site stats
बाह्रखरी :: Baahrakhari
देश
लगातार झडप र तोडफोडले अशान्त त्रिवि, विद्यार्थीसँग सधैँ निरीह सरकार

काठमाडौं । जब जब नयाँ नियुक्ति र विद्यार्थी भर्नाका बेला हुन्छ, तब–तब त्रिभुवन विश्वविद्यालयमा धर्ना र तोडफोड देखापर्छ । त्यसरी नै गत सोमबार पनि त्रिभुवन विश्वविद्यालयको रजिष्टार र रेक्टर कार्यालयमा तोडफोड भयो । अखिल क्रान्तिकारीका विद्यार्थी र प्रहरीबीच झडप हुँदा विश्वविद्यालय तनावग्रस्त बन्यो । 

झडपमा परी दुईजना विद्यार्थी गम्भीर घाइते र केही सामान्य घाइते भए । ती विद्यार्थीको माग थियो, ‘विश्वविद्यालयमा सञ्चालन हुने कार्यक्रमको शुल्क घटाउनुपर्छ ।’ त्यसो त, तोडफोडका घटना पहिलो होइन ।

गत फागुन २३ गते पनि नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघले रेक्टर कार्यालयमा विज्ञान तथा प्रविधि अध्ययन संस्थानको डीन कार्यालयमा तोडफोड गरेको थियो । त्यसरी नै त्यही विद्यार्थी संगठनले गत जेठ १४ गते तत्कालीन उपकुलपति खड्क केसीको कार्यालयमा तोडफोड गरेको थियो । 

त्यो समयमा स्नातक प्रथम वर्षको भर्ना खुलाउनुपर्ने माग नेविसंघको थियो । तोडफोड भएपछि प्रहरीले विद्यार्थीहरूलाई उपकुलपति कार्यालयबाट बाहिर निकालेको थियो । 

त्रिविका उपकुलपति दीपक अर्यालका अनुसार, त्रिभुवन विश्वविद्यालयमा काम गर्न असहज अवस्था छ । विद्यार्थी संगठनहरूका तोडफोडका कारण असुरक्षा बढेको र दैनिक कार्यमा असर परेको जनाउँदै उपकुलपति अर्यालसहितले सरकारसँग सुरक्षा माग गरेका थिए । हाल त्यहाँ प्रहरी तैनाथ गरिएको छ । 

अर्यालको कार्यकक्षबाहिर २१ दिनयता केही विद्यार्थी अनसन बसेका थिए । कार्यालयमा असुरक्षा बढेपछि अर्यालले काम गर्न पाएका थिएनन् । नौ महिना पहिले सामाजिक कार्य, अन्तर्राष्ट्रिय सम्बन्ध, द्वन्द्व र शान्ति, लैंगिकतासम्बन्धी अध्ययन केन्द्रीय विभागमा गाभिएको थियो । त्यसपछि सो कार्यक्रमहरूको शुल्क घटाउनुपर्ने माग राख्दै आएका थिए । 

अर्यालले भने, “सहज रुपमा काम गर्ने वातावरण अभैm बनेको छैन । समस्या समाधान गर्न हामी तत्पर छौँ । विद्यार्थीहरूका माग सम्बोधनका लागि ‘बटमलाइन’ दिएर पठाएका छौँ ।” 

लामो समयदेखि धर्ना–तोडफोडका कारण नेपालकै पुरानो विश्वविद्यालय बदनाम छ । त्रिविका कर्मचारीहरूका अनुसार, विभागका डाइरेक्टर, डीन र कन्ट्रोलर रिक्त हुने बेला र नयाँ विद्यार्थी भर्ना गर्नुपर्ने समयमा ‘पदीय लबिङ’ का लागि हुलदंगा हुने गर्छ ।

त्यसो त, त्रिवि नियुक्ति पनि दलीय भागबण्डा भइरहेका कारण राजनीति हुनु अनौठो होइन । त्रिविका एक अधिकारीले बाह्रखरीसित भने, ‘‘बाहिर देखाउने एउटा माग हुन्छ, भित्र अर्कैै खेल हुन्छ । स्वच्छ प्रतिस्पर्धाबाट नियुक्ति हुनुपर्र्ने विषयमा राजनीति घुस्छ । सरकारले बारम्बार दोहोरिने तोडफोड घटना रोक्न सक्दैन ।’’

त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति तथा शिक्षाविद् केदारभक्त माथेमाले त्रिविमा भइरहेको गुण्डाराज दलीय भागबण्डाकै कारण भइरहेको बताए । 

“राजनीतिक दलहरूले विश्वविद्यालयलाई स्वतन्त्र रुपमा चल्न दिनुपर्छ, संसारका विश्वविद्यालय जसरी चल्छन् । देशभरिबाट विद्यार्थी पढ्न जाने ठाउँमा तोडफोड र अशान्त हुन राम्रो होइन,” उनले भने । 

त्रिविलाई दलीय भागबण्डा र चलखेलबाट बाहिर निकाल्नुपर्ने उनको तर्क छ । “त्रिविलाई दलीय भागबण्डा र चलखेलबाट बाहिर निकाल्नुपर्छ । विश्वविद्यालयजस्तो पवित्र ठाउँलाई भर्ती केन्द्र बनाउनु भएन । यी विषयमा केन्द्रित भइ सरकारले सम्झौता गर्नुपर्छ,” माथेमाले बाह्रखरीसित भने ।
 

 

प्रकाशित मिति: बुधबार, साउन २८, २०८२  १७:५७
प्रतिक्रिया दिनुहोस्