site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
प्राकृतिक दृश्यभित्र नायगरा फल्स 

२०८० सालको दसैँ संयुक्त राज्य अमेरिकाको लुइजियाना राज्यको श्रीभपोर्टमा छोरीज्वाइँको निवासमा मनाइयो । हामीले एक महिनाभित्र नेपाल फर्किसक्नुपर्ने थियो । पहिलोपटकको भ्रमण, त्यसमा पनि छोटो बसाइ । केही दिनका लागि, केही स्थानको भ्रमणको तालिका बनाएर हामी श्रीभपोर्टबाट कार्तिक १० गते तदनुसार २७ अक्टुबर, २०२३ मा टेक्ससको ड्यालसतर्फ यात्रा गर्ने योजना बनायौँ ।

बेलुकाको पाँच बजे निस्क्यौँ हामी घरबाट । तीन घण्टाको यात्रा, बाटामा धेरै पानी पर्‍यो । बाटो नै जलाम्य भयो । तोकिएको गतिभन्दा कममा गाडी चलाउन पनि नहुने र बढी गतिमा चलाउन बर्सातका कारणले असजिलो हुने । तर, ज्वाइँ डा. निराजन रेग्मीले हडबड नगरी एकनासले गाडी चलाइरहनुभयो ।

राति ८ बजे हामी अरबिन पुग्यौँ । अगाडि नै एउटा एयर बीएन्डबीको     सिंगो घर (रेन्टल घर) दुई रातका लागि बन्दोबस्त गरिएको रहेछ, होटेलकै व्यवस्थापनजस्तो । मेरा लागि यस्तो व्यवस्था अनौठो नै थियो । एकतले घर हामीजस्तै आवधिक घुमन्तेहरूको छोटो बसाइका लागि व्यवसायकै रूपमा चलाइँदो रहेछ ।

Dabur Nepal
NIC Asia

बिहान उठेर बाहिरतिर हेर्दा अरबिनको प्लानिङका घर प्रायः सबै एकैनासका देखिन्थे । व्यवसाय गर्ने पनि अनेकअनेक तरिका ! पकाएर खाने व्यवस्थाका लागि भान्सामा सबै सामग्री व्यवस्थित । चुल्हो र अन्य चाहिने स्थायी वर्तनहरू राखिएका हुँदा रहेछन् । चिया, चिनी र कफी पिउने सरसामानचाहिँ राखिएको हुँदो रहेछ । खाद्यवस्तु आफैँले लानुपर्ने । आवश्यकताअनुसार शयनकक्ष, साबुन, हेन्डवास, तौलिया, टिस्युपेपर आदिको उचित व्यवस्थापन । नेपालका दृष्टिले भन्नुपर्दा स्तरीय होटेलको व्यवस्था ।

हामी नेपालीले पनि यस किसिमको व्यवसाय सञ्चालन गर्ने हो भने आयआर्जनको राम्रो बाटो बन्न सक्छ भन्ने लाग्यो मलाई । हाम्रा होटेल तथा पर्यटन व्यवसायीहरूले पक्कै पनि यस किसिमको व्यवस्थापन देखेकै हुनुपर्छ ।

तर, यतातिर ध्यान पुर्‍याएको छैन कि जस्तो लाग्यो । हाम्रोजस्तो सुन्दर मुलुकको प्राकृतिक सौन्दर्यको दृश्यावलोन गर्न आउने पर्यटकका लागि यस किसिमको व्यवसायले पक्कै पनि सजिलो बनाउन सक्ला ।

नेपालमा मात्र बिजुली बत्ती जान्छ भन्ने होइन रहेछ । यहाँ पनि बिहान करिब दुई घण्टा बत्ती निभ्यो । बिहानको चिया पिउन पनि पर्खिनुपर्‍यो । कामविशेषले थप एक दिन बस्नुपर्ने भयो हामीले अरबिनमा । त्यही मेलोमेसोमा, आर्लिंटनमा नेपाली समुदायले मःम फेस्टिभल र सांगीतिक कार्यक्रमको आयोजना गरेको रहेछ – हामी त्यतैतिर गयौँ ।

भन्नलाई मःम फेस्टिभल, तर त्यहाँ खाद्य परिकारका अनेकौँ स्टलहरू राखिएका रहेछन् । टिकट लिएर प्रवेश गरेपछि दिनभरिलाई रमाइलो गर्ने ठाउँ उपलब्ध भयो । खानाका विभिन्न परिकार इच्छाअनुसार खान पाइने । त्यहाँभित्र प्रवेश गरेपछि पो देख्न पाइयो, सानोसानो नेपाल नै रहेछ ! जता हेर्‍यो त्यतै नेपाली । हुन त भारतीय, पाकिस्तानी, बंगलादेशी र अन्य मुलुकबाट आएका मानिस पनि छ्यासमिस रूपमै देखिन्थे ।

अघिल्लो दिनदेखि परेको पानी बिहान एक घण्टा रोकिएको थियो । दिउँसो पुनः पर्न थालेको थियो । सिमसिमे पानीले भिजाउन थालेपछि मानिसहरू तितरबितर हुन लागेका देखिए । कोही भने रुझ्दै भिज्दै, खेल खेल्दै र हातहातमा खानेकुरा र कफीका कप बोकेर कहिले कुन स्टल त कहिले कुन स्टल गर्दै दौडिरहेका देखिन्थे ।

टिकटकमा रुचि राख्नेहरू नाच्दै घुम्दै टिकटक बनाइरहेका देखिन्थे । फेरि पानी कम भएपछि भने कताबाट हो, मान्छेहरू कुँडुलो लागेर ह्वारर्र भित्र पस्न थाले । क्रमशः आगमन वृद्धि भइरहेको थियो ।

मैले पातलोखाले ज्याकेट र ढाकाटोपी लगाएको थिएँ । विभिन्न स्टलमा जाँदा नेपाली नभेटिने कुरै थिएन । अगाडिबाट देख्दा नेपालमा घर कहाँ हो ? भनेर सोध्ने कुरा स्वाभाविक हुन्थ्यो । तर, मेरा लागि आश्चर्यको कुरा के भयो भने, ढाकाटोपी लगाएको देखेर पक्कै नेपाली हुनुपर्छ भनेर मेरो पछाडिबाटै बोलाउँदै आएका नेपाली प्रशस्तै देखिए ।

हाम्रो पहाड धनकुटा, जितपुरमा चार दशकअगाडि औँसी र पूर्णिमा पारेर हाटबजार लाग्थ्यो । यहाँ पनि त्यस्तै र उता मधेसतिरको हप्तैपिच्छे लाग्ने हटियामा पुगेजस्तो अनुभव भयो । भेटकै क्रममा कोही अर्घाखाँचीका पुन थरका हुनुहुन्थ्यो भने कोही पाल्पाका बस्याल र स्याङ्जाका भुसाल थरका पनि । गुल्मी, शान्तिपुरका गौतम अनि वामी, टक्सारका सापकोटा । कोही पाँचथरका निङ्लेखु र काम्बाङ, तेह्रथुमका भट्टराई र ढकाल थरका साथी ।

हामी रमाइलो गरी गफिँदै गर्दा जनकपुरका पनि आइपुगे हाम्रो बगलमा । सबै जातको फूलबारी भनेजस्तै भयो, एकैछिनमा । हामी परस्परमा हाँसीखुसी रमाइलो गर्दै थियौँ ।

त्यही समयमा साथीहरूका साथ अगाडिबाट आउँदै हुनुहुन्थ्यो भक्तपुर, गुन्डुका राजेन्द्र वाग्ले । परैबाट यादव सर, गीता मेडमले नमस्कार गर्दै कहिले आउनुभयो ? कतिन्जेलको बसाइ छ ? कहाँ बस्नुहुन्छ ? सोध्नुभयो ।

त्यहाँको माहोल अझ रमाइलो बन्यो । सानोठिमी क्याम्पसमा अंग्रेजी पढाउने वाग्ले सरसंग अनि त्यहीँ नै नेपाली पढाउने गीता लामिछाने र मेरो तेह्र वर्षपछि भेट हुँदा एउटा फरक किसिमको रमाइलो भएको थियो ।

साथमा रहेका साथीहरूले पनि रमाइलो गर्नुभएको थियो । विदेशी भूमिमा जहाँसुकैका नेपाली भेट भए पनि आफ्नै घरपरिवारका सदस्यहरूसँग भेट भएजस्तै रमाइलो भावुकपनको अनुभूति हुँदो रहेछ ।

वाग्ले सरले नेपाली समुदायिक केन्द्रको नेतृत्व गर्नुभएको रहेछ । यो कुरा सुन्दा खुसी लाग्यो । नेपालीहरू विदेशमा पनि आफ्नो पहिचान कायम राख्न उद्यत रहन्छन् । कुनै न कुनै सामाजिक–सांस्कृतिक कार्यमा संलग्न भइरहन्छन् भन्ने राम्रो उदाहरण मान्नुपर्दछ ।

हामी कार्तिक १२ गते अक्टुबर २९, २०२३ को बिहानै बाल्टीमोरका लागि ड्यालस एयरपोर्टतिर निस्क्यौँ । समयमै बोर्डिङ पास लियौँ । स्टारबक्समा गएर कफी र केक खाँदै उडानको प्रतीक्षामा रह्यौँ । साढे दुई घण्टाको उडानपछि बाल्टीमोर उत्रियौँ ।

त्यहाँबाट नायगरा फल्स जान पुनः अर्को जहाज लिनुपर्ने भएकाले त्यहाँबाट बफल्लो एयरपोर्ट जाने प्रक्रियातर्फ लाग्यौँ । केवल पचास मिनेटको मात्र रहेछ यात्रा । मिलिक्कै पुगेजस्तो लाग्यो मलाई । त्यहाँबाट नायगरा फल्स जान भाडाको गाडीको व्यवस्था ज्वाइँले पहिले नै गर्नुभएको रहेछ ।

गाडी जिम्मा लगाउने व्यक्ति हाम्रो पर्खाइमा नै रहेछन् । गाडीको चाबी लिएपछि हामी लाग्यौँ गन्तव्यतिर । तीस मिनेटको बाटो रहेछ, नायगरा पुग्न । सडकका दुईतिर किनारमा रहेका रुखका पातहरू पहेँलापहेँला, राताराता, सुन्तलासुन्तला, बैजनीबैजनी रङका देखिए । त्यस्तोलाई ‘फल कलर’ भनिँदो रहेछ ।

रुखका पातहरू यति साह्रो परिवर्तित भएको देखिनुमा शरद् ऋतुका समयमा आउने मौसमानुसार रूप परिवर्तनलाई मानिँदो रहेछ । रुखका पातहरूले हरितकणबाट क्रमशः स्वरूप परिवर्तन गर्ने समयमा यो कलर देखिँदो रहेछ । पहिलोपटक देख्न पाएकामा हामीलाई अनौठो अनुभूति भयो ।

त्यस किसिमका प्रजातिका बोटबिरुवा र रुखहरू नेपालमा पाइँदैनन् । हाम्रामा त रुखका पात झर्ने बेलामा कुनैकुनै मात्र अलिअलि पहेँलो भएका देखिन्छन्, तर ती ‘फल कलर’ नै चाहिँ होइनन् । कतिपय त पातहरू सुकिसकेका हुन्छन् । यस किसिमको दृश्य हेर्न टाढाटाढाबाट मानिसहरू आउने गरेको छोरीले सुनाउँदै थिइन् ।

नायगरा फल्स भएको ठाउँ न्युयोर्क राज्यको बफल्लो–नायगरा फल्स मेट्रोपोलिटन क्षेत्र, न्युयोर्कदेखि पश्चिमतर्फ पर्दो रहेछ । हामी बस्ने होटेलको अग्रिम बुकिङ भइसकेकाले सुटकेसहरू थन्क्याउन सजिलो भयो । गाडी पार्किङ गर्दै गर्दा त्यहाँको सुन्दरताले लोभ्यायो हामीलाई । बाहिरको दृश्यावलोकन गर्न निस्क्यिौँ तत्कालै ।

न्युयोर्क स्टेटतर्फ हामी छौँ । नायगरा नदीपारितिर क्यानडाको ओन्टारियो पर्दछ । न्युयोर्कको नायगरा र क्यानडाको ओन्टारियोलाई जुम्ल्याहा सिटीका नामले चिनिन्छ । ओन्टारियो, क्यानडाको टोरन्टोबाट दक्षिणपूर्व ६९ किमि (४३ माइल) पर्दो रहेछ ।

वारिजस्तै अग्लाअग्ला गगनचुम्बी भवनहरूले ध्यानाकर्षण गरिरहेका थिए हामीलाइ । तर, त्यता जाने अनुमति थिएन । हामी बसेको ठाउँदेखि दायाँपट्टि आर्क आकारको अग्लो पुल रहेछ । त्यसलाई मितेरी पुल भनिँदो रहेछ ।

हामी नायगराको वरिपरि बनाइएको अत्यन्त सुन्दर रंगीन स्टेट पार्कबाट वरिपरि हेर्दै मनोरञ्जन लिन थाल्यौँ । बेलुकाको समय भएकोले हावा बेजोडले लागिरहेको थियो । तैपनि, हामीले धीत मरुन्जेल फोटा खिच्यौँ । प्रकृतिले हामीलाई काखमा लिएको हो कि हामीले प्रकृतिलाई ! खुसीको सीमा नै थिएन ।

पार्कका सिँढी चढ्दै घुम्दै गर्दा समयले डाँडा काट्यो । त्यहाँको दृश्यावलीको अवलोकन गर्ने हामीजस्ता थुप्रै आगन्तुकहरू ससाना बालबच्चासहित रमाइलो गर्दै थिए । पोखरा, हेम्जाका युवाहरूले ससानो घुम्तीमा खानेकुरा बेच्दा रहेछन् ।

त्यहाँको स्वाद चाख्नै भए पनि हामीले डोसा र तरकारी खायौँ । भारतीयहरूका पसलहरू देखिन्थे र बस्ने ठाउँ पनि थियो । तर, हामीले नेपालीकै पसल रोज्यौँ । र, उभिएरै भए पनि खायौँ । पसले हामीलाई आफ्नै दाजुभाइजस्तो लागे । तिनको व्यवहार पनि आत्मीय लागेको थियो ।

रातिको खाना खाएपछि पुनः पार्क र छाँगो हेर्न गयौँ । दिउँसोभन्दा बढी रमाइलो लाग्यो, रंगीबिरंगी बत्तीहरूको प्रयोगले । अमेरिकाको न्युयोर्क र क्यानडाको ओन्टारियो सहरबीचको नायगरा फल्समा दुवैतिरबाट बहुरंगी बत्ती बालिँदोे रहेछ । एक छिनमा निलो, पुनः पहेँलो, रातो, बैजनी रङका बत्ती अनि छालबाट उठेको पानीमा ती सबै किसिमका रङका संयोजनले देखिने रातिको सौन्दर्यको बयान गरेर सकिँदैन ।

यो अनुपम र अपरिमेय छ । प्रकृति र मानवनिर्मित कलाको सन्तुलित प्रस्तुतिले अमिट छाप छोड्दछ । भिडियो र फोटा खिच्नमै रमायौँ हामी । यसरी धेरै समय बितायौँ हामीले । र, रातको दश बजे मात्र होटेल फर्कियौँ ।

सुन्दर प्राकृतिक दृश्यका साथै विद्युतीय इन्द्रेणी रङको संयोजनले पर्यटक आकर्षित गर्ने कला पनि मान्नैपर्दछ ।

दोस्रो दिन बिहानै अग्लो लिफ्टबाट नदी किनारमा झर्‍यौँ । टिकट लिएपछि उनीहरूले दिएका बर्सादी लगायौँ र सम्झनाका लागि पुनः फोटा खिचायौँ । डुंगा (बोट) चढ्नेको संख्या धेरै नै थियो । प्रायः धेरै देशका पर्यटकहरू पनि हामी रमाएजस्तै रमाइरहेका थिए ।

यसलाई सबैले महत्त्व दिएको पाइयो । बालक, युवा र ज्येष्ठ नागरिक सबैको उत्तिकै सहभागिता देखिन्थ्यो । त्यहीँकी उमेर ढल्किएकी हँसिली कर्मचारी महिलाले हामीले अनुरोध नगरेकै अवस्थामा फोटो खिचिदिन्छु भनेर मोबाइल मागिन् र विभिन्न कोणबाट फोटा खिचिदिइन् ।

हामीले आभार प्रकट गर्‍यौँ । आतिथि सत्कारको एउटा सकारात्मक पक्ष मान्यौँ हामीले । किन पनि भने, हामीले अनुरोध नगरी हार्दिक व्यवहार देखाउनु एउटा संस्कारको प्रतिविम्बन गराउनु नै हो ।

हामी डुंगा चढेर छतमा पुगेपछि क्यानडापट्टिबाट पनि अघिपछि गर्दै बोट चल्दै गरेको देख्यौँ । हाम्रो बोटको पछिपछि आउने रहेछ । छतमा अर्कै आनन्द भइरहेको थियो । ज्वाइँ र छोरी पहिले पनि पुगिसकेको हुनाले हामीलाई यात्राका बारेमा बताउँदै नआत्तिन र आनन्द लिन हौस्याउँदै हुनुहुन्थ्यो ।

हामीलाई पनि अलौकिक आनन्दको अनुभूति भइरहेको थियो । जतिजति छहरातिर जाँदै थियौँ, त्यतित्यति हाम्रो डुंगाका र पारिपट्टिका डुंगाका यात्रीहरू रमाइरहेका देखिन्थे । नेपालमा पनि अनेकौँ झरनाहरू छन् । ती झरना हेरेर मनोरञ्जन गर्नेको संख्या पनि बढ्दो रूपमा विकसित हुँदै छ । तर, यसमा पानीको घनत्व धेरै रहेको छ ।

हाम्रो यो यात्रामा ज्वाइँ डा. रेग्मी, छोरी डा. सृष्टि लामिछाने, सम्धिनी टीका रेग्मी, मेरी जीवनसाथी गीता लामिछाने र म थियौँ । बायाँ किनारबाट सयौँ मानिस बोकेको डुंगा अमेरिकातर्फबाट झरेको पानीको फोहोरा हुँदै क्यानडातिरबाट झरेको पानीको बहाव भएको फोहोरातिर लाग्यो । जतिजति छाँगोको नजिकै पुगियो, त्यति नै पानीका फोहोराले हान्न थाल्यो ।

त्यो डुंगामा यात्रा गर्ने सबैलाई आनन्दको अनुभूति भइरहेको थियो । सबैजना आधाउधी भिज्दै भए पनि रमाउँदै फोटा खिच्नमै तल्लीन देखिन्थे । हामी पूर्ण रूपमा आनन्द लिनमा मस्त थियौँ । प्राकृतिक रूपमा रहेका दुवैतिरका झरनाले हरेक मान्छेको मनै लोभ्याएको थियो ।

दुवैतर्फबाट हिँडेका जहाज मुख्य झरनामा पुगेर एकार्कालाई पालो दिँदै पर्यटकहरूलाई मनोरञ्जन दिलाइरहेका थिए । लाग्थ्यो, ती दुई डुंगा फरकफरक मुलुकका भए पनि जुम्ल्याहा दाजुभाइजस्ता देखिन्थे । विश्वकै सातौँ आश्चर्यमा पर्ने नायगरा फल्स अमेरिका र क्यानडाको अन्तर्राष्ट्रिय सीमा नदी बनेको छ ।

दुईतर्फबाट आएका पानीका मुहानहरूमा लेक सुपेरियर, लेक मिसिगन, लेक हुरोन र लेक ईरी रहेछन् । अमेरिकाका तर्फबाट अमेरिकन फल्स र ब्राइडल फल्स रहेका छन् । यहाँबाट ६९ देखि ९८ फिटको उँचाइबाट पानी झर्दछ भने यसले चौडाइ १,०५० फिट ओगटेको छ ।

त्यस्तै, घोडाको (हर्ससुज) टापजस्तो आकारको क्यानडाको भूभागबाट १८८ फिटबाट पानी तल झर्दछ र यसको विस्तारित भाग २,५९० फिट रहेको छ । यसरी नायगरा नदीमा जम्मा २.६ मिलियन लिटर अथवा ६ लाख ८५ हजार ग्यालेन पानी प्रतिसेकेन्ड बग्दछ । यो विश्वकै द्रुत गतिमा बग्ने र हलचल पैदा गर्ने अशान्त (टर्बुलेन्ट) झरना मानिन्छ । दुवैतिरबाट आएको पानी नायगरा नदीमा जम्मा हुँदै २१.७ किमि अगाडि बढेर लेक ओन्टारियो पुगेपछि सेन्टलरेन्सका नामबाट बग्दै एटलान्टिक महासागरमा मिल्न पुग्दो रहेछ ।

यति ठूलो मात्रामा पानीलाई विद्युतीय ऊर्जा तथा पिउने पानीको व्यवस्थाका लागि दुवै देशले प्रयोगमा ल्याएको पाइन्छ । पछिल्ला वर्षहरूमा पानीले वर्षको एक फिट गहिरो बनाउँदै लगेको छ भनेर अनुसन्धानकर्ताहरूको भनाइ छ भन्ने पनि सुनियो । तर, यसको वास्तविकता भने थाहा पाउन सकिएन ।

न्युयोर्कतर्फको स्टेट पार्कको रुखको हाँगा समातेर नायगरा नदीतिर हेर्दै थिएँ । नायगरा नदी हतारिएर, उर्लिएर र अशान्त भएर हलचल (टर्बुलेट) उत्पन्न गर्दै लेक ओन्टारियोमा समाहित हुन गतिवान् भएको देख्दा, यस्तै हलचल पैदा गर्ने हाम्रो महाकालीको पानीलाई टनकपुरमा बाँध बाँधेर पानी मात्र नभएर जग्गा नै मिचेर ताल बनाएर पानी लगिरहेछ अर्कोतिर ।

मेरो गड्डाचौकीतिर कुदिरहेछन् कमिला, म हेरेको हेर्‍यै छु यतातिर । मन कति हो कति उद्वेलित हुन्छ, नायगराले अशान्त भएर हलचल (टर्बुलेट) पैदा गर्ने पानीजस्तै । जनता बोलेर के हुन्छ ? गर्ने त माथिकाले हो । मन उम्लिएको छ, नायगराको टर्बुलेट पानीजस्तै भएर ।

म यति बेला सम्झन्छु, कर्णालीको टर्बुलेन्स हुने गरीको बहाव अनि महाकालीको पनि । अरुण, तमोर र अन्य नदीहरू मेरो मस्तिष्कमा बग्न थाले । म सोच्न थालेँ, हामी कहाँ छौँ ? नायगरा नदी त उत्ताउलो ढंगले बगेर सेन्टलरेन्स हुँदै एटलान्टिक महासागरमा समाहित भइसक्यो होला । तर, प्रतिसेकेन्ड सात लाख ग्यालेनभन्दा बढी पानी बगाउने कोसीका शाखा नदीहरू, कालीगण्डकी, कर्णाली, सानी–ठूली भेरी अनि महाकाली बगेर ओरालै लागेका छन् । मैले त तन्द्रामा मात्र सम्झने त हो नि, सम्झनुपर्ने जिम्मेवार मान्छेले नसम्झेपछि कसको पो के लाग्छ र ! म झसंग भएछु, नायगराको चिसो सिरोटेले ।

यो नायगरा फल्स १२ हजार वर्ष पुरानो रहेको मानिएको छ । फादर लुइस हेनेन्पिनले पत्ता लगाएको मानिन्छ । यससँग जोडिएका सुखदका साथै दुःखद घटना पनि रहेका छन् । त्यहाँ ई. १८५० देखि २३ जुलाई २०२० सम्ममा पाँच हजारभन्दा बढी नै लासहरू फेला परेका थिए रे !

त्यस्तै अर्को, दुर्घटनाबाट बचाउन सफल भएको सन्दर्भ पनि रहेछ । विश्वकै धेरै पानीको बहाव भएको झरनामा जुलाई ९, १९६० मा रोजर उडवार्ड नाम गरेको सात वर्षको केटोले केवल जीवन सुरक्षा ज्याकेट (लाइफ ज्याकेट) मात्र लगाएर क्यानडातर्फको हर्ससुज फलतिरबाट बोटिङ गर्न हाम फालेछ । तर, उसकी १७ वर्षकी दिदी डेनेले जादुगरी ढंगबाट समातेर मृत्युका मुखबाट जोगाएकी थिइन् रे !

यहाँ ज्यादै जाडो हुने भएकाले नोभेम्बरदेखि फेब्रुअरीसम्म भ्रमण नगर्नु उचित ठानिएको छ । १३ लाखभन्दा बढी पर्यटकहरू बर्सेनि नायगरा फल्सको भ्रमण गर्न पुग्छन् । त्यसबाट वार्षिक दुई मिलियनभन्दा बढी आयआर्जन हुने रहेछ । यहाँ पानीको तीव्र बहाव भएकाले ट्राउट र साल्मोन जातका माछा पनि पाइने रहेछ ।

यहाँको प्राकृतिक सौन्दर्यावलोकन गर्न विश्वमा नाम चलेका सिनेजगत्का कलाकार, खेलाडीलगायत बेलायतकी महारानी एलिजावेथ र युवराज्ञी डायनाले छोराहरूसहित भ्रमण गरेको उल्लेख पाइन्छ ।

सातौँ आश्चर्यमा पर्ने नायगरा फल्सको परिक्रमापछि, प्राकृतिक सौन्दर्यले भरिपूर्ण नायगरालाई बाइबाई गर्दै हामी निस्क्यौँ वासिङटन डीसीतर्फ । १०÷१५ मिनेटको यात्रापछि लहरै ‘फल कलर’का रुखहरू देख्दा कम्ती रमाइलो भएन फेरि । ताना शर्माले फ्रान्सको यात्रा गर्दा बाटाका किनारमा लगाइएका रुखैरुख, रुखैरुख र बाटैबाटा, बाटैबाटा भनेर लेखेको नियात्राको स्मरण गराउने रुखहरू रहेछन् । आखिर रमाइलो गर्न हिँडेको त हो ! बरु राति नै पुगे पनि बास बस्ने मात्र त हो भन्दै हामी गाडी रोकेर और्लियौँ, त्यो रमाइलो दृश्यमा रमाउन ।

अघिल्लो दिन बफेल्लोबाट नायगरा जाँदा देखेको ‘फल कलर’को दृश्यभन्दा कता हो कता रमाइलो । सबै रुखका सबै पातहरू पूरै फल कलरका । पातहरू भुइँमा झरेर बाक्लै भएका बिस्कुन सुकाएजस्तै भएका । हामी कहीँ बसेर, कतै उभिएर र कतै रुखका पातलाई हातैले छोएर फोटा खिच्यौँ । त्यति बेलाको रमाइलो भोकतिर्खा नै मेटाउने किसिमकै थियो । यद्यपि, हामीले बिहानको नास्ता गरेरै हिँडेका थियौँ ।

छोरी सृष्टिले मूलबाटो छाडेर आग्ले बाटो गइयो भने स्याउ बगैँचामा पुगिन्छ र बोटबाटै टिप्न पाइन्छ भनेपछि त्यतैतिर लाग्यौँ । केही बेर गाडीमा गुडेपछि एउटा स्याउखेती भएको स्थानमा पुग्यौँ । तर, त्यहाँ सबै स्याउहरू टिपिसकेर गुणस्तरअनुसार छुट्टाछुट्टै बाकसमा राख्ने तयारीमा रहेछन् मानिस । त्यहाँका मेक्सिकन कामदारले यहाँ स्याउ टिप्ने काम सकियो भनेर सुनाए ।

उनले अर्को फार्मको नाम समेत बताइदिए । तर, तिनले मैले भनेको भनेर नभन्नू है भन्दै आत्मीयता देखाए । हामी नेपाली, उनी त्यहीँका रैथाने भए पनि उनले गरेको सहृदयी व्यवहारले हामी खुसी भयौँ । धेरैधेरै धन्यवाद भन्दै त्यहाँबाट बिदा भयौँ ।

नभन्दै दुई किलोमिटरमा बाटाकै छेउ भेटियो स्याउ फार्म । हामी स्याउखेती हेर्न आएका र टिपेर पनि लैजान खोजेको भन्यौँ । फार्मकी बहिनीले ‘हुन्छ’ भनिन् । हामीलाई बास्केट दिइन् । फार्म जाने बाटो बताइन् । यो ठाउँको नाम न्युयोर्क राज्यअन्तर्गतको नायगरा काउन्टीको नायगरा लकपोर्ट रहेछ ।

पानी बिरबिर बिरबिर परिरहेको थियो । स्याउका बिरुवालाई राम्ररी ड्याङ बनाएर रोपिएको रहेछ । राम्ररी गोडमेल पनि गरिएको । स्याउ फार्ममा पसेपछि थाहा भयो, यहाँ त स्याउहरू विभिन्न जातिका अनि विभिन्न रङका पाइँदा रहेछन् । हरिया स्याउ पनि त्यतिकै रसिला !

मैले हरिया मुस्ताङे स्याउ पहिलोपटक पोखराको फेवा किनारमा बेच्दै गरेको देखेको थिएँ, ज्यादै रसिलो । मैले त्यो बेला चारपाँच किलो किनेको थिएँ काठमाडौं लैजान । मुस्ताङे स्याउ भनेपछि विश्वास लागेर मैले किनेको थिएँ । नेपालको हावापानी नै राम्रो । हाम्रो स्याउको गुणात्मक पक्ष धेरै राम्रो नै मानिन्छ । यो कुरामा पक्का भइयो ।

त्यहाँका तुलनामा हाम्रोमा उत्पादित स्याउ कति हो कति रसिला, लकपोर्टको चाखेपछि । यसको अर्थ लकपोर्टका स्याउ नमिठा भनेको होइन । अझ जुम्ली स्याउ मिठो रे ! चिसो न चिसो हावापानीको । तर के गर्नु ? प्रत्येक वर्ष हाम्रा स्याउले बजार नपाएको गुनासो कृषकले गर्नुपरिरहेको सुनिन्छ ।

हाम्राले बजार पाउँदैनन् । पाए पनि भाउ पाउँदनैन् । कस्मिरी र फुजी भनेर हत्ते हाल्छौँ हामी पनि । चकलेटी स्याउ कति मिठो ! भन्दै हुरुक्क हुन्छौँ । हामी आफूले आफैँलाई चिन्न नसकेको हो कि स्याउको स्वाद चिन्न नसकेको हो ?

यस सन्दर्भमा बदरीनाथ भट्टराईले भाइलाई लेखेकोे ‘चिठी’ सम्झन पुगेँ । उनले ‘विदेशी बासी स्याउभन्दा स्वदेशी ताजा नास्पाती नै धेरै मिठा’ भनेर गहकिलो सन्देश दिएका छन् । यस सन्देशबाट हामीले सिक्नुपर्ने कुरा धेरै रहेका छन् । हामीले आफ्नै गुणस्तरीय उत्पादनलाई प्राथमिकता दिनैपर्ने हो । किसानहरू सधैँ मर्कामा !

खासमा भन्ने हो भने हाम्रो देशमा कृषि नीति राम्ररी लागु हुन सकेको देखिँदैन । यसबाट किसान मात्र होइन, आमउपभोक्ताहरू नै मर्कामा परेका छन् । चाहेर नचाहेर विदेशी तरकारी र फलफूल खानैपर्ने बाध्यता छ । विषादीरहित फलफूल, तरकारी, दूधजन्य परिकार र खाद्यान्नमा प्रत्याभूति दिन सके नेपाली किसानहरू पनि आत्मनिर्भर बन्न सक्थे भन्ने लाग्दछ ।

विषादीयुक्त फलफूल र तरकारी बेरोकटोक आउँछ बाहिरबाट, हामी रोक्दैनौँ । अनि, किसानले मिल्क होलिडे मनाउँछन् सडकमा, दूध बाहिरबाट आयात गरिएको विरोधमा । ट्रकका ट्रक गोलभेँडा नारायणघाटको नारायणी पुलका मुखमा फ्याँकिन्छन्, किनभने सस्तोमा बाहिरबाटै आउँछन् ! हामी सस्तो खोज्छौँ, स्वास्थ्यतर्फ ध्यान दिँदैनौँ ।

धेरै दिन राख्न नसकिने तरकारीले यसरी बजार मूल्य नै नपाएर किसानहरूको उठिबास लागेको हामी टुलुटुलु हेरिरहेका छौँ । त्यति मात्र हो र, केराको सिंगासिंगै बगैँचा नष्ट गर्न बाध्य भएको स्थिति छ । बन्दा र काउली त कति हो कति, ट्याक्टर लगाएर माटोले पुरेको आफ्नै आँखाले देखेको छु ।

ए, स्याउको प्रसंगमा म त कतातिर पो बहकिए छु ! होचाहोचा रुखका हाँगा भाँचिने गरी ठूलाठूला दाना फलेका । यो देख्दा ‘लोभ लाग्यो मलाई पनि’ गीताले भनिन् ।

लोभै लागेर पनि गर्ने के ? विदेशी भूमि, अर्काको स्याउ बगैँचा । माटो राम्रो हो कि स्याहारसुसार, गोडमेल वा औषधोपचार ? पानी परेकाले आधाउधी भिज्दै स्याउ टिप्दै र खाँदै रमाइलो गर्न थाल्यौँ हामी । चिसो पनि धेरै भएकाले दाँत नै सिरिङ्ङ हुन थालेपछि केको खानु धेरै ! भन्दै छोड्यौँ । वास्तवमा स्याउ दाना पनि ठूलठूलै थिए । अचम्मले सप्रेका । साँच्चिकै अर्ग्यानिक ।

अब धेरै समय बस्न सक्ने स्थिति देखिएन । जाडोजाडो हुन थालेको, त्यसमाथि सिरसिर हावा लाग्नै थागेकाले छिटोछिटो बाहिरिने योजनामा लाग्यौँ । स्याउधनीको उपस्थितिबिना नै हामी पाँचैजनाले सबै जातका स्याउ मिलाएर टिप्दै बास्केटमा हाल्दै गर्‍यौँ, निस्फिक्री ।

हामी फार्म हाउसतिर लाग्यौँ । तौलायौँ । हामीलाई सोचेभन्दा कम मूल्य उपलब्ध गराइन् ती बहिनीले । बिदा भएर निस्कनै लाग्दा स्याउको जुस खुवाइन्, बिनापैसै ।

‘आफ्नै बगैँचाको र कारखानाको त होला नि ? स्वादिस्ट लाग्यो !’ भन्यौँ । उनले ‘होइन, किनेर ल्याएको’ भनिन् ।

अतिथि सत्कार राम्रै पायौँ । यी स्याउबाट जुस, जाम र वाइन बनाउने त होला नि ! भनेर प्रश्न गर्दा मजदुर महँगो भएकाले बनाउँदैनौँ भन्ने जवाफ दिइन् । रुखका स्याउ त्यतिकै छाडिदिने हो भन्दै थिइन् । श्रमिक महँगो भएकाले त्यत्रो बगैँचाका ठूलठूला स्याउ त्यसै छाडिदिने रे ! आश्चर्य लाग्यो ।

उनले दिएको हाते झोलामा स्याउ राखेर धन्यवाद दिएर बिदा भयौँ ।

‘खाना त यतै बाटोतिर कतै खानुपर्ला,’ मैले भनेँ कुरैकुरामा । हामी मूल बाटो छोडेर शाखा सडकतर्फ लागेका थियौँ । ग्यास स्टेसन पनि त्यतातिर देखिएन । नेपालतिर त ससानो बजार भयो कि चियाखाजा पसल भेटिन्थे । यहाँ त के हो के ! यसरी गफिँदै अगाडि बढ्यौँ ।

बिहानको नास्ताले छोडिसकेको थियो । हाम्रो गन्तव्य पेन्सिलभेनिया हुँदै वासिङटन डीसी नै थियो । तर, केही नखाई कसरी सक्नु ? यस्तै आपसमा कुरा गर्दै हामी दगुरिरह्यौँ । नपाएपछि गर्नु के, चित्त बुझाउनुबाहेक अरू के नै गर्न सकिन्थ्यो र !

हामी मूल सडकतर्फ लाग्यौँ । २०औँ किलोमिटर गुडे पनि अत्तोपत्तो थिएन, रेस्टुरेन्टको । दुवैतिर होचाहोचा डाँडा अनि ती डाँडामा विद्युत् उत्पादनका लागि ठूलाठूला पंखा घुमिरहेका देखिन्थे । हामी खोचैखोच केही ओरालोओरालाजस्तो लाग्ने फराकिला बाटामा दौडिइरह्यौँ ।

ओरालिँदै गर्दा फाट्टफुट्ट ‘फल कलर’का पोथ्राहरू भेटिन्थे । हाइवेकै दायाँतर्फ एउटा लाम्चो आकारको ठूलै पोखरी देखियो, दुईतिरका डाँडाका बीचमा । बाटोदेखि केही तलै भएकाले माथि डिलमै उभिएर हेर्‍यौँ, फोटा खिच्यौँ । हातखुट्टा तन्कायौँ । हाम्रो यात्रा कहिले ज्वाइँले र कहिले छोरीले आलोपालो गर्दै गाडी चलाउँदै अघि बढिरहेको थियो ।

मौकाले एउटा ग्यास स्टेसन भेटियो । रेस्टरुम पनि चाहिएकै थियो अगाडिदेखि नै । गाडीले पनि शक्तिवर्धक खान्कीको आवश्यकताको संकेत पहिल्यै दिएको थियो । पिलायौँ । हामीले पनि कफीको चुस्कीसँगै केही खायौँ ।

भात नै खानुपर्ने हामी नेपालीलाई कहाँको सन्तोष हुन्थ्यो र ! केके नपुगेजस्तो भइरह्यो । एकतर्फी बाटो, त्यसमा पनि दायाँतर्फबाट गुडाउनुपर्ने गाडी । बाटैमा रुट परिवर्तन गर्ने सोच बन्यो ।

मूल सडकबाट ३० किमि बायाँ मोडिएपछि विश्वप्रसिद्ध हर्सिस चकलेट कारखाना आउने रहेछ । हामी त्यतै मोडियौँ । फेरिफेरि यहाँ आइपुगिँदैन, आएको बेलामा हेरौँ भन्ने कुरा भयो । हामी बेलुकाको ६ बजे मात्रै हर्सिस पुग्यौँ । तर, त्यो ५ बजे नै बन्द हुने रहेछ । ज्यादै फराकिलो ठाउँ ओगटेको रहेछ । वरिपरि बत्ती बालिएको । पारदर्शी सिसा लगाइएकाले भित्र सबै छर्लंग देख्न सकिने तर चिहाएर हेर्ने कुरा भएन ।

‘नहुनु मामाभन्दा ... निको’ भनेझैँ सम्झाउने बिर्साउने त केही हुन्छ भन्दै फोटा खिचायौँ । यसरी त्यहाँ हामीले एक घण्टा बितायौँ । हामीजस्तै अरू घुमन्तेहरू पनि त्यहाँ थिए ।

हामीले त्यहाँ कुनै सुरक्षाकर्मी देखेनौँ । कसैले पनि बेलुका किन घुम्न आएको फ्याक्ट्रीतिर पनि भनेनन् । कस्तो ढुक्क, त्यत्रो फ्याक्ट्रीमा पनि ! वास्तवमा नियम, कानुन र अनुशासनमा चलेको राम्रो उदाहरण मान्नुपर्दछ यसलाई ।

बेलुकाको खाना खाने व्यवस्थाका लागि नेपाली लोकगायन क्षेत्रका स्थापित तथा चर्चित कलाकार प्रेमराजा महतद्वारा बाल्टीमोरमा सञ्चालित ‘नेपाल हाउस’ पुग्यौँ । नेपालीपनले तान्यो हामीलाई । तर, प्रेमराजा थिएनन् । जहाँ जे भेटिन्छ, त्यही खाएर चित्त बुझाउनुपर्ने स्थिति थियो हाम्रो ।

महतको भन्दा अगाडिको ‘कुमारी रेस्टुरेन्ट’मा गयौँ । नेपाली खाना नै रुचाउने हामीले नेपाली स्वाद भएको खाना खान पाउनु खुसीकै कुरा थियो, त्यो बेला ।

समय गुज्रिसकेको थियो । तर पनि हाम्रो अनुरोध सहज मानिदिए रेस्टुरेन्ट सञ्चालकले । मिठो खाना बनाउने सेफ पोखरा, हेम्जाका त्रिपाठी भाइ र ललितपुर, लुभुकी कर्मचारी बहिनीलाई हृदयतः धन्यवाद दियौँ ।

रातिको ११ बज्नै लागेको थियो, रेस्टुरेन्टबाट वासस्थान डीसीतिर निस्किँदा ।

(लुइजियाना, अमेरिका)

   
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन ३, २०८१  ०६:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro