site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विद्यार्थी राजनीतिको नाममा जोशी समूहको ‘अपराध कर्म’, प्रहरी कुट्नुअघि थिए पाँच जाहेरी
Tiktok banner adTiktok banner ad

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले मंगलबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै एउटा सन्देश सुनाए । सन्देश अस्कल क्याम्पसमा पढ्ने एक विद्यार्थीको थियो । विद्यार्थीले पठाएको म्यासेज थियो, “कक्षाकोठामा सधैँ उहाँहरूको दादागिरी चल्थ्यो । तर, अब पुलिसले पनि आँट नगरेपछि कसरी पढ्ने होला र ?’’

ती विद्यार्थीले ड्युटीमा रहेका प्रहरीलाई कुट्ने अमृत साइन्स क्याम्पस (अस्कल) पढ्ने अनेरास्ववियुका नेतालाई सम्बोधन गरेर सांसद खनाललाई यसबारे संसद्मा प्रश्न उठाइदिन अनुरोध गरेका थिए ।

यही म्यासेजपछि खनालले गृहमन्त्री रमेश लेखकलाई कुन नैतिकताले कुर्सीमा बस्ने भन्दै प्रश्न मात्रै गरेनन् जवाफ समेत मागे । गएको बिहीबार अस्कलका अखिल नेता कमलराज जोशीसहितको समूहले ड्युटीमा रहेका दुई प्रहरीमाथि कुटपिट गरेका थिए ।

तर, प्रहरीले जोशीलाई जोगाएपछि प्रहरीदेखि गृहमन्त्रीसम्मको आलोचना हुन थालेको हो । घटनामा संलग्न अन्य पाँचजनामाथि भने प्रहरीले मुद्दा चलाएको छ । जसमध्ये दुईजना पक्राउ परेका छन् ।

आइतबार ताप्लेजुङको फुङलिङ नगरपालिका–१ घर भएका २६ वर्षीय दिनेश सिग्देल र डडेल्धुराको गन्यापधुरा गाउँपालिका–५ का २२ वर्षीय रमेश फुलारालाई काठमाडौं प्रहरीले पक्राउ गरेको हो ।  

दुवैजना अस्कल क्याम्पसको नेकपा (एमाले)को विद्यार्थी संगठन अनेरास्ववियुमा आबद्ध छन् । अन्य तीनजना गोपालबहादुर शाही, नवीन ऐरी, सौजन्य शाहीविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । यद्यपि, उनीहरू भने फरार छन् । प्रहरीमाथि आक्रमण हुँदा उनीहरूसँगै रहेका जोशीलाई भने प्रहरीले उन्मुक्ति दिएको छ ।

पक्राउ परेकाहरूमथि प्रहरी अभद्र व्यवहारको कसुरमा अनुसन्धान थालिएको छ । एमालेको माथिल्लो तहबाट नै जोशीलाई जोगाउन दबाब आएपछि पछि हटेको केही प्रहरी अधिकारी नै स्वीकार गर्छन् । आर्चश्य कुरा के हो भने, जोशीकै आडमा अन्य युवाहरूले प्रहरीमाथि हातपात गरेका हुन् । उनीहरूले प्रहरी वृत्त दरबारमार्गमा कार्यरत प्रहरी हवल्दार जगुलाल चौधरी र जवान नगेन्द्रराज विष्टमाथि कुटपिट गरेका थिए ।

मोटरसाइकलसहित प्रहरीको क्विक रेस्पोन्स टिम (क्यूआरटी)मा खटिएका उनीहरू मध्यराति कुटिएका थिए । जोशीसहितका युवाहरूले उनीहरू सवार मोटरसाइकल समेत तोडफोड गरेका थिए । यद्यपि, प्रहरीले भने सीसीटीभी फुटेजमा जोशीले प्रहरीमाथि हातपात गरेको नदेखिएपछि उनीविरुद्ध मुद्दा नचलाइएको जिकिर गरेको छ । तर, अन्य युवाहरूले प्रहरीले कुटपिट गर्दा जोशीले प्रहरीलाई औँलो ठड्याउँदै चेतावनीकै शैलीमा बोलेको देखिन्छ ।

राजनीतिको आडमा अपराध कर्म
प्रहरीमाथि कुटपिटमा संलग्न हुँदा पनि जोगाइएका जोशीको पृष्ठभूमि आपराधिक देखिएको छ । यसअघि उनीमाथि पटक–पटक मुद्दा चलेको प्रहरीको क्रिमिनल रेकर्ड (सीआरएस)मा  छ । तर, उनी एमालेको विद्यार्थी राजनीतिका कारण जोगिँदै आएका छन् । उनी बझाङकै अर्का विवादित एमाले नेता ऐन महरनिकट छन् ।

बझाङको दुर्गाथली गाउँपालिका–४ का २९ वर्षीय जोशीसहितका समूहले अस्कल क्याम्पसकै विद्यार्थी विकास राईलाई आक्रमण गरेका थिए । उनीमाथि ज्यान मार्ने उद्योगमा २०७९ माघमा जिल्ला अदालतमा मुद्दा नै दायर भएको थियो ।

त्यो बेला समेत उनलाई पक्राउ नपरी प्रतिवादी मात्रै बनाइएको थियो । त्यतिबेला पनि हाल पक्राउ परेका दिनेश र हाल फरार रहेका गोपाल समेत सहभागी थिए ।

त्यो घटनालगत्तै २०८० कात्तिकमा जोशीले पुनः अस्कल क्याम्पसकै प्रमुख डा. लोकबहादुर बरालमाथि आक्रण गरेका थिए । त्यो बेला भने उनी पक्राउ परेका थिए । पछि उनी धरौटीमा छुटे ।

यी बाहेक उनीमाथि लिखत किर्ते र अभद्र मुद्दा समेत छन् । उनलाई भने प्रहरीले उन्मुक्ति दिएको छ । तर, एक प्रहरी अधिकारीले भने पीडित प्रहरीलाई सोधपुछ गर्दा जोशीले आफूहरूमाथि कुटपिट नगरेको बताएका थिए । त्यसैले उनीविरुद्ध मुद्दा नचलेको जनाइएको छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २९, २०८१  १७:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro