
काठमाडौं । सामाजिक सञ्जालमा भाइरल बनेको गीत ‘दुस्मन हेरेको हेर्यै’मा कति टिकटक बने ?
“जता हेरे पनि यही गीतमा टिकटक देख्छु, मेरोमा मात्रै हो कि तपाईंकोमा पनि यस्तै हो ?,” दुर्गेश प्रतिप्रश्न गर्छन् ।
‘...’
“अहिलेसम्म १० लाखभन्दा माथि टिकटक बनिसकेको छ,” दुर्गेश भन्छन् । ‘दुस्मन हेरेको हेर्यै’ भनेर सुरुमा दुर्गेशले टिकटकका निम्ति काटेको क्लिप्समा १० लाखभन्दा धेरै टिकटक बनेको उनी जिकिर गर्छन् ।
सुरुमा उनले टिकटकका लागि एउटा मात्र क्लिप्स काटेका थिए । पछि तीनवटा थपे । “पछि काटेका क्लिप्समा पनि हरेकमा एक लाखभन्दा धेरै टिकटक बनेका छन्,” दुर्गेश भन्छन् ।
गीत चल्ने माध्यम नै टिकटक बनेको उनको अनुभव छ । यसका निम्ति दर्शक र श्रोताले मन पराउने लाइन भने हुनुपर्छ ।
“दर्शकको चासो र रोजाइलाई क्यास गर्न सक्ने लाइन भने हुनुपर्छ,” उनी भन्छन्, “दर्शकश्रोताले के खोजिरहनुभएको छ, के मन पराउनुहुन्छ भन्नेचाहिँ हामी सर्जकले बुझ्नुपर्छ ।”
श्रोतादर्शकले खोजेको र चाहेको जस्तै लाइन भए र टिकटकमा त्यो मन पराइए गीत चलाउने माध्यम त्यही बन्न सक्ने दुर्गेश बताउँछन् । “बीचबीचमा गीतको भिडियो राम्रो र प्रोडक्सन हाई भएर चलेको होइन, त्यो जम्मा ३० हजारको भिडियो हो,” दुर्गेश भन्छन्, “त्यो गीत नै मन परेर चलेको हो । दुस्मन हेरेको हेर्यै पनि दर्शकश्रोतालाई क्यास गरेकाले चलेको हो ।”
यही गीत चल्दा हाल दुर्गेशलाई स्टेज कार्यक्रममा भ्याइ नभ्याइ छ । महँगो पारिश्रमिक दिएर आयोजकले उनलाई बोलाइरहेका छन् ।
पछिल्लो समय निःसन्देह गीत चलाउने माध्यम टिकटक बनेको छ । राम्रा गीत पनि टिकटकमा नचले ओझेलमा परिरहेका छन् ।
राम्रो गीत गाएर मात्र नहुने र त्यसलाई सामाजिक सञ्जालमा कसरी ‘नोटिस’ गराउने भनेर सोच्नुपर्ने समय आएको संगीतकार अर्जुन पोखरेल बताउँछन् । गीत चलाउने ‘साँचो’ नै टिकटक बनेको उनको भनाइ छ ।
पछिल्ला केही घटनाक्रमले पनि त्यो देखाउँछ । प्रतिभा चिनाउने र गीतसंगीत÷सिनेमा चलाउने माध्यम टिकटक बनिरहेको छ ।
‘पूर्ण बहादुरको सारङ्गी’ हेरेर दर्शक रोएको टिकटक ‘भाइरल’ भएपछि यो चलचित्र चल्यो भन्ने धेरैको बुझाइ छ । यो चलचित्र हेरेर एक दर्शक रोएको भिडियोको भ्युज सुरक्षा भट्टराईको टिकटकमा मात्र नौ मिलियनभन्दा धेरै भएको थियो । यही टिकटक नै यो चलचित्र चलाउने माध्यम बनेको धेरैको बुझाइ छ ।
‘बादल वर्षा बिजुली’ दशकौँपछि टिकटकमा भाइरल भएकै कारण चल्यो । ‘फूलबुट्टे सारी’ करिब १२ वर्षपछि टिकटकमा आएकै कारण चल्यो । यस्ता थुप्रै उदाहरण छन्, टिकटकमा छोटो क्लिप्स भाइरल भएकै कारण गीत चलेका छन् ।
यी उदाहरणले गीत चलाउन होस् वा चलचित्र, पछिल्लो समय सामाजिक सञ्जालको अहम् भूमिकालाई अब कसैले नजरअन्दाज गर्न सक्दैन । यसलाई चाहेर होस् वा नचाहेर सबैले स्वीकार गर्नैपर्ने अवस्था छ ।
संगीतकार अर्जुन पोखरेल टिकटक गीत चलाउने माध्यम बनेको सहर्ष स्वीकार गर्छन् । राम्रो गीत बनाएर मात्र नहुने उनी बताउँछन् । त्यो टिकटकमा नोटिस पनि हुनुपर्ने उनको अनुभव छ । अन्यथा, गीत नोटिस नै नहुने उनी सुनाउँछन् । गीतका केही शब्द र लाइन टिकटकमा नचलेसम्म गीत नचल्ने उनको धारणा छ ।
“अहिले गीत चलाउने साँचो टिकटकसँग छ,” अर्जुन भन्छन्, “गीत चल्न टिकटकमा चल्ने शब्द, लाइन र मेलोडी चाहिन्छ नै ।” गीत चल्न र टिक्न केही शब्द र लय टिकटकमा जाने खालको अत्यावश्यक भइसकेको उनको आफ्नै अनुभव छ ।
गीत मात्र होइन, सिनेमा चलाउन पनि कतिपय सन्दर्भमा टिकटकको महत्त्वपूर्ण भूमिका रहने उनी जिकिर गर्छन् । “सिनेमा नोटिस गराउन मद्दत गर्छ । सिनेमाको नाम नोटिस गराउन सहयोग गर्छ,” गीतले सिनेमा चलाउँछ ? भन्ने प्रश्नको जवाफमा अर्जुन भन्छन्, “केही हदसम्म मासमा चलेको गीतले सिनेमा चलाउन पनि सहयोग गर्छ । तर, केही दिनका लागि सिनेमाका गीतले सहयोग गरे पनि समग्रमा चलचित्र नै राम्रो हुनुपर्छ ।”
गायक भूपू पाण्डे पनि गीत चलाउन टिकटकको भर पर्नुपर्ने बताउँछन् । टिकटकलाई नजरअन्दाज गरे आफैँ पछि पर्ने अवस्था रहेको उनको अनुभव छ ।
टिकटकमा के चलिरहेको छ, त्यसलाई ध्यानमा राखेर गीत बनाउनुपर्ने र टिकटकमा चल्ने खालको गीत नबनाए र यसको सहारा नलिएसम्म गीत नचल्ने उनको भनाइ छ ।
“होइन, टिकटकमा जान्नँ, आत्मसन्तुष्टिका लागि मात्रै हो भनेर गीत बनाउने हो भने छुट्टै कुरा हो । होइन भने टिकटकलाई लक्षित गरेर गीत बनाउनुको विकल्प छैन,” उनी प्रस्ट पार्छन् ।
भूपू टिकटकलाई फलो गरेर गीत चलाउने ‘ट्रेन्ड’ विकास भइसकेको बताउँछन् । कमर्सियल गीत बनाउने हो भने टिकटकलाई अनदेखा गरेर सफल हुन नसक्ने अवस्था आइसकेको भूपूको भनाइ छ ।
“म आफैँ पनि अब टिकटकलाई नै लक्षित गर्दै त्यहाँबाट चलाउने गीत बनाउने कि आत्मसन्तुष्टिका लागि मात्रै गाउने भन्ने अन्योलमा छु,” उनी भन्छन्, “आमदर्शक र श्रोतामा पुग्ने हो टिकटकमा नगई सुखै छैन ।”
ठूलो फ्यान फलोइङ भएका कलाकारलाई केही सहज भए पनि आमगायकगायिकालाई टिकटकको भर पर्नुपर्ने अवस्था रहेको उनी सुनाउँछन् । होइन भने जतिसुकै राम्रो गीत गाए पनि ओझेलमा पर्ने अवस्था आएको उनको भनाइ छ ।
“ठूलो फ्यान फलोइङ भएका गायकगायिकालाई केही सहज होला । यो कलाकारको गीत कहिले आउँछ भनेर दर्शकश्रोता पर्खिने गायकगायिका रहेछ भने केही सहज होला,” भूपू अगाडि थप्छन्, “तर, यस्ता गायकगायिकालाई पनि आमअडियन्समा पुग्न टिकटक नै चाहिन्छ ।”
टिकटकमा यो लाइन चल्छ भनेर सुरुमै तयारी गरेर गीत बनाउने ट्रेन्ड रहेको उनी प्रस्ट पार्छन् । यसो नगरिए पछि परिने भूपूको धारणा छ ।
टिकटकमा गीतको छोटो लाइन चलेपछि नै श्रोतादर्शक युट्युबमा जाने गरेको नेपालका सयौँ कलाकारको युटुयुब च्यानलको प्राविधिक पाटो व्यवस्थापन गर्दै आएका राजेन्द्र अर्याल बताउँछन् ।
बजारमा चलेका गीतका धेरै भिडियोको कमेन्टमा टिकटकमा हेरेर आएको भन्ने देखिने गरेको उनको भनाइ छ । कतिपय गायकगायिकाले आफ्नो गीत चलाउन टिकटकरको सहयोग लिने गरेको उनी सुनाउँछन् ।
आफ्नो गीत चलाउन गायकगायिकाले सबैभन्दा धेरै ‘प्रोमोसन’ नै टिकटकमा गर्ने गरेको उनी बताउँछन् । “सुरुसुरुमा त टिकटकरलाई पैसा तिरेर नै आफ्नो गीतको क्लिप्समा टिकटक बनाउन लगाउने गरेको पाइन्थ्यो, अहिले यो अलि कम होला,” राजेन्द्र अगाडि थप्छन्, “अहिले गीत चलाउन भिडियोमा नै टिकटकरलाई खेलाउने चलन छ ।”
अहिले पैसा लिएर टिकटक बनाउने टिकटकर कम रहे पनि फ्यान फलोइङ बढ्ने आशामा राम्रो गीतमा आफैँ टिकटक बनाउने गरेको उनी बताउँछन् ।
टिकटकमा गीत चल्छ कि चल्दैन भनेर सुरुमै परीक्षण गरेर मात्र भिडियो बनाउने र सार्वजनिक गर्नेहरूको संख्या पनि ठूलो रहेको राजेन्द्र सुनाउँछन् । “सुरुमा अडियो टिकटकरमार्फत टिकटकमा ल्याउने, अडियो चल्यो र चल्ने देखियो भने भिडियो बनाएर गीत सार्वजनिक गर्ने चलन पनि छ,” राजेन्द्र भन्छन्, “कति कलाकारको गीत सार्वजनिक हुनुअगाडि नै टिकटरकोमा पुग्छ ।”
युट्युबमा बुस्ट गरेर भ्युज बटुलेका गीतभन्दा टिकटकमा भाइरल भएपछि चलेका गीतको भिडियो राम्रोसँग जाने राजेन्द्र बताउँछन् । “पैसा तिरेर बुस्ट गरिएका भिडियो एक समयमा गएर रोकिन्छन्, त्यसको भ्युज बढ्दैन,” राजेन्द्र भन्छन्, “तर, टिकटकमा चलेर त्यताबाट सर्च गरेर युट्युबमा चलेका गीतको भ्युज निरन्तर रूपमा एकनासले लामो समयसम्म गइरहन्छ ।”
प्राविधिक पक्ष केलाएर हेर्दा पनि टिकटक नै गीत चलाउने माध्यम बनिरहेको पुष्टि हुने गरेको उनी बताउँछन् । टिकटकमा चलेका शब्द नै युट्युबमा सर्च गरेर मानिस गीतको लिंकसम्म पुग्ने गरेको राजेन्द्रको भनाइ छ । त्यसैले गीत चलाउन टिकटकको सहारा लिनैपर्ने अवस्था रहेको उनी सुनाउँछन् ।