काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ पुस मसान्तसम्ममा सरकारको चालु खाता बचत र शोधनान्तर स्थिति घटेको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनअनुसार पुस मसान्तसम्म गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु खाता १४ अर्ब ३९ करोड रुपैयाँले घटेको छ । शोधनान्तर स्थिति २४ अर्ब २६ करोड रुपैयाँले घटेको छ ।
चालु खाता पुस मसान्तसम्म एक खर्ब ४८ अर्ब १७ करोड रुपैयाँले बचतमा छ । गत आर्थिक वर्षको सोही अवधिमा चालु खाता एक खर्ब ६२ अर्ब ५६ करोड रुपैयाँले बचतमा रहेको थियो ।
त्यस्तै, पुस मसान्तसम्म शोधनान्तर स्थिति दुई खर्ब ४९ अर्ब २६ करोडले बचतमा छ । गत आर्थिक वर्षको पुस मसान्तसम्म शोधनान्तर स्थिति दुई खर्ब ७३ अर्ब ५२ करोड रुपैयाँले बचतमा रहेको थियो ।
चालु खाता घाटाले अरू देशहरूबाट खुद सापटी लिइएको भन्ने बुझिन्छ । चालु खाता बचतमा रहे अरू देशहरूलाई खुद सापटी दिइएको बुझिन्छ ।
चालु खाता घाटा सुधार हुँदै जानुले हाल नेपालले अरू देशहरूबाट लिएको खुद सापटी घटाउँदै गएको देखिन्छ ।
राष्ट्र बैंकका अनुसार, निश्चित समयावधिभित्र आवासीय र गैरआवासीय व्यक्ति–संस्थाबीच भएका आर्थिक तथा वित्तीय कारोबारको सारांश नै शोधनान्तर स्थिति हो ।
शोधनान्तर बचत भएमा बाह्य क्षेत्र कारोबारबाट विदेशी मुद्रा आप्रवाह बढ्छ । घाटा भएमा विदेशी मुद्रा देशबाट बाहिर बढी गएको बुझिन्छ ।