइन् । एकछिनपछि हेर्दा पसलवाली कतै ट्वाँ... परी बसेकी थिइन् ।

मैले पिउँदै गरेको लस्सीको गिलास पनि अब त खण्डहर देखियो । उजाड देखियो । उदास देखियो । गिलास रित्तिएपछि मैले गिलासको अस्थिपञ्जरलाई रुङेर बस्नुको कुनै अर्थ देखिनँ ।

उठ्न के लागेको थिएँ, एउटा डायरी फेला पारेँ । डायरी केही महत्त्वपूर्णजस्तो देखेँ । सायद युवतीको थियो । साउनी भित्र छिरेकी थिइन् । डायरी लिएर म युवती भएतिर दौडिएँ ।

धेरैपटक आउजाउ गरेँ, कतै भेटिनँ । गएर साउनीलाई दिन मन लाग्यो । तर, साउनीले जमाना खराब छ भनी डायरी लिन मानिनन् । उनी चिनेका ग्राहक नभएको बताइन् ।

नचिनिएका ग्राहक र पसलवालीको यो कस्तो खालको ठट्यौली ? म एकछिन अल्मलिएँ । अनुत्तरित भएँ ।

उता मेरो गाडी छुट्ने डर भयो । डायरीलाई जतनसाथ झोलामा राखेँ । गाडी हुइँकियो ।

अज्ञात युवतीको अज्ञात डायरी पढ्न मन लाग्यो । सुरुआतमै डायरीको नाम लेखिएको थियो । पन्नाको डायरीमा निकै महिना अन्तरमा लेखिँदै आएको रहेछ । यो डायरी दैनिकी होइन भन्ने शीर्षक र मितिले बताउँथ्यो । 

पन्नाको डायरी
२०८० साउन १५ गते ।
डायरी लेखन मेरो अहम्सँग जोडिएको छ । डायरी लेखनीले तात्कालिक समयका छालहरूलाई आफूभित्र कैद गरोस् भन्ने मेरो अव्यक्त चाहना हो । डायरीमा मेरा विगत र वर्तमान छचल्कियोस् । मेरो निजत्व भरपुर पोखियोस् । त्यही अव्यक्त चाहनाले प्रेरित छु ।

यसमा डायरी लेखनीले पूर्णता लिने हरदम प्रयास गरिनेछ । मेरो जीवनको सर्वाधिक लोकप्रिय पात्र भन्नु नै मेरी आमा हुन् । आमाकी म प्रिय छोरी ! आमाकै बारेमा डायरीको पहिलो पृष्ठमै मैले कवितामार्फत आफूलाई भरपुर पोख्ने प्रयास गरेँ–
आमा !
मेरी आमा !!
कुन शब्दावली होला तिमीलाई पुकार्ने ?
कुन पदावली होला तिमीलाई सुहाउने ?
साँच्चै
कुन प्रश्नावली होला तिमीलाई सोध्ने ?
र, मैले उत्तर पाउने !
कुन नियमावली होला तिम्रो खुसी फर्माउने ?
या तिम्रो दुःख दूर बनाउने ?
यतिखेर
म आफ्नै जिन्दगीको शब्दकोशका पन्ना
सारा खोतलिरहेछु
यतिखेर 
म आफ्नै जिन्दगीको संविधानका धारा–
उपधारा पल्टाइरहेछु !
आमा !
मेरी आमा !! 
यतिखेर
म आफ्नै धुलौटे जीवनका धुलाम्मे माटोमा उभिएर
पूर्वजले कोरेका सीमारेखामा उभिएको छु
र, तिम्रो दशधारा दूधको अघि दण्डवत् भई
म भन्छु र फेरि पनि भन्छु–
म परदेश जान्नँ
अहँ, जाँदै जान्नँ !
हेर्छु,
पुनः हेर्छु
कुन प्रश्नावलीले मलाई बाहिर पठाउँदो रहेछ ?
कुन नियमावलीले मलाई स्वदेश बस्न नदिँदो रहेछ ?
ढुक्क होऊ 
आमा !
मेरी आमा !!
म एकछिन मोक्षघाट जान्छु
म एकछिन एकान्तवास जान्छु
अनि 
तिम्रो नाम पुकार्दै
तिम्रो खुसी फर्काउन
म तिमीसँगै आउँछु 
र, हरबार तिमीसँगै बस्छु ल !

१. अभिशप्त
२०८० साउन २२ गते ।
प्रेरणाको सङ्लो नदी बग्दाबग्दै धुमिल भयो ।

मनको बाँध भत्किन लागेको छ । तनको आयतन गलित छ । थकित छ ।

म निराकार बाँचिरहेको मान्छे । निराकार जीवन साकार पार्नु हमेसा कठिन हुनेरहेछ ।

जीवन अस्ताचलमा डुब्न लागेको श्रीसूर्यझैँ धुमिल भएको छ ।

जीवनमा दुःखको प्रेतात्माले खुबै राज ग¥यो । आफ्नै भूमिगत च्याम्बरमा आफैँ भस्म हुने गरी परितापमा जल्दै कैयौँ कहर काटेँ ।

जिन्दगी एक भ्रामक रोलमोडलजस्तै लाग्न थालेको छ । यही कारण मेरो जीवन सभ्यताको आँचल लगभग डगमगाइरहेको अवस्था छ । एक सोमत नभएको जँड्याहाजस्तै हुन्छु कति बेला । सातो हराएजस्तो । बाटो हराएजस्तो ।

मेरा दिनहरू चार दिनको चाँदनी र बाँकी औँसी भए । म तिनै अँधेरा दिनहरूमा छामछाम छुमछुम गर्दै दिन बिताएँ ।

जीवनका ती विस्मयकारी दिनहरूको कुनै यथोचित संग्रह थिएन । ती अस्तव्यस्त थिए ।

प्रिय डायरी ! 
अहिले दुःखमा झरेका तिनै आँसुका मसीद्वारा विम्बित अक्षरको पन्नालाई मनको सन्झ्यालभित्र पसेको एक चोइटा बतासले पल्टाउन हमेसा कोसिस गरिरहेछ । 

२. अस्तित्व
२०८० साल असोज ३ गते ।
प्रत्येक साल नवीकरण गरे पनि किन झन् पुरानो झन्झन् पुरानो हुन्छ होला है यो जिन्दगी ? साँच्चै दुनियाँका हरचिज जति नै नवीकरण गरे पनि वास्तवमा ती झन्झन् पुराना हुँदै जाने हुन् । अझ पुराना हुने हुन् । जीवनको एक अलौकिक सत्यता यही हो ।

बाबाको अस्तित्व मलाई याद छैन । एक मात्र प्रेरणाको स्रोत मेरी आमाको अस्त भएको वर्षौं भयो ।

अस्तित्वको काखमा कैयौँपटक मैले आफ्नै अस्तित्व खोजी बसेकी छु । आफ्ना अपूरणीय क्षणहरू सुम्सुम्याउनुसिवाय अरू उपाय छैन । निम्तोबिना आयातित जीवनका तथानाम बेसरम दिनहरू पलपल याद बनेर मेरो मथिंगलमा झुन्डिरहन्छन् ।

आज म जीवनको कठघरामा उभिएर विगत दिनहरूमा सयर गर्न राजी भएकी छु । मलाई लाग्छ, विगत जीवन एउटा दस्ताबेज हो । जीवन जिउनुको प्रामाणिक स्वरूप नै विगत हो । विगतको आधारशिलाले नै वर्तमान जन्माउने न हो । विगत आफैँ एक अस्तित्व हो । एउटा जीवनको अस्त भएपछि त्यो फेरि उही भएर आउन सक्दैन । आउने जीवन त नयाँ न हो । नयाँ जीवन विगतको अस्तित्वमा आधारित हुनेरहेछ ।

प्रिय डायरी ! 
जीवनका यी तारन्तार विविध दर्दका बान्कीहरू कालान्तरमा जीवनकै उद्गमस्थल हुँदा रहेछन् । जीवनको जेब्राक्रसिङले मलाई सिकाएको पाठ यही हो । 

३. कायाकल्प
२०८० साल मंसिर ५ गते ।
याद छ मलाई, अनुहारमा मयलहरू जाम भएको अवस्था । धुलो र हिलोमा लपेटिएका थाङ्ना लुगा । त्यही थाङ्ना र झुत्राझाम्रा लुगा मेरा जीवनका अनिश्चयी र चञ्चल देहको रक्षार्थ खडा भएका दिन र मेरी आमाका सङ्घर्षमय ताडनाहरू जीवनको पर्दामा बारबार देखिन्छन् ।

मेरो लागि केही गर्न नसकेको भनी मध्यरातमा नजानिँदो तरिकाले रुने मेरी आमा, म बिउँझिएपश्चात् मलाई अाँलोमा बेरेर क्वाँ ! क्वाँ ! रुने गर्थिन् । मैले बुझ्ने भएपछि आमाका दर्द दूर होऊन् भनेर म पनि आमासँगै गिट्टी कुट्न जान्थेँ ।

आमाले मलाई नजिकको स्कुलमा पठाउँथिन् । साँझबिहान मैले आमालाई गिट्टी कुट्न पनि सघाउँथेँ । साँच्चै यो वर्ग विभेद कुनचाहिँ सामन्तले बनायो होला है आमा ? 

समयको चक्र हरबार घुम्दो छ ।

जीवन कायाकल्पको दिन लगातार चल्दो छ । हिजोको बालापन बितिसक्यो । हिजोको देह आज छैन । हिजोको मानसिकता आज छैन । एउटा असोचनीय तर वास्तविक कायाकल्प यही भएको छ ।

कायिक देह सदा उही अवस्थामा रहन सक्दैन रहेछ ।

पतझडकालीन समयमा रहेका ओखरका डाली बताससँगै हल्लिए ।

अधमरा जिन्दगीले वर्षौं आफ्नो लय बिर्स्यो । आफ्नै ताल बिर्स्यो । जीवनको तार चुँडिएपछि जीवनको सुर साँच्चिकै बिग्रिँदो रहेछ ।

दिन, महिना र वर्ष बित्यो । सबै कुराहरू याद नभए पनि कतिपय यादहरू जीवनका सहधर्मी बन्न हरबार लालायित बन्दा रहेछन् । जीवनको अतीत नियाल्दा मलाई यस्तै बोध हुन्छ ।

प्रिय डायरी ! 
दुखित मनलाई बुझाउनु हमेसा कठिन कार्य हो । परन्तु, मन बुझाउन बाध्य थिएँ । बितेका दिन फर्काउन सकिँदैन । गुमेका मेरी आमा र बाबा म फर्काउन सक्दिन थिएँ ।

अचेल म आफैँमा रमाउन खोज्छु । आफ्ना खुसीहरूमा मैले मेरी आमालाई देख्ने गर्छु । भेट्ने गर्छु । आखिर यसैमा हितकर थियो ।

४. लय
२०८० साल फागुन ४ गते ।
अप्रीतिकर अभावहरूको बिगबिगीमा मन जहिल्यै उद्विग्न थियो । परन्तु, यसले एक अलौकिक महत्ताबोध गराउँथ्यो जीवनमा । कालान्तरमा यही महत्ताबोध नै मेरो कोेसिस भएर जागिरह्यो । आफ्नै कोेसिसप्रतिको निष्ठामा प्रतिबद्ध मन हरबार साना कुरामा पनि कोसिस गर्न लालायित हुन्थेँ ।

अभावले जीवनमा केके पो गरिएन होला र ! जीवनमा अभाव र ताडनाको जालो यति जेलिएको थियो, उम्किने कुनै बाटो थिएन । खजमजिएको जीवनको वकालत गर्न आफ्नो अभाव काफी थियो ।

जीवनका रहरहरू आरुका फूलझैँ पलभरमै फुल्थे । गरिबीको असिनाले फल लाग्न नपाउँदै चुटिन्थे । यही कुराले एकबारको जुनीमा वैराग्यले खुब निचोर्थ्यो मलाई ।

असह्य कष्टमाथि संवेदनशील जीवनको यथार्थ धरातल बिल्कुल विमुख थियो । समयको कोर्राले करुणाशून्य भएर मेरो दर्दमाथि ठट्टा गर्नु ठूलो पराक्रम र आनन्दजस्तै भयो सायद ।

जीवन एक मौका हो । जति दुःखमा परे पनि जीवन परिवर्तनको लागि मौका आउनु अपरिहार्य हुन्छ नै । जरुर म दुःखमा थिएँ । परन्तु, गलित मन विस्तारै बौरिन थाल्यो । थकित देह केही तंग्रिन थालेको थियो । एउटा अदम्य आँट भित्रैबाट आउँथ्यो । आइरहेको छ ।

तन्नेरी मन चुलीमा पुगेको पक्का हो । जीवन कायाकल्पको अर्को चरणमा पुगेको हो । किनकिन अब यो सहरको कोलाहलबाट निकै टाढा पुग्न मन लाग्यो । आफू जन्मेको भूमि फर्किन मन लाग्यो । बाउबाजेको आदिभूमि टेक्न मन लाग्यो । हामीलाई छल गरेर सर्वस्व लुट्ने छलकारीलाई चिन्न मन लाग्यो । हाम्रो सुन्दर घर भत्काउने असत्तीका काला कर्तुत पहिल्याउनु थियो । आमाले बताएअनुसार ती आततायीलाई पछ्याउन मन लागेको हो ।

प्रिय डायरी ! 
चाहनाहरूको जोर मादल खरी झरेर रुग्ण र भग्न अवस्थामा छ । जीवनको कुनै सुरताल थिएन । छैन । तर पनि म यसैमा जीवनको लय खोजिरहेछु । ताल खोजिरहेछु । जीवनको मधुरता खोजिरहेछु । 

५. पाइला
२०८१ साल असार २१ गते ।
जीवन साँच्चै घटना र प्रवृत्तिको वृत्तान्त रहेछ र प्रेरणा र आवश्यकताको आदिभूमि पनि हो रहेछ ।

मलाई थाहा भो, उमंग र गहिरो आनन्द निष्ठा र इमानमा मात्र हुँदो रहेछ ।

बिहानीको यात्रा तय भयो । 

दुई दिनको बस यात्रा गाउँ पुग्नुभन्दा अगावै समाप्त भयो । मेरो गाउँ पुग्न अझै केही समय लाग्छ भन्छन् मानिसहरू ।

करिब २५ वर्षपश्चात् म गाउँ फर्किन लागेको हुँ । तीन वर्षको हुँदा सहाराविहीन भएकी आमाले मलाई लिएर गाउँ छोडेकी थिइन् । बाबाको अवसानलगत्तै हाम्रो घरको सुखसयल धराशायी भएको हो ।

मेरो जीवनमा विसंगतसिवाय के पो छ र ? यता दुःखको कर्कश पहाड उभिएको छ, उता अभावको बाढी निरन्तर बग्दो छ । त्यही बाढीमा जीवनको एक अँजुली खुसीको अस्तित्व बेलगाम बग्दै अलप भयो । अर्थात्, मेरी ममतामयी आमाको देहावसान भयो । आमाको मरणपश्चात् म नितान्त एक्ली भएकी थिएँ । छु ।

परन्तु, हमेसा कुटिल यन्त्रणा मात्र जीवनको ठेक्का होइन होला ।

प्रिय डायरी ! 
समयको चक्र घुम्दो छ । घुमिरहेको छ । चुप लागेर जीवनको मदानी नचल्ने रहेछ । यतिखेर क्रोध र उत्सुकताले मेरो पाइला द्रुत गतिमा उकालिँदै छ । सायद अघोषित बदलाभावले अन्धो भएकी छु ।

६. प्रश्नचिह्न
२०८१ साल असार २३ गते ।
बादलका टुक्राहरू पहाडका कन्दरामा लुकामारी खेल्दै थिए । एउटा अज्ञात उत्साहले घरीघरी डो¥याइरह्यो ।

नदी किनारामा गएर एकछिन टोलाउन मन लाग्यो ।

रक्तमुछेल अज्ञात एक वृद्ध मानिस नदी किनारामा डुबुल्की मारिरहेजस्तो दृश्य हठात् मेरो आँखामा प¥यो । मैले आफूलाई रोक्न सकिनँ । ऊ होसमा नभएझैँ लाग्यो । बल गरेर नदी किनाराबाट एक अर्धमृत वृद्धको आशातीत उद्धार गरेँ । मेरो गाउँ जाने र छलकारीको पहिचान गरेर बदला लिने योजना तत्काललाई विलुप्त भयो ।

वृद्ध मानिसको नदीबाट उद्धार त गरियो, उनी होसमा थिएनन् । टाउको र छातीमा लागेको चोटले उनको अवस्था गम्भीर थियो । वरिपरि कोही मानिस थिएनन् ।

बाआमाको याद अवतरित भयो मनमा । निःसंकोच वृद्ध मानिसलाई काँधमा बोकेर म जहाँबाट ओर्लिएको थिएँ, उतै हान्निएँ । घरी बिसाउँदै र घरी बोक्दै म गाडी पाइने ठाउँमा रात परेपछि पुगेँ ।

एम्बुलेन्स थिएन । कसैसँग बोल्ने हिम्मत पनि आएन । ड्राइभरको आनाकानी बाबजुद वृद्ध मानिसलाई गाडीमा सुताएँ । केही समयको विवादपश्चात् जीप हुइँकियो ।

बजारदेखि अस्पताल भेट्न जीप बेगले हुइँकियो । एउटा असोचनीय र अज्ञात यात्राको सुरुआत भयो । केवल ऊ अस्पतालको बेडसम्म सकुशल पुगोस् भन्ने मनोकांक्षा थियो । मैले घाइते वृद्धलाई अस्पताल भर्ना गरेँ ।

प्रिय डायरी !
अपरिचित वृद्धको आफ्नो मान्छे को थिए ? ऊ को थियो ? यही प्रश्नले बारबार मलाई झस्काइरह्यो । किनकि, मैले कसैसँग सोधीखोजी गरिनँ । कसरी हुन्छ घाइतेलाई अस्पताल पु¥याउनु थियो । 

७. चिनारी
२०८१ साल असार २७ गते ।
होसमा आएपछि वृद्ध मानिस मलाई भेट्न आतुर रहेछन् । परन्तु, उनको अवस्था चिन्ताजनक नै देखिन्थ्यो ।

“नानु, जीवनमा सम्झेको सबै पूरा होस् !” वृद्ध मानिस मसिनो स्वरमा बोल्यो । तर, उनले यसो पनि भने, “किन बचाउनुभएको मलाई ? म त आफैँ मर्न गएको थिएँ ।” उनको कुराले म झस्किएँ ।

“तपाईंलाई कस्तो छ अहिले ?” सान्त्वनाको भाकामा मधुरता घोलेँ ।

केही कुराकानीपश्चात् म उनका लागि औषधि लिन निस्केँ ।

औषधि र फलफूल लिएर म उनीकहाँ फर्किएँ ।

वृद्ध मानिसका यस संसारमा कोही रहेनछन् । उनकी श्रीमती उहिल्यै बितिछन् । भएका दुईमध्ये एक छोरा अकालगतिमा मरेको बताए । एउटा छोरा सानै हुँदा बेपत्ता भएछन् । जताततै धुवाँदार खोज्दा पनि भेटिएनछन् । वृद्ध मानिसले उनको छोरा सायद मरिसकेको बताए ।

उनी केही हल्का होऊन् भनी मैले पनि आफ्नो कथाकहानीको पन्तुरो उनको सामु खोलेँ ।

“के तिमी डाँडागाउँका चन्दरेकी छोरी हौ ? अनि, तिम्री आमाको नाम आशा हो ?” वृद्धले खुम्चिएका आँखीभौँ तन्काई मलाई सोधे ।

बाको नाम चन्द्रे रहेको आमाले सुनाएकी थिइन् । आमाको नाम त आशा नै थियो । मैले हो भनेँ । उनले अचम्मित तथा विस्मयकारी नेत्रले मलाई हेरिरहे ।

“नानु, तिम्रो बाबाको मरणपश्चात् छलछाम गरी तिमीहरूको जायजेथा लिने अपराधी मै हुँ ! म पापी हुँ ! नर्कको बास हुन्छ मेरो नानु !” अशक्त देहमा उनी भक्कानिएर रोए । उनको रुवाइलाई नियालेर हेरेँ ।

हठात् मेरो मनमा आगो बल्यो । भित्रभित्रै मेरो मनमा बदलाको आगो दन्किरह्यो । परन्तु, मेरो रिसको पारो घट्दै गयो । कारण, उनको रुवाइ र विलापमा नाटकीयपन कतै पनि देखिनँ । अर्को कुरा, यो बदला लिने परिवेश थिएन ।

“बा, आफूलाई सम्हाल्नोस् !” मेरो वाक्य यत्तिमै सीमित भयो ।

वृद्ध अगाडि भन्दै गए, “नानु, तिम्रा बासँग मेरो लिनुदिनु केही थिएन । दुस्मनी पनि थिएन । उनी मेरा पनि प्रिय थिए । तर, मैले नहुने काम गरेँ । मैले नर्क जाने बाटो खनेँ ।”

‘लिनुदिनु केही थिएन त मेरी असहाय आमाकी किन घर लुट्नुभएको ? किन हाम्रो बिचल्ली पार्नुभएको ? किन ? किन ?’ भन्ने मन थियो । परन्तु, बोली घाँटीमै अड्कियो । क्रोधले अकस्मात् काँपिरहेकी थिएँ । तर, उनको पश्चात्तापले मलाई स्खलित बनायो । बदलाभावमा गिरावट आयो ।

धीमा गतिमा रहेका वृद्ध निकै शिथिल थिए ।

“तिम्रा बा गाउँको झाँक्री थिए । नामी झाँक्री ! एकदिन तिम्रा बाबाको मृत्यु भयो । गाउँको चलनानुसार झाँक्रीको पार्थिव शरीर गाड्नुभन्दा अगाडि दायाँ हातको बुढीऔँला काटेर कसैले नदेख्ने ठाउँमा गाड्नुपर्थ्यो । तिम्रा बाको बुढीऔँला काट्ने र गाड्ने जिम्मा मेरो थियो । मलाई यही बेला दुष्ट्याइँ गर्न मन लाग्यो । तिम्रा बाको दायाँ हातको बुढीऔँला काटेँ । तर, गाड्नु भनिएको औँला मैले गाडिनँ !”

वृद्ध बोल्दाबोल्दै भक्कानिए । भक्कानिदा उनको सास छिन्लाझैँ भयो ।

“अनि के भो ?”

“बुढीऔँला नगाडी खुसुक्क एक ठाउँमा लुकाएँ । अर्को दिन गएर त्यो बुढीऔँला लिएर घर आएँ । तिम्रा घरजग्गा सब मेरो नाममा हुने गरी कागज बनाएँ । तमसुकको शिरपुछारमा तिम्रा बाको औँठाछाप ठोकेँ ! मैले अन्य काम पनि किर्ते गरेँ । यसरी तिम्रा आमा र तिमीलाई दिनदहाडै नारकीय जीवन बिताउन बाध्य पारेँ । म पापी हुँ ! म कुलंगार हुँ ! म यसको जस्तोसुकै सजाय भोग्न तयार छु ।”

निकै शिथिल बोलीमा उनी बोल्दै गए, “तिम्री आमाको क्रन्दन देख्न सकेको थिइनँ । मलाई महिनौँ पश्चात्तापको ज्वालाले पोल्दै रह्यो । महिना दिनपछि जायजेथा फिर्ता गर्न तिम्री आमालाई धेरै खोजेँ । कतै पाइनँ । समयको लामो कालखण्डमा यही पश्चात्ताप, अपराधबोधले मेरी श्रीमती बितिन् । सायद मेरै अपराधको कारण छोरो पनि बित्यो । अर्को बालख छोरो पनि कता हरायो । अबउप्रान्त म यस धर्तीमा बाँच्नलायक छैन । अपराधबोधले अन्धो म भीरबाट फाल हालेँ । लडेर नदीमा गएँ । तर, मर्न सकिनँ । यस्तो देवताजस्तो मानिसको जीवन बर्बाद बनाउने अपराधी म मर्न सकिनँ ।”

अपराधबोधले वृद्धको मुहार झनै असोचनीय रूपमा मलिन देखिएको थियो । अकस्मात् उनी लल्याकलुलुक हुन गए ।

म डाक्टर बोलाउन कुदेँ ।

उफ्... प्रिय डायरी ! 
डाक्टर लिएर फर्किंदा वृद्धको नाडी थिएन । 

०००

अकस्मात् डायरी मेरा हातबाट खस्यो । हातखुट्टा लल्याकलुलुक भए । मलाई भाउन्न होलाजस्तो भयो । बस कतिखेर रोकिएछ । यात्रा सकिएछ । यात्रुहरू निस्किएछन् ।

“ओ दाइ, उठ्नु न !” कन्डक्टरको चर्को आवाजले मात्र म बिउँझिएको थिएँ । कति घण्टा बेहोसीमै यात्रा गरिएछ !

मनमा प्रश्नको छुरा क्षणक्षणमा रोपियो । सोचेँ– के यो डायरी उनै छिरलिएर बोल्ने युवतीकै थियो होला त ? यो प्रश्नभन्दा पनि डायरीमा उल्लिखित आमा बितेकी, भाइ बितेका र त्यो बितेको वृद्धले मेरो मनलाई हुँडल्यो ।

यी पात्रहरू मेरा जीवनमा मेल खाए । के यिनीहरू मेरा बाआमा र भाइ नै हुन् त ? उत्तर पाउनु पहिले नै प्रश्नले मलाई विक्षिप्त बनायो ।

सम्साँझ, रित्तो घर भग्न अवस्थामा मुस्किलले चिनेँ । छिमेकी बज्यैलाई चिनेजस्तो लागेर बोलाएँ । उनी मलाई हेरेर अलमलमा परिन् । मैले निकै साहस जुटाएर उनलाई आफ्नो बारे भनेँ ।

उनका अनुसार, मेरा आमा र भाइ उहिल्यै बितेका रहेछन् । केही दिनदेखि गाउँबाट मेरा बा पनि हराएको बताइन् ।

बज्यैको कुराले मेरो जीवन निराकार भयो । म शून्य भएँ । धेरै वर्षपछि आफ्नो घर फर्किंदा म एक्लो भएँ । खण्डित भएँ । 

छिमेकी डायरीवालाको नाम पन्ना रहेछ । पन्नाको डायरी मैले २०८१ साल भदौ महिनाको १३ गतेको दिन भेटेको हुँ । असोज १३ गतेको दिन मैले एक टिप्पणी लेखेँ– 
प्रिय डायरी !
प्रत्येक पल डायरी लेख्ने युवती पन्नाको प्रतीक्षामा दिन ढल्यो । रात घर्कियो । उनी बेखबर नै रहिन् । न उनी गाउँ फर्किइन् न उनी बसेको सहर पत्ता लाग्यो । उनी आउलिन् भनेर मैले कुरेको पनि महिना दिन बित्यो, तर उनी आइनन् ।

प्रिय डायरी !
कथम् उनी आइन् भने उनको सम्पूर्ण जायजेथा उनैलाई फिर्ता गर्नु छ, ताकि पश्चात्तापमा जलेर बितेका मेरा बाआमाका भत्किएको आत्माले मोक्षको बाटो समाऊन् । यही मेरो मनोकामना छ ।

धेरैपल्टको खोजपश्चात् पन्नाको फेसबुक आईडी थाहा भयो । परन्तु, यही बेला एक अपुष्ट खबर उनको वालमा उनलाई ट्याग गरेर उनका केही सहपाठीले लेखेका थिए–
काठमाण्डुमा भएको भारी वर्षाका कारण डुबानमा परेर डाँडाघरे पन्ना मगर हाल बेपत्ता रहेकी छिन्...

प्रिय पन्ना !
आकाश खसोस् या धरती भासियोस्, मैले आफ्नो कर्तव्य निभाउँदै छु । म अहिले तिम्रो खोजीमा काठमाण्डु जाँदै छु । तिमीलाई भेटिएला÷नभेटिएला, तिम्रो सास भेटिएला या लास भेटिएला, म रित्तो हात गाउँ फर्किन्नँ । बरु मेरो ज्यान जाओस् । बरु मेरो प्राण उडोस् । मेरो प्रतिज्ञाको यात्रा लम्बिरहनेछ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन २४, २०८१  १३:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro