site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
टिकटकको दोहोरो भूमिका, सिनेमा जोगाउनै सकस

काठमाडौं । पहिलो र दोस्रो दिन पाएको शो पनि बचाउन निर्मातालाई हम्मेहम्मे परेको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ तेस्रो दिनबाट चल्यो । यो सिनेमाले नेपाल र ओभरसिज मार्केट गरी करिब पौने एक अर्ब रुपैयाँ ग्रसकलेक्सन गर्‍यो ।

उत्रिनै लागेको चलचित्र तेस्रो दिनबाट कसरी चल्यो ? चलचित्र ‘मेरिट’का आधारमा चल्नु एउटा कारण हो । यो सिनेमा हेरेर दर्शक रोएको टिकटक ‘भाइरल’ भएपछि ‘पूर्ण बहादुरको सारङ्गी’ चल्यो भन्ने चलचित्रकर्मी नै धेरै छन् । निर्माणपक्षले पनि यसलाई नकार्न सकेको छैन ।

‘बादल वर्षा बिजुली’ बोलको गीत दशकौँपछि टिकटकमा भाइरल भएपछि नयाँ पुस्तामाझ पनि चल्यो । यो गीतमा टिकटक नेपालमा मात्र होइन, भारतमा पनि ‘भाइरल’ भएको थियो ।

‘फूलबुट्टे सारी’ करिब १२ वर्षपछि टिकटकमा आएकै कारण चल्यो । यस्ता थुप्रै उदाहरण छन्, टिकटकमा छोटो क्लिप्स भाइरल भएकै कारण गीत चलेका छन् ।

यी उदाहरणले गीत चलाउन होस् वा चलचित्र, पछिल्लो समय टिकटकको अहम् भूमिका रहेको प्रस्ट हुन्छ ।

एकातिर चलचित्र र गीतसंगीतका स्रष्टा तथा सर्जकलाई आफ्नो सिर्जना चलाउन टिकटक सहयोगी माध्यम भइरहेको छ, अर्कोतर्फ यही टिकटक टाउको दुखाइको विषय पनि बनेको छ ।

सिनेमा रिलिज भएको दिन नै टिकटकभरि चलचित्रको क्लिप्स भाइरल हुन्छन् । क्लाइमेक्ससहित चलचित्रका अधिकांश सिन टिकटकमा आउन थालेपछि चलचित्रकर्मीका निम्ति यो तनावको विषय बनेको छ ।

‘लाज शरणम्’को क्लाइमेक्ससहित टिकटकमा आएपछि कलाकार र निर्मातालाई यसलाई कसरी रोक्ने भन्ने तनाव भएको छ । यो चलचित्रका मुख्य कलाकार सिताराम कट्टेलले ‘बौद्धिक सम्पत्तिको सुरक्षा’ र ‘सिर्जनामाथि सर्जकको प्रतिलिपि अधिकार’को सम्मानको विषय उठाएका छन् ।

“चलचित्र सार्वजनिक भएसँगै सर्जकको सिर्जना अनधिकृत रूपमा बाहिरिएसँगै बौद्धिक सम्पत्तिको जगेर्ना र सिर्जनामाथि सर्जकको प्रतिलिपि अधिकार सुरक्षाप्रति चिन्तित भएका छौँ,” सिताराम भन्छन्, “चलचित्रका दृश्य तथा संवादहरू सामाजिक सञ्जालमा छाउनु लगानीकर्ता, सर्जक र कलाकार कसैका लागि सुखद पक्ष होइन । सिनेमा हेर्दा हलमा दृश्य तथा संवादको भिडियो खिच्नु गैरकानुनी कार्य हो ।”

उनले सामाजिक सञ्जाल प्रयोगकर्तालाई सिनेमालाई अनधिकृत रूपमा प्रयोग नगर्न, अनधिकृत कामप्रति प्रोत्साहित नहुन र उत्तरदायी सिनेमा उद्योगको विकासमा सहयोग गर्न उनको आग्रह छ । 

चलचित्र ‘लाज शरणम्’का निर्माता नवीन श्रेष्ठले यही विषयमा आफूले साइबर ब्युरोमा उजुरी दिएको बताए । रिलिज भएकै दिनबाट टिकटकलगायत सामाजिक सञ्जालमा सिनेमाका महत्त्वपूर्ण सिन बाहिरिएकाले आफू साइबर ब्युरो गएको उनले बताए ।

“म साइबर ब्युरोमा गएको गएै छु । सम्भवतः केही टिकटक र फेसबुक अकाउन्टबाट सिनेमाका महत्त्वपूर्ण सिन डिलिट भए होला, केही डिलिट हुनेक्रममा रहेको प्रहरीले जनाएको छ,” नवीन भन्छन्, “प्रहरीकोमा उजुरी परेकाले सिनेमालाई असर पर्दैन भन्ने हाम्रो अपेक्षा छ । प्रक्रियामा गएकाले पाइरेसी भएका सिन चाँडै हट्छ भन्ने हाम्रो विश्वास छ ।”

‘लाज शरणम्’सँगै प्रदर्शनमा आएको चलचित्र ‘मायावी’को निर्माणपक्षले पनि यही समस्या झेल्यो ।

फागुन १४ गते रिलिज भएको ‘मायावी’ सोही दिनबाट टिकटकमा पाइरेसी भयो । चलचित्रको महत्त्वपूर्ण दृश्य समेत टिकटकमा आएपछि त्यसले दर्शकलाई सिनेमा हेर्न उत्सुकता कम गर्न सक्ने भन्दै निर्माणपक्षले आपत्ति जनायो ।

टिकटकमा चलचित्रको क्लाइमेक्स समेत खिचेर दर्शकले पोस्ट गरेपछि निर्माणपक्ष तनावमा परेको थियो । चलचित्रका लेखक तथा निर्देशक दिवाकर भट्टराइले महत्त्वपूर्ण दृश्य खिचेर टिकटकमा नराख्न आग्रह गरे । उनले प्रेस नोट नै निकालेर साइबर ब्युरोमा जाने चेतावनी दिएका थिए ।

टिकटकमा सिनेमाका महत्त्वपूर्ण सिन आउने र त्यसको विरोधमा निर्माता तथा निर्देशक साइबर ब्युरोमा जाने दैनिकीजस्तै बनिसकेको छ । प्रायः हरेक चलचित्र प्रदर्शन हुँदा त्यसका केही न केही सिन टिकटकसहितका सामाजिक सञ्जालमा आउने र त्यसमा चलचित्र निर्माता तथा निर्देशकको आपत्ति रहने गरेको छ ।

तर, टिकटकमा रहेका पाइरेसी भएका सामग्री हटाउन त्यति सहज छैन । फेसबुक र टिकटकमा पाइरेटेड साम्रगी हटाउन केही सहज छ । तर, टिकटकमा रहेका त्यस्ता सामग्री हटाउन कठिन रहेको युट्युब कम्पनी ओएसआर डिजिटलका व्यवस्थापक रुपेन्द्र खड्गी बताउँछन् ।

“फेसबुक र युट्युबका कन्टेन हटाउन चाहेको खण्डमा सहजै सकिन्छ । ब्लक गर्न पनि सकिन्छ,” खड्गी भन्छन्, “तर, टिकटकको सवालमा केही फरक छ । फेसबुक र युट्युबको जसरी टिकटकमा रहेका पाइरेटेड सामग्री हटाउन सकिँदैन ।”

टिकटकको कार्यालय नेपालमा नरहेकाले यस्तो समस्या झेल्नु परिरहेको उनी बताउँछन् । रुपेन्द्रका अनुसार, इमेल गरेर पाइरेटेड सामग्री भएको भन्दै हटाउन आग्रह गर्नुपर्ने अवस्था छ । उनीहरूले त्यसलाई कहिले सम्बोधन गर्छन् भन्ने यकिन नहुने उनको भनाइ छ ।

“यो आइडीमा रहेको यो कन्टेन पाइरेटेड हो भनेर नेपालबाट इमेल पठाउने हो,” उनी भन्छन्, “इमेलको रेस्पोन्स कहिले आउँछ भन्नेले अर्थ राख्छ । टिकटकले इमेलको रेस्पोन्स नै ७२/७४ घण्टापछि गर्छ ।”

इमेलमा पुनः टिकटकले जिज्ञासा राखे पाइरेटेड साम्रगी हटाउन थप समय लाग्ने उनी सुनाउँछन् ।

व्यक्ति र प्राइभेट कम्पनीले इमेल गर्दा ढिलो ‘रेस्पोन्स’ हुने भएकाले प्रहरीमा जानुपर्ने अवस्था रहेको रुपेन्द्र बताउँछन् । “सरकारी कार्यालय, त्यसमा पनि प्रहरीका तर्फबाट इमेल गयो भने अलि चाँडै रेस्पोन्स हुन्छ कि भनेर साइबर ब्युरोमा जाने गरिएको हो,” उनी प्रस्ट पार्छन् ।

युट्युब र फेसबुकको कन्टेन आईडी÷सीएमएस नेपालमै हुने भएकाले आफैँले रिपोर्ट गरेर त्यसलाई हटाउन सकिन्छ । तर, टिकटकको कन्टेन आईडी नेपालमा नरहेकाले यसमा रहेका पाइरेटेड सामग्री हटाउन समस्या हुने गरेको ओएसआरका व्यवस्थापक रुपेन्द्रको भनाइ छ । फेसबुक र युट्युबलाई भने इमेल गर्दा चाँडै रेस्पोन्स आउने उनी बताउँछन् ।

