site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पशुपतिमा साधुसन्त : गृहस्थी नै त्यागेपछि दुनियाँको के मतलब ?

काठमाडौं । पशुपतिनाथ परिसरमा सोमबार साधुको भेषमा भेटिए, ७८ वर्षीय कनैयाँ दास । गृहस्थी जीवन त्यागी साधु बनेका उनी भारतीय नागरिक हुन् ।  चार दिनअघि मात्रै उनी प्रयागराज महाकुम्भमा स्नान गरेर पशुपति आइपुगे । 

भारतमा उनका तीन छोरा र श्रीमती छन् । ४० वर्षअघि गृहस्थी जीवन त्याग्दै साधुको भेष धारण गरेको उनले सुनाए । 

“तीन छोरासहितको गृहस्थी जीवन त्याग्नु सानो–तिनो त्याग होइन हजुर । सांसारिक माया–मोह त्याग्दै जीवन भगवानका नाममा समर्पण गरिसकेँ । भगवान जप्ने हो, यहीँ बस्ने हो । गृहस्थी त त्यागेँ भने, दुनियाँको के मतलब ?,” उनले भने ।

पशुपति क्षेत्रकै वनकाली मन्दिर परिसरमा भेटिए, भारत झाँसीका ७० वर्षीय हल्केदास त्यागी महाराज ।  उनी १३ वर्षकै उमेरमा घर–परिवार छाडी सन्यासी बनेका रहेछन् । उनी पनि प्रयागराज महाकुम्भमा १३ दिन बसेर पशुपति आइपुगेका हुन् ।

दुनियाँमा कोही पनि मानिसको भाग्यरेखा आफ्नो हातमा नहुने र सबै भगवानकै शरणमा हुने उनले बताए । 

“मनुष्यको भविष्य भगवानकै हातमा हो । त्यसैले सबै त्याग्दै भगवानको शरणमा यस्तो रुप धारण गरेँ । मेरो परिवार भने पनि साथी भने पनि साधु नै हुन् । अरु कोही परिवार र साथी छैनन्,” उनले भने । 

भगवानका नाममा भक्ति गरेर जीवन समर्पण गर्ने उनको बुझाइ छ ।  भारतकै अर्का साधु गंगागिरीले आफूहरूले पैसा नमाग्ने बताए । 

उनी ४० वर्षका भए । उनी भन्छन्, ‘‘अरु मानिसहरूले हीन भावना देखाए पनि साधु जसरी अन्य मानिसहरूले भित्री संसार बुझेका छैनन् ।’’ 

समाजले आफूहरूलाई गलत रुपमा बुझ्न नहुने गिरी बताउँछन् । 

Sadhu_padhupati_SunilPradhan_12khariphoto-(7)-1740379417.jpg
 

“हामी पैसा माग्दैनौँ । जसले जे दिन्छ त्यसैमा खुसी हुनु नै साधु हो । भगवानको नामै काफी छ । कसैले केही पनि दिएनन् भने पनि केही फरक पर्दैन । मेरो साथमा भगवान छन्,” उनले भने, “हामी शिवजीको रुप धारण गरेर यहाँ आइपुगेका हौँ ।” 

उनले आफ्नो थप परिचय नखुलाउने बताए । कलियुगमा स्वयम् भगवान प्रकट नहुने भएता पनि प्रत्येकको मनमा भगवान रहेको पनि उनले बताए । 

६० वर्षीय रामदेव बाबा बैरागी पनि साधुहरूको हुलमा भेटिए । 

Sadhu_padhupati_SunilPradhan_12khariphoto-(8)-1740379418.jpg
 

उनले संसारमा आफ्नो स्वार्थका लागि मात्रै मानिसहरूले काम गरिरहेको बताए । आम मानिसहरूले आफैँले आफैँलाई नचिन्दा यतिधेरै दुःख पाइरहेको उनले सुनाए ।  

भारत र नेपालमा धार्मिक स्थलहरूमा साधना चल्दा आफू पुग्ने गरेको बताउँदै बैरागीले भने, “आत्मकल्याण गरेर आएको हुँ । संसारमा के भइरहेको छ मलाई थाहा छैन । बस् मैले त आफूभित्र ईश्वर भेटेको छु ।” 
बैरागीका अनुसार साधु दुईथरीका हुन्छन् । विवाह नगरी बनिने साधुलाई सन्यासी भनिन्छ भने विवाह भई गृहस्थी त्याग गरेका साधुलाई बाबा भनिन्छ । 

बाहिरी संसारमा चलिरहेको सबै कुराहरू झूट र भ्रम भएको साधुहरूको दाबी छ ।  बाहिरी सबै कुराहरू देखावटी भएको र त्यसमा केही पनि सत्यता नभएको साधुहरूले बताए । 

आफूहरू रुपैयाँ पैसा र रमाइलोका लागि नभइ भगवानको भक्ति र मनुष्य मुक्तिका लागि पशुपति आएको उनीहरूको तर्क छ । 

१२ कक्षासम्म पढेका महोत्तरीका ३३ वर्षीय फुलेन्द्र यादवले आफू शान्तिका लागि साधुको भेष धारण गरेको बताए । “कोही मानिसहरू साधुको भेषमा मागेर हिँडेका छन् । तर, त्यस्तो नभइ भित्री संसार अर्थात् मनको संसार वास्तविक ‘जोगी’ खोज्न आएको हुँ,” यादवले भने । 

साधुसन्तहरूको तह नभए पनि बाहिरका मानिसहरूले वास्तविक भगवानको भक्तिमा लागेका साधुसन्त नचिनेको उनले बताए ।  साधना, त्याग र तपस्याका लागि जो कोही मानिसहरू साधु बन्न नसक्ने पनि उनको भनाइ छ । 
आफूहरूले रुपैयाँ पैसा नमागे पनि स्वेच्छाले दिएको चिजवस्तु रुपैयाँ पैसा सजिलैसँग ग्रहण गरी गुजारा चलाउने बताउँछन् । 

भारतकै श्रीकैलाश दास ६५ वर्षका भए । मनुष्यको जुनीबाट छुटकारा पाउन साधु बनेको बताए । 

Sadhu_padhupati_SunilPradhan_12khariphoto-(4)-1740379417.jpg
 

“मलाई अर्को जुनीमा कुनै पनि जुनी पाउनु छैन । यही जुनीलाई नै मुक्तिको मार्गमा लैजाने हो,” श्रीकैलाशले भने, “भगवानका नाममा जाँड रक्सी खानु पाप हो । म केही पनि खान्नँ । भगवानको नाममा साधना मात्रै गर्छु ।”
भारतबाट आउँदा महाकुम्भमा पाएको दक्षिणाबाट गाडी भाडा तिरेर आएको श्रीकैलाशले बताए । 

उनले यसपटक पशुपतिनाथमा साधुसन्तको कमी हुनुमा सरकारको हात रहेको बताए । आफूहरूलाई भारत सरकारले दक्षिणा खाना पुग्ने गरी दिने तर, नेपालमा त्यस्तो नहुने उनको भनाइ छ ।  आफूहरू दक्षिणाका लागि नभइ भगवानका लागि आएको उनले बताए । 

नेपालमा मात्रै नभएर विश्वभरिकै सानातनी हिन्दूहरू महाशिवरात्रि पर्वलाई विशेष महत्वका साथ हेर्ने र पशुपतिनाथको दर्शन गर्न आउँछन् ।  फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस महाशिवरात्रि पर्वमा हिन्दुहरू नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई पूजा–आराधना गर्छन् ।

शिव भगवान उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रुपमा लिइन्छ । 

यस पर्वलाई दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान शिवको अति प्यारो दिनका रुपमा लिइन्छ । महाशिवरात्रिका दिन ब्रत बस्ने, दूध, धतुरो र बेलपत्र शिव भगवानलाई चढाउने गरिन्छ । 

Sadhu_padhupati_SunilPradhan_12khariphoto-(1)-1740379417.jpg
 

महादेवलाई जाडो हुने जनविश्वासले मठ–मन्दिरमा दाउरा मागेर धुनी जगाई रातभर जाग्राम बस्ने प्रचलन रहेको छ । यसगर्दा यमलोक जान नपर्ने विश्वास रही आएको छ ।  पशुपति क्षेत्र विकास कोषका अनुसार, यसवर्षको शिवरात्रिमा पहिलेभन्दा कम साधुसन्त आएका छन् । 

महाकुम्भ मेला पनि शिवरात्रिकै दिन समापन हुने भएकाले गत वर्षहरूभन्दा ४० प्रतिशत मात्रै साधुसन्त आएको कोषका प्रवक्ता रेवती रमण अधिकारीले बताए । 

“यसपालिको शिवरात्रिमा महाकुम्भको असर देखियो । करिब ४० प्रतिशत मात्रै साधुसन्त आइपुगेका छन् । आउने क्रम पनि जारी नै छ । उहाँहरूलाई स–सम्मान भव्य स्वागत गरेका छौँ । शिवरात्रिका दिनसम्म आउने साधुसन्तको संख्या हेरेर थप व्यवस्था मिलाउनेछौँ,” अधिकारीले भने । 

कोषले महाशिवरात्रिको सबै तयारीका लागि डेढ करोड रुपैयाँ खर्च छुट्याएको थियो । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, फागुन १४, २०८१  ०९:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro