site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
जापानबाट भैरहवा र पोखरामा सिधा उडान गर्न परराष्ट्रमन्त्री राणाको आग्रह 

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवासँग जापानका विदेश राज्यमन्त्री मियाजी ताकुमाले शिष्टाचार भेटवार्ता गरेका छन् ।  आठौँं हिन्द महासागर सम्मेलनमा सहभागिताका लागि ओमनको राजधानी मस्कटमा रहेकी परराष्ट्रमन्त्री राणा र जापानी राज्यमन्त्री ताकुमाबीच सोमबार भेटवार्ता भएको हो ।

भेटका क्रममा नेपाल–जापान सम्बन्धका विविध पक्षहरुका साथै दुई देशबीचको आपसी सम्बन्ध र साझा चासोका विषयमा कुराकानी भएको थियो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

त्यस अवसरमा परराष्ट्रमन्त्री राणाले नेपालको एक प्रमुख दाता राष्ट्रका रुपमा जापानले लामो समयदेखि नेपालको आर्थिक सामाजिक विकासका क्षेत्रमा पुर्याउँदै आएको सहयोगप्रति जापान सरकारलाई आभार व्यक्त गरेकी थिइन् । 

भेटका क्रममा नेपाल र जापानले आगामी वर्ष सन् २०२६ मा दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वार्षिकोत्सव मनाउन लागेका विषयमा कुराकानी भएको थियो । त्यस अवसरमा नेपाल र जापानका तर्फबाट उच्चस्तरीय भ्रमण आदानप्रदान गर्नुपर्ने विषयमा पनि कुराकानी भएको थियो । 

भेटमा नेपाल र जापानले गत बर्षमात्र सीपयुक्त जनशक्तिका विषयमा आगामी पाँच बर्षसम्मका लागि सम्झौता गरेको र यससम्बन्धी कार्यबिधि नेपाल सरकारले पास गरिसकेकाले जापान सरकारको आवश्यक सहयोगबारे कुराकानी भएको थियो ।   

परराष्ट्रमन्त्री राणाले नेपालमा गत सेप्टेम्बरमा आएको भिषण बाढीका कारण विपी राजमार्गमा ठूलो क्षति पुगेकाले त्यसको पुननिर्माणका क्षेत्रमा आवश्यक सहयोगका लागि जापान सरकारसँग आग्रह गरेकी थिइन् ।

राणाले जापान सरकारलाई नेपालको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा विमानस्थलमा जापानबाट प्रत्यक्ष उडानका लागि पनि आग्रह गरेकी थिइन् ।

उनले हाल काठमाडौँ नारिता प्रत्यक्ष उडान रहेकामा जापानबाट भैरहवा उडान गर्न सकिएमा लुम्बिनी जाने जापानी नागरिकलाई सहयोग पुग्ने र यसबाट नेपाल र जापानका बीचमा सांस्कृतिक पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने धारणा व्यक्त गरेकी थिइन् । यस विषयमा अध्ययन गरेर अघि बढ्ने प्रतिक्रिया जापानी मन्त्री मियाजीले दिएका थिए ।
 

प्रकाशित मिति: सोमबार, फागुन ५, २०८१  १३:४९
प्रतिक्रिया दिनुहोस्