टिकटकको नेपाल ‘टेरिटोरी’लाई सिंगापुरमा रहेको टिकटकको कार्यालयले हेर्दै आएको छ । “नेपालमा नै कार्यालय भएको भए सायद चाँडै रेस्पोन्स हुने र पाइरेटेड सामग्री पनि चाँडै हट्थ्यो होला,” रुपेन्द्र भन्छन् ।

देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सका सञ्चालकमध्येका एक भाष्कर ढुंगाना सबै समस्या सिनेमा हलमा ल्याएर मात्र थुपारेर नहुने बताउँछन् । हलले गर्न सक्ने जति काम गरिरहेको उनी जिकिर गर्छन् । “सिनेमा हेरिरहेका बेला किन मोबाइल निकालेको भनेर पनि भन्न मिलेन,” भाष्कर भन्छन्, “हलका पनि लिमिटेसन छन्, त्यसभित्र बसेर काम गर्ने हो । कि सिनेमा हेर्न आउँदा मोबाइल नलिई आउनु भन्नुपर्‍यो ।”

मुख्य समस्या प्रहरीमा पुगेको उजुरीमा मिलापत्र गर्नु रहेको उनको ठहर छ । प्रहरीमा पुगेपछि मिलापत्र गरेर फर्कंदा यो सामान्य विषय हो भन्ने बुझाइ धेरैमा रहेको उनी बताउँछन् ।

“प्रहरीकोमा उजुरी दिएपछि मिलापत्र गरेर फर्किएको देखिन्छ । कारबाही भएको खण्डमा कारबाही हुने रहेछ भनेर मान्छे सचेत हुन्थे,” भाष्कर भन्छन्, “यसले समस्या हामी आफैँमा पनि छ भन्ने देखाउँदैन र ?”

चलचित्र घरहरूको छाता संस्था नेपाल चलचित्र संघका पदाधिकारी गोपालकाजी कायस्थ सरोकारवाला निकायले यसलाई गम्भीर रूपमा लिए समस्या समाधान हुने बताउँछन् ।

चलचित्र संघले सक्दो प्रयास गरिरहेको तर अरू निकायले यसमा खासै चासो नदेखाएको उनको गुनासो छ । “हामीले हलमा सूचना बजाउँछौँ, ट्रेलर नै देखाउँछौँ,” उनी भन्छन्, “कसैले अनधिकृत रूपमा सिनेमा हलमा खिचेको पाइयो भने कडा कारबाही गर्नू भनेर हामीले देशभरका सिनेमा हललाई सर्कुलर नै गरेका छौँ ।”

चलचित्र विकास बोर्ड यो समस्या समाधानका निम्ति थप गम्भीर बन्नुपर्नेमा उनी जोड दिन्छन् । प्रहरीले पनि यसमा थप चासो दिनुपर्ने उनी बताउँछन् ।

“उजुरी प्रहरीकोमा पुगेपछि यसलाई गम्भीर रूपले लिएर काम–कारबाही भयो भने पनि फिल्महलमा सिनेमा खिच्ने प्रवृत्ति अलि घट्थ्यो होला,” कायस्थ भन्छन्, “कारबाही गरेको समाचार आए पक्कै कम हुन्छ । नेपाल हल्लैहल्लाको देश हो, कारबाहीको हल्ला भयो भने पनि धेरैमा यो कुरा पुगेर पाइरेसी कम हुने थियो ।”

पाइरेसी कम गर्न सञ्चारमाध्यमको पनि महत्त्वपूर्ण भूमिका हुने उनी औँल्याउँछन् । सञ्चारमाध्यमले पाइरेसी गर्नु अपराध हो र कडा कानुनी कारबाही हुन्छ भन्ने सूचना प्रवाह गरे दर्शकमा सचेतना आउने कायस्थको भनाइ छ ।

प्रहरी प्रशासनले चलचित्रको पाइरेसीलाई सामान्य रूपमा लिने गरेको उनको आरोप छ । प्रदर्शन भइरहेको चलचित्र पाइरेसी भयो भनेर चलचित्रकर्मी पुगेपछि प्रहरीले त्यसलाई तत्काल सुनुवाइ गर्नुपर्नेमा त्यसो हुन नसकेको कायस्थ बताउँछन् । दर्शक आफैँ पनि बौद्धिक सम्पत्तिको अधिकारका विषयमा जागरुक हुनुपर्नेमा उनको जोड छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शनिबार, फागुन २४, २०८१  ११:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro