site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
अरुण तेस्रोको नियति र पाथीभरा केवलकारको सन्दर्भ

मुलुकको समृद्धिको संवाहकका रुपमा उद्योगलाई लिने गरिन्छ । उद्योग, कलकारखानाविना मुलुकको आर्थिक समृद्धिको कल्पनासम्म पनि गर्न सकिन्न ।

नेपालका सन्दर्भमा भने अर्थतन्त्रलाई आड–भरोसा दिन काँध थापिरहेको ‘निजी क्षेत्र’ले राज्य तथा स्थानीय जनताबाट कुन ‘स्केल’मा साथ पाइरहेको छ त भन्ने प्रश्न अगाडि आएको छ । तत्कालीन प्रधानमन्त्री जुद्धसम्शेर राणाले विराटनगरमा स्थापना गरेको ‘बिराटनगर जुट मिल’बाट प्रारम्भ भई पछिल्लो समय पाथीभरामा स्थापना गर्न लागिएको ‘पाथीभरा केवलकार’सम्म आइपुग्दा नेपालको उद्योगले निकै ठूलो आरोह–अवरोह बेहोर्नु परेको इतिहास साक्षी छ ।

२०४६ सालको राजनीतिक परिवर्तनले नेपालको विकासमा एक प्रकारको फड्को नै मार्‍यो । तर, मुलुकमा जुन स्केलमा ‘उद्योगको विकास र विस्तारका निम्ति’ नीतिगत तथा कानुनी सुधार चाहिने हो, त्यो नेपालका उद्योगले प्राप्त गर्न सकेका छैनन् । 

विदेशी लगानीको विषय जोडतोडका साथ उठ्दै गएको छ । तर, अपेक्षाकृत राज्यले सफलता हासिल गर्न सकेको देखिन्न । नेपालभित्रकै उद्यमी हुन् वा वैदेशिक लगानीकर्ता उनीहरूले हेर्ने भनेको लगानीका लागि ‘राजनीतिक स्थीरता, स्थीर लगानी मैत्री नीति र कानुन’ लगानी मैत्री छ वा छैन भन्ने नै हो ।

लगानीकै निम्ति तम्तयार स्वदेशी लगानीकर्ता लगानीका निम्ति जबसम्म निश्चिन्त रहन्नन् अर्थात् जबसम्म राज्यले लगानीमैत्री वातावरण निर्माण गर्न सक्दैन्, तबसम्म ‘स्वदेशी वा विदेशी’ जोकोही पनि लगानीमा आकर्षित हुन सक्ने कुरै भएन । 

पाथीभरा केवलकारको सन्दर्भ

ताप्लेजुङको मुक्कुमलुङमा केवलकार बन्ने भएछ, खुसीको कुराको हो । विश्वकै जनसंख्यामध्ये २० प्रतिशत भारत र २० प्रतिशत चीनमा छ । भारत र चीनबीचमा नेपाल छ ।

नेपालले धार्मिक पर्यटनको विकास गरेर भारत र चीनबाट मात्रै पनि पर्यटक भित्र्याउन सक्दा राष्ट्रिय अर्थतन्त्रमा ठूलो टेवा पुग्न सक्छ । जहाँसम्म पहिचान नै गुम्ने खतराको विषय छ – मुक्कुमलुङका बासिन्दा जो ‘नो केवलकार’ भन्दै छन् उनीहरू एकपटक ‘सांस्कृतिक र पहिचान’कै मनकामनाको दृश्य हेर्दा हुन्छ ।

जहाँ निजी लगानीकर्ताकै लगानीमा दशकौंदेखि निर्वाध केवलकार त्यो पनि निर्विवाद रुपमा सञ्चालित छ । अर्काे कुरा, मन्दिरको पुजा, भेटीको व्यवस्थापन पनि केवलकार कम्पनीले नै लिने जसरी प्रचार गरिएको छ । 

काठमाडौंको बालुवाटारमा अवस्थित ‘नेपाल राष्ट्र बैंक’ नेपालको केन्द्रीय बैंक हो । उक्त बैंकको पूर्व तथा दक्षिण भागबाट सार्वजनिक यातायात सञ्चालन हुने सडक छ, त्यो सडकमा हिँड्नेहरू पक्कै पनि राष्ट्र बैंकको ढुकुटीको हकदार रहन्न ।

त्यसैगरी पाथीभराको भेटी तथा मन्दिरको व्यवस्थापनको जिम्मा लिने निकाय पनि अलग्गै छ । दोस्रो कुरा, मन्दिरको पहिचानको विषय उठाइएको छ, केवलकारको अन्तिम स्टेशन र मन्दिरको दुरी कति टाढा छ भनी हेर्न यो लेखमा प्रस्तुत ‘नक्सा तथा स्केच’नै काफी छ । 

kebalcar-1739876708.JPG
 

कोही कसैको राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक, जातीय वा अन्य खाले स्वार्थमा ‘रोटी सेक्न’ कोही पनि प्रयोग हुनु सुखद पाटो हुँदै होइन ।

राजनीतिक चेतनाका हिसाबले सचेत तथा स्वाभिमानी नागरिकको बसोबास गर्ने थातथलो ‘मक्कुमलुङ’का नागरिकलाई केवलकारको विकासले सांस्कृतिक तथा ऐतिहासिक पहिचान गुम्ने अफवाह फैलाएर भड्काउँदै गरिबीकै दुश्चक्रमा राख्ने प्रयत्न भएको देखिन्छ ।

जुन कुरा समयमै बुझ्न नसक्दा ‘अरुण तेस्रो’को नियति पाथीभराले पनि भोग्न सक्छ । विकट भौगोलिक अवस्थिति, हाई अल्टिच्यूट र ठाडो उकालोले गर्दा वृद्ध, वृद्धा तथा बालबालिका पाथीभरा मन्दिर पुग्न कठिनाई देखिन्छ ।

हेलिकोप्टर चाटर्ड गरी पाथीभरा मन्दिर पुग्ने आर्थिक हैसियत हरेक नेपाली बनिसकेको छैन । यस्तो बेला राष्ट्रिय लगानी त्यो पनि निजी क्षेत्रले अर्बाैं लगाउँदै पर्यटकीय तथा धार्मिकस्थलमा योगदान दिन खोज्दा हुने विरोध हुँदा विकासबाटै वञ्चित हुनुपर्छ ।

निजी लगानीकर्तामाथि दुरुत्साहन

अरुण तेस्रो आयोजनाको प्रारम्भमा निकै चर्काे विरोध भयो र लगानीकर्ता विश्व बैंक हात झिक्न बाध्य भयो । त्यसले नेपालको जलविद्युत् क्षेत्रको इतिहासमा निकै ठूलो क्षति व्यहोर्नुपर्‍यो, मुलुकले लामो समय लोडसेडिङ खेप्नुपर्यो । 

आज पाथीभरामा पनि त्यही दृश्य मञ्चन गरिँदैछ । समाज, अर्थतन्त्र र समृद्धिमाथि नै प्रहार गरी राज्यलाई नै असफल बनाउने प्रपञ्च हो । 

झट्ट हेर्दा एउटा केवलकार कम्पनीलाई ‘केवलकार निर्माण’ गर्न नदिएजस्तो देखिए पनि यो त ‘नेपाल उद्योग वाणिज्य महासंघ’का अध्यक्ष जोडिएको कम्पनी भएकाले समग्र ‘निजी क्षेत्र’लाई नै नेपालमा लगानी गर्न दुरुत्साहन गर्न खोजिनु नै हो । 

यो राजनीतिप्रेरित आन्दोलनमा ‘व्यक्ति, दल, पहिचानवादी वा विभिन्न धर्मको नाममा जो–जो जोडिए पनि’ लगानीकर्तालाई विकर्षण गरेर गरिबी भित्र खेलेर आफ्नो ‘अभिष्ट’ पूरा गर्ने धृष्टताबाहेक अरु केही मान्न सकिन्न ।

लगानीकर्ताले पाथीभरामा लगानी गर्न नपाए मुक्तिनाथ, स्वर्गद्धारी वा आफ्नो लगानी विदेश नै लैजालान्, लगानीकर्ताले आफ्नो पुँजी सुरक्षित हुने ठाँउमा लगानी गर्ने छूट लगानीकर्तालाई छ । 

तर, पाथीभरामै निजी लगानी भित्रिदा हुने विकासको सट्टा भर्नास्वरुप ‘विकास गरेर देखाउने साहस’ विरोधको नाममा पाथीभरा क्षेत्रलाई गरिबीको दुश्चक्रमा लैजानेहरूको होला ?

cablecar-1739876708.JPG
 

देशका जुनै भागमा पनि विकासलाई अवरुद्ध हुनेगरी विरोध गर्नेले कि त विकास गरेर देखाउन सक्नुपर्‍यो, अन्यथा हुँदै गरेको विकासबाट स्थानीय जनतालाई अधिकतम ‘बेनिफिट’ दिलाउन लाग्ने हो, विकास नै अवरुद्ध गर्ने होइन ।

आज मुलुकमा रोजगारी नहुँदा लाखौं युवा विदेश पलायन भए भनेर पनि त्यही आन्दोलनमा भनिन्छ, सँगै पाथीभरा क्षेत्रमा निजी लगानीकर्ताले उद्यम गरेर रोजगारी सिर्जना गर्न खोज्दा पनि विरोधमै ‘ताली पड्काइन्छ’ । यो दोहोरो चरित्रबाट कम्तीमा मक्कुमलुङका स्वाभिमानी बासिन्दा पक्कै पनि बेखबर छैनन् । 

पूर्वाधार निर्माणको चित्र

नेपालको पूर्वाधार निर्माणको अवस्था हेर्दा सार्वजनिक पूर्वाधार निर्माणका कामहरू सरकार आफैँले गर्दै आएको देखिन्छ । राज्यको पुँजीगत खर्च थोरै हुने भएकाले नीतितगत व्यवस्था मिलाएर राज्य स्वयम्ले ‘निजी क्षेत्र’लाई समेत पूर्वाधार निर्माणमा जोड्न सक्नुपर्छ ।

राज्यले नै अर्थात् नेपाल राष्ट्र बैंकको भनाई आधार मान्दा पूर्वाधार भन्नाले उर्जा, उद्योग–कलकारखाना, व्यापार प्रवद्र्धन, कृषि, यातायात, सूचना तथा सञ्चार, शिक्षा, स्वास्थ्य, वातावरण, सहरी विकासलगायत पर्छन् ।

राज्यले निजी क्षेत्रलाई पूर्वाधार क्षेत्रमा साथ लिएर अघि बढ्न जरुरी छ । आज नेपालको वित्तीय प्रणालीमा यथेष्ठ तरलता रहेको अवस्थामा निजी क्षेत्रलाई साथमा लिँदै अघि बढ्दा ठूला आयोजनाहरू निर्माण सम्भव छ ।

तर, आज चौतर्फी रुपमा निजी क्षेत्रको मनोबल खस्काइएकै कारण नयाँ उद्योगधन्दा स्थापना हुन सकेका छैनन् । सञ्चालित उद्योग पनि पूर्ण रुपमा चलेका छैनन् । 

यसका अतिरिक्त पछिल्लो समय निजी लगानीकर्तामा लगानीप्रति वितृष्णा हुनुका पछाडि जग्गाको हदबन्दी, सरकारी भुक्तानीमा हुने ढिलासुस्ती, वनका समस्या, सरकारीतन्त्रलाई घुस नदिई कामै अवस्था छ । सँगै स्थानीयस्तरमा देखापरेको विवादका कारण स्वदेशी तथा विदेशी लगानी भित्र्याउने पाटो कमजोर भएको देखिन्छ, जसका कारण पूर्वाधार निर्माणमा नेपाल पछाडि परेको छ ।

सरकारले एकातिर नेपाली सेनाको कोष, नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष तथा सामाजिक सुरक्षा कोष आदिसँग थन्किएको रकम पूर्वाधार क्षेत्रमा खर्चिन सकेको छैन । अर्कातिर यी निकायसँग जोडेर निजी क्षेत्रलाई समेत समेटेर ‘सरकार–निजी क्षेत्र’ साझेदारीमा पूर्वाधार निर्माण गर्न सक्दा मात्र राष्ट्रिय अर्थतन्त्रमा टेवा पुग्न सम्भव छ । 

नेपालले अब यतिबेला अन्य पर्यटन क्षेत्रसँगै ‘आध्यात्मिक, सांस्कृतिक र पुरातात्विक’ पर्यटनमा जोड दिएर त्यसै अनुरुप भौतिक पूर्वाधारमा लगानी गर्ने वातावरण निर्माण गर्न सक्नुपर्छ । आज करिब १० लाख जनशक्तिलाई रोजगारी दिएको ‘पर्यटन क्षेत्र’ले नै आफ्ना चुनौती पार लगाएर निश्चिन्त बन्न सकेको छैन ।

विदेशी पर्यटकसँगै आन्तरिक पर्यटकसमेत मनग्गे पाएको हाम्रो पर्यटन क्षेत्रबारे मुलुकभित्रै पनि पर्याप्त प्रचारको अभाव छ । हिमाल आरोहण, पवित्र धार्मिकस्थलको भ्रमण, जंगल सफारी, नदीहरूमा हुने साहसिक खेल आदि पर्यटकीय क्षेत्र त हुँदै हुन्, मुलुकको अर्थतन्त्रको आधारशीला पनि हो ।

यो समय नेपालले ‘यातायात, हस्पिटालिटी, कनेक्टीभिटी र रेगुलारिटी’ आदिमा ध्यान पुर्‍याउन सक्दा पर्यटन क्षेत्रको विकासबाट अर्थतन्त्रमा टेवा पुग्ने हो । तर, नेपाल यी र यस्ता विषयमा चुक्दै गएको पाइन्छ । 

स–साना विषयमा पनि राजनीति गरेर ‘पाथीभरा केवलकार’लाई पनि अरुण तेस्रो बनाउने नै प्रवृत्तिले नेपाल रहने भनेको जहाँको त्यही हो । ‘जेनेरेशन’ केन्द्रित पर्यटनलाई अघि बढाउँदै ‘डेस्टिनेशन’ समेत नयाँ–नयाँ खोजी पर्यटन क्षेत्रमा निजी क्षेत्रलाई समेत साझेदारी नगरी सुखै छैन ।

नेपालको प्रशासनिक क्षेत्र, राजनीतिक क्षेत्र, अझ राजनीतिक क्षेत्रमा पनि सत्ताबाट विपक्षमा पुगेको दल आदि पटक्कै जिम्मेवार देखिएन । सानो विषय सिर्जना गरेर आन्दोजन गर्ने प्रवृत्तिले नेपाल असफल राष्ट्रउन्मुख भएको सन्देश प्रवाह गर्छ ।

सरकारसँग निजी क्षेत्र भनिरहेछ, हामीलाई केही दिनु पर्दैन, खुला रुपमा काम गर्ने वातावरण दिए पुग्छ । निजी क्षेत्रको आरोप त्यतिमात्र छैन, उ भन्छ, ‘राज्य संयन्त्रले जहिले पनि निजी क्षेत्रलाई प्रोत्साहन गर्नुको सट्टा खुट्टा मात्र तान्ने काम भएको छ ।’ 

झन् निजी क्षेत्रको खुट्टा तान्न ‘विपक्षीदेखि पहिचानवादीसम्म’ एकै ठाउँमा झैँ देखिएका छन् । निजी क्षेत्रको यो ‘भाष्य’ चिर्न पनि सरकार, विपक्षीलगायत हरेकले सोच्ने बेला आएको छ । 

नेपालमा हरेक विषयलाई नचाहिँदो ढंगले उचालेर राजनीति मात्र गर्ने कि देशलाई ‘असफल राष्ट्र हुनबाट’ जोगाउने ? यसैमा नेपाल र नेपालीको भविष्य निर्धारण हुन पुग्छ ।
 

प्रकाशित मिति: मंगलबार, फागुन ६, २०८१  १६:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro