site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank

विश्वभर वित्तीय लेनदेनमार्फत आपराधिक र आतंकवादी कार्यमा हुने लगानीलाई निरुत्साहित गर्ने उद्देश्यले स्थापित 'फाइनान्सियल एक्सन टाक्सफोर्स (एफएटीएफ)' ले नेपाललाई ‘ग्रे लिस्ट’ मा ओरालेको छ । नेपालको आर्थिक अवस्था विगत आधा दशकदेखि लगातार कमजोर बन्दै गएको परिप्रेक्ष्यमा एफएटीएफको यस घोषणाले नेपालको अन्तर्राष्ट्रिय वित्तिय साखमा थप नकारात्मक असर पर्नेछ । नेपाललाई सहयोग गर्ने राष्ट्रहरूले दिने सहयोगमा थप कडा सर्तहरू लगाउने छन् भने नेपालमा लगानी गर्ने सोच बनाएका अन्तर्राष्ट्रिय कंपनीहरूले आफ्नो लगानीको निर्णयलाई केही पर सार्नेछन् ।

एफएटीएफले नेपाललाई ‘ग्रे लिस्ट’मा राख्नुको उद्देश्य नेपालको वित्तीय क्षेत्रको अनुगमनमा थप कडाइ र सुधार होस् भन्ने हो । तर, यो उद्देश्य प्राप्तिका लागि लिइएको कदम नेपालको आर्थिक विकासमा प्रत्युत्पादक बन्नसक्छ । आर्थिक निराशाको अवस्थामा नेपाललाई थप नकारात्मकतातर्फ धकेल्न खोज्दा अन्तर्राष्ट्रिय उद्देश्य प्राप्त हुनुभन्दा विश्वका ठूला आतंकवादी समूह तथा लागु औषध कारोबारी गिरोहहरूलाई नेपालमा प्रवेश गर्न थप सजिलो हुनसक्छ । 

Dabur Nepal
NIC Asia

यो सूचीमा परेको कारणले सहज ढंगले विदेशी लगानी नआउने र विदेशसँगको व्यापार महँगिएर जाने हो भने वाध्यतावश नेपालको विश्व व्यापार गलत समूहतर्फ आकृष्ट हुनसक्छ । अहिले नै विदेशमा बसेका नेपालीहरूले धेरै शुल्क तिर्न नपरोस् भनेर हुन्डीबाट रकम पठाउँदै आएको अवस्थामा यो सूचई पश्चात बैंकिङ माध्यमबाट रेमिटेन्स पठाउन थप महंगो पर्नसक्छ । त्यसका कारण हुन्डी कारोबार झन् बढेर जाने जोखिम हुन्छ ।

यस्ता ओझेलमा परेका पाटाहरूतर्फ ध्यान नदिई नेपाललाई दण्ड गर्न एफएटीएफले हतार गरेको देखिन्छ । 
गत वर्षको जुन महिनामा 'एसिया प्यासिफिक ग्रुप अन मनी लन्डरिङ'ले नेपाल आएर नेपालको वित्तीय व्यवस्थापनको विषयमा अध्ययन गरेर प्रतिवेदन दिएको थियो । सो प्रतिवेदनका लागि नेपालले नै आफ्नो आर्थिक अवस्था पूनर्मूल्यांकन गर्न आग्रह गरेको हो । त्यस प्रतिवेदनमा नेपालले अधिकांश वित्तीय व्यवस्थापनका सर्तहरू पालना गर्दैगरेको, पालना गर्ने क्रममा रहेको वा केही हदसम्म पालना गरेको भनिएको छ । त्यस प्रतिवेदनका आधारमा पनि नेपाल खरानी रंगको सूचीमा नपर्नुपर्ने हो । 

त्यस्तै, गत डिसेम्बर महिनामा नेपालको 'सोभेरिन कन्ट्री रेटिङ बीबी माइनस' थियो । अन्तर्राष्ट्रियरूपमा ख्याति कमाएको फिच रेटिङले नेपालको वित्तीय अवस्था भारतभन्दा राम्रो र लगानीका लागि उपयुक्त घोषणा गरेको थियो । त्यस्तो अवस्थामा रहेको देश अचानक किन ‘ग्रे लिस्ट’मा पर्न गयो भन्ने प्रश्न स्वभाविक रूपमा उठ्छ । यस विषयमा नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकले जनतालाई सम्झाउनु पर्छ । यस विषयमा अन्तर्राष्ट्रिय जगत सामु हाम्रो देशको सत्य, तथ्य स्पष्ट ढंगले राखिनुपर्छ ।
 
एफएटीएफको ‘ग्रे लिस्ट‘ को सफेद पाटो पनि अवश्य छ । यसले नेपालका नीति निर्मातालाई झक्झक्याएको हुनुपर्छ । नेपालमा कालो धनको प्रवेशलाई रोक लगाउन र सम्पत्ति शुद्धीकरणको विषयमा अझ सशक्त रूपमा ऐन कानुन बनाउन यस सूचीले थप सजग बनाएको छ । नेपाल सरकारले कतिपय कडा कानुन भएका देशमा बैंक खाता खोल्नसमेत नपाउने अवस्था सिर्जना हुनसक्ने र कतिपय व्यापारको भुक्तानी नहुने अवस्था आउनसक्ने हुनाले पनि नेपाल थप सचेत बन्नैपर्ने हुन्छ ।
 
नेपाल पहिले पनि एफएटीएफको खरानी रंगको सूचीमा परिसकेको हो । त्यसबेला सरकारी निकायहरूले इमानदार, सोझा र कुनै पनि तवरले कालो धनको सेरोफेरोमा नपर्ने निकाय र व्यापारिक संस्थालाई दुःख दिएर सम्पत्ति शुद्धीकरण कानुनलाई 'असुली गर्ने' बहाना बनाएका धेरै घटना सार्वजनिक भएका थिए । अब फेरि दुई वर्षसम्म बस्नुपर्ने खरानी रंगको सूचीका कारण सर्वसाधारण व्यक्ति र इमानदार संस्थाले दुःख नपाउन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन १०, २०८१  १४:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro