site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
माओवादीलक्षित ओलीको टिप्पणी : ‘अगतिला तत्व’लाई बोकेर पार लाग्दैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)प्रति लक्षित गर्दै अगतिला तत्वलाई बोकेर पार नलाग्ने बताएका छन् ।

बुधबार नेपाल निजामती कर्मचारी संगठनको १२औँ महाधिवेशन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले हाल नेपाली कांग्रेस र नेकपा एमालेको सरकार रहेको बताउँदै कांग्रेससँगको समझदारीमा एमालेले काम गरिरहेको बताए ।

उनले ‘अगतिला तत्व’लाई बोकेर पार लगाउन नसकिने निष्कर्षपछि नै अहिलेको सरकार निर्माण भएको उल्लेख गरे । महादेवको उदाहरण दिँदै उनले महादेवले काँधमा बोकेर विश्व घुम्ता सतीदेवीलाई पार लगाउन नसकेको भन्दै माओवादी न सतीदेवी न सत्यदेवी भन्दै टिप्पणी गरे ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रत्यक्षबाट जितेको १८ सिटसहित ३२ सिट पाएको र त्यसलाई नै जादुई छडी सम्झिएको बताए । धम्क्याएर पाँच वर्ष नै प्रधानमन्त्री बन्ने भ्रम चिर्दा अहिले बेहाल भएको बताए ।

समाजवादी मोर्चाप्रति लक्षित गर्दै उनले हात्तीको सिकार गर्न १०/१२ वटा स्याल जम्मा भएर वरपर कुदेको टिप्पणी गरे ।

प्रधानमन्त्री ओलीले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्री बन्ने सपना नदेख्न आग्रह गरे । नेपालले प्रधानमन्त्री हुन्छु भनेर कसैको मन भतभती पोलेको छ भन्ने अभिव्यक्ति दिएको भन्दै यस्तो सपना हिँड्दै देखेको की बस्दै गर्दा देखेको भन्दै प्रश्न गरे ।

प्रधानमन्त्री ओलीले भने, "आशा पनि कस्तो हुँदो रहेछ । एकजना नेताले भनेका । म प्रधानमन्त्री हुन्छु भनेर कसैकसैको मन भतभती पोलेको छ । धिक्कार होस् तिनीहरूलाई । एकजनाले भाषण गरेका । ती प्रधानमन्त्री हुने सपना कहाँ देखे, कहिले देखे, कसरी देखे ? हिँड्दा हिँड्दै देखे कि, बसेका ठाउँमा देखे की सुतेको बेलामा देखे की ? यति ढुक्कले भने म प्रधानमन्त्री हुँदैछु भनेर कसैको मन भतभती पोलेको छ । त्यस्तो लाग्छ क्या कहिले कहिले मान्छेहरूमा ।"

यस्तो छ प्रधानमन्त्रीको भनाइ–
अहिले नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सरकार छ । नेपाली कांग्रेसले यो समझदारी राखेको छ । नेपाली कांग्रेसले पनि चेत्यो । हामीले पनि चेत्यौँ । चेत्ने कुरा कहिले कहिले कस्तो हुँदो रहेछ भने शिवजीले समेत मरिसकेकी सतीदेवीलाई काँधमा हालेर घुम्दा घुम्दा, हिँड्दा हिँड्दा, न बाँच्छिन् उनी, यताको मासु खसेको छ, यहाँ पीठ बन्यो । उताको मासु खसेको छ, त्यहाँ पीठ बन्यो । दैलेख पुग्दा त्यहाँ पनि बोकेर गएर खसाएका रहेछन् मासु । यहाँ खसाएको, त्यहाँ गुह्वेश्वरीमा खसाएको । मासु खसिरहेको छ, उनी बोकेर हिँडिरहेका छन् । शिवजीले पनि अगतिला तत्वहरूलाई बोकेर हिँड्दा भएन भने हामीले बोकेर पार लाग्छ । भएका तत्वहरूलाई शिवजीले त बोकेर हिँड्दाखेरी सतीदेवीलाई त बचाउन सकेनन् । यि न सतीदेवी र न सत्यदेवी । यि गैरतत्वहरू । यि हामीले बोकेर पार लाग्छन् ? अनि हामीलाई के ठाने भने आएको छ ३२ नम्बर, जितेको छ १८ सिट । धाक कस्तो छ भने पाँच वर्ष नै खान्छु, जादुई नम्बर छ । जादुई नम्बर भनेको यसलाई धम्क्याउँछु खान्छु, भएन भने उसको काँधमा बुरुक्क उफ्रिएर चढ्छु, त्यो काँधमा चढेर उसलाई धम्क्याएर खान्छु । थाकेँ बोक्न गाह्रो भयो भन्यो भने त्यसो भए ल त ओल्ला घरमा आफू त सधैँ प्रधानमन्त्री । कस्तो मिठो सपना । गजबको मिठो सपना । त्यो सपना भंग भएपछि अहिले त्यस्ता तत्वहरूको बेहाल भएको छ । अहिले एउटा मोर्चा की के बनाएका छन् नि । मोर्चा पनि अलिकति एमाले र कांग्रेस जस्तो गरिखाने खालको बनाउनु नि बनाएपछि । हात्तीको सिकार खेल्छु भनेर १०/१२ वटा स्याल जम्मा भएर वरपर कुदेका छन् । मोर्चा भनेर ।

प्रकाशित मिति: बुधबार, माघ ३०, २०८१  १७:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro