site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
व्यापारिक घराना चलचित्रमा आउँछ तर टिक्दैन किन ?

काठमाडौं । नेपाली चलचित्र उद्योगमा कर्पोरेट हाउसको प्रवेश नयाँ होइन । यसअघि पनि नेपाली सिनेमामा कर्पोरेट हाउसको लगानी भइसकेको छ ।

सिनेमा निर्माणमा कर्पोरेट हाउस आउनु मात्र होइन, बाहिरिनु पनि नौलो होइन । एउटा चलचित्रमा लगानी गरेर नदोहोरिने पनि प्रवृत्ति नै बनिसकेको छ । फेरि एकपटक चलचित्र निर्माणमा कर्पोरेट हाउसको प्रवेश भएको छ । चलचित्र ‘परान’मा शेखर गोल्छाले लगानी गर्ने भएका छन् ।

केही कर्पोरेट हाउस र त्यसका मालिकले ‘सेपरेट’मा लगानी गरे पनि कर्पोरेट फर्ममा लगानी नै हुन नसकेको स्वयं चलचित्रकर्मी बताउँछन् । कर्पोरेट हाउस आउने तर नदोहोरिनुको कारण चलचित्र क्षेत्रमा रहेको कमजोर वित्तीय अनुशासन रहेको सिनेकर्मी स्वीकार गर्छन् ।

Dabur Nepal
NIC Asia

चलचित्र निर्माणमा पारदर्शिता कायम गर्न सके धेरै समस्याको समाधान हुने निर्देशक तथा कलाकार नीर शाह बताउँछन् । नदोहोरिनुको अर्को कारण अपेक्षित नाफा नकमाउनु रहेको उनको ठहर छ ।

पहिलो चलचित्रबाट अपेक्षित मात्रामा व्यापार गर्न नसक्नु नै व्यापारिक घरानाले चलचित्र निर्माणमा प्रवेश गरेर पनि निरन्तरता नदिनुको कारण भएको निर्देशक नीरको भनाइ छ ।

“एउटा भेन्चर तय गर्‍यो, तर त्यसबाट नाफा नकमाएपछि फेरि सबै कुरा जुटाएर काम गर्न, पुनः लगानी गर्न पैसा नभएर पनि दोस्रो/तेस्रो भेन्चरमा नगएको हुनसक्छ,” नीर भन्छन्, “केही एउटा बनाएर हेरिहालौँ न कस्तो हुँदो रहेछ, भए पनि ठिकै छ, नभए पनि ठिकै छ भनेर रमाइलोका रूपमा मात्रै लिएको पनि देखियो ।”

कर्पोरेट हाउसले कर्पोरेट फर्मालिटीमा काम गर्न खोज्ने तर त्यस्तो नपाएपछि निरन्तरता दिन नसकेको नीर बताउँछन् । निर्माण कम्पनीको स्थायित्वभन्दा पनि निर्माण कम्पनीको मालिकहरूको स्थायित्वमा प्रश्नचिह्न उठाउन सकिने उनी बताउँछन् ।

उनी कर्पोरेट हाउसहरूको आगमनलाई स्वागत गर्नुपर्ने बताउँछन् । “शेखरजी सिनेमा निर्माणमा आउनुभएको छ । उहाँ गोल्छा ग्रुपको प्रतिनिधित्व गरेर आउनुभएको हो अथवा व्यक्तिगत रूपमा आउनुभएको हो, त्यो त उहाँहरूले नै विस्तारै भन्नुहोला,” नीर अगाडि थप्छन्, “कर्पोरेट हाउसको संलग्नतालाई वेलकम गर्नुपर्छ । कर्पोरेट हाउस भित्रिँदा कर्पोरेट कल्चर पनि भित्रिन्छ । कर्पोरेट हाउसकै कल्चरमा फिल्म प्रोडक्सन हाउसलाई हुर्काउनुपर्छ ।”

अरू देशमा कर्पोरेट हाउसकै रूपमा चलचित्र निर्माण कम्पनीहरू विकास भइरहेको उनी सुनाउँछन् । कर्पोरेट संस्कारमा हुर्किएका कम्पनीहरू दिगो र प्रोफेसनल हुने भएकाले नेपाली चलचित्र उद्योगमा पनि कर्पोरेट कल्चर अनिवार्य भएको उनको भनाइ छ ।

“सिरियस फर्म्याटमा सिनेमामा लगानी गर्न आएका कम्पनीहरू आउट एन्ड आउट कर्पोरेट संस्कारभित्र हुर्किएर जानुपर्छ,” उनी भन्छन्, “त्यसो भयो भने फिस्कल डिसिप्लेन अपनाउन सकिन्छ । कर्पोरेट संस्कारलाई कायम गर्न वित्तीय अनुशासन कायम गर्नुपर्छ । वित्तीय अनुशासन कायम भएपछि धेरै कुरा आफैँ विकास हुँदै जान्छ । यसो भयो भने अनुशासित चलचित्र उद्योग हामीसँग हुन्छ । यसले कर्पोरेट हाउसलाई लगानी गर्न प्रेरित गर्छ ।” 

कलाकार तथा निर्माता दीपकराज गिरी सिनेमाको लगानी जोखिमपूर्ण भएकाले यसमा कर्पोरेट हाउस आकर्षित हुन नसकेको बताउँछन् । “व्यवसायीहरूको उद्देश्य पैसा कमाउनु हो । हरेक लगानीकर्ताले लगानी गरेपछि त्यसको प्रतिफल कति आउँछ भनेर सोच्छ र सोच्नु पनि पर्छ,” दीपक भन्छन्, “जहाँ राम्रो प्रतिफल आउँछ भन्ने लाग्छ, त्यहाँ व्यापारीले लगानी गर्छ ।”

बजारी हल्लाका कारण पनि केही कर्पोरेट हाउस सुुरुमा लगानी गर्न आउने तर वास्तविकता थाहा पाएपछि नदोहोरिने गरेको उनी बताउँछन् । “कुनै व्यवसायीले आफ्नो व्यापारबाट कति कमाउँछन् कसैलाई थाहा हुँदैन, तर पूर्ण बहादुरको सारङ्गीले कति कमायो भन्ने सबैलाई थाहा हुन्छ,” दीपक भन्छन्, “चलचित्र उद्योग प्रचारमुखी छ । दर्शकलाई आकर्षित गर्न केही आँकडा बढाएर पनि भन्ने गरिएको छ । यसको असर पनि परेको हुनुपर्छ । आफैँ आएर लगानी गरेपछि वास्तविकता अनुभव गरेर नदोहोरिएको जस्तो देखिन्छ ।”

पछिल्लो समय कर्पोरेट हाउसको चलचित्र उद्योगमा भएको प्रवेश स्वागतयोग्य भन्दै दीपक अरू क्षेत्र सुस्ताएका बेलामा सिनेमामा लगानी आएको हुन सक्ने टिप्पणी गर्छन् । “डेढ करोड लगानी गरेर ५० करोड कमायो भन्दा यस्तो आश्चर्यजनक कमाइ कतै पनि हुँदैन,” दीपक भन्छन्, “यसले पनि आकर्षित गरेको हुनसक्छ । तर, कारण जे भए पनि कर्पोरेट हाउस आउनु नै राम्रो हो । निरन्तता दिने वातावरण हामीले बनाइदिनुपर्छ ।”

व्यापारिक घराना आयो, पैसा कमाउने मौका यही हो भनेर कसैले पनि सोच्न नहुनेमा उनको जोड छ । आर्थिक अनुशासन कमजोर रहनु नै चलचित्र उद्योगका निम्ति दुर्भाग्य भएको दीपकको ठहर छ । आर्थिक पारदर्शिता मात्र कायम गर्न सके चलचित्र उद्योगमा कर्पोरेट हाउसलाई प्रवेश गराउन र आइसकेका उद्योगीलाई टिकाउन सकिने उनको विश्वास छ ।

निर्देशक प्रचण्डमान श्रेष्ठ नेपाली चलचित्र उद्योगमा व्यापारिक घराना नटिक्नुका पछाडि विभिन्न कारण रहेको बताउँछन् । पहिलो कारण ‘वर्किङ कल्चर’ रहेको उनको ठहर छ ।

नेपाली चलचित्र उद्योगको काम गर्ने तरिका व्यापारिक घरानाको सँग नमिल्नु उद्योगीले सिनेमामा लगानी नगर्नुको मुख्य कारण भएको प्रचण्डमान बताउँछन् । “नेपाली चलचित्र उद्योगमा रहेको काम गर्ने कल्चर र बिजनेस घरानाको कल्चर नै मिल्दैन,” उनी भन्छन्, “चलचित्र उद्योगमा काम गर्ने कल्चर प्रोफेसनल छैन । यो उनीहरूलाई चित्त बुझ्दैन । व्यापारिक घरानाले तत्काल रिटर्न्स खोज्छ । यो मिट नहुनु पनि अर्को पक्ष हो ।”

अझै पनि नेपाली चलचित्रको लगानी मौखिक जानकारीका भरमा चल्ने गरेको उनी सुनाउँछन् । “नेपाली चलचित्र बनाउँदा पारदर्शिता कति छ ? यसले व्यापारिक घराना चलचित्र निर्माणमा प्रवेश गरेर निरन्तरता दिने अथवा नदिने भन्ने निर्धारण गर्छ,” वितरक समेत रहेका निर्देशक प्रचण्डमान अगाडि थप्छन्, “व्यापारमा रिक्स त जुनसुकै बिजनेसमा हुन्छ, सिनेमामा पनि हुन्छ । तर, रिस्क बढी भयो भनेर यो क्षेत्रमा आएर पनि बाहिरिएको होइन ।”

चलचित्र निर्माणलाई कसरी प्रोफेसनल बनाउने भन्नेमा प्रोडक्सन म्यानेजर र प्रोडुसर विशेष गरी उच्च प्रोफेसनल हुनुपर्नेमा उनी जोड दिन्छन् । “कसरी चलचित्रको लगानीलाई पारदर्शी बनाउने भन्नेमा प्रोडुसर र प्रोडक्सन म्यानेजर गम्भीर र प्रोफेसनल हुनुपर्नेछ,” प्रचण्डमान भन्छन्, “यसो गर्न सकियो भने चलचित्र निर्माणमा प्रवेश गरेका व्यापारिक घरानालाई निरन्तरता दिन सकिने र नयाँलाई पनि भित्र्याउन सकिन्छ ।” 

प्रचण्डमानले निर्देशन गरेको चलचित्र ‘भिसा गर्ल’मा सीजी इन्टरटेनमेन्टले लगानी गरेको थियो । तर, यो चलचित्रपछि सीजीले सिनेमा निर्माणलाई निरन्तरता दिएन ।

“अब शेखर गोल्छा र रञ्जीत आचार्य चलचित्र निर्माणमा आउनुभएको छ । उहाँहरूले यसलाई निरन्तरता दिनुहुन्छ भन्ने अपेक्षा छ,” उनी भन्छन्, “रञ्जीत दाइको विज्ञापन एजेन्सी पनि भएकाले उहाँहरूलाई केही सहज पनि होला ।”

नेपाली चलचित्र निर्माणमा व्यापारिक घरानाको प्रवेश नयाँ होइन ‘वासुदेव’मा पनि उद्योगीबाट लगानी भएको थियो । छवि ओझाले निर्माण गरेको चलचित्र ‘हिरो’मा पनि उद्योगीको लगानी थियो । यी दुवै चलचित्रमा उद्योगीले लगानी गरे पनि कर्पोरेट फर्ममा थिएन ।

‘वासुदेव’मा उद्योगी विनोद चौधरीले लगानी गरेका थिए । चौधरी ग्रुपकै लगानी भने यसमा थिएन । व्यक्तिगत रूपमा विनोद चौधरीले केही रकम निर्माणमा सहयोग गरेको नीर शाह बताउँछन् । ‘वासुदेव’मा अरू पनि लगानीकर्ता रहेको उनी स्मरण गर्छन् ।

“उद्योगीको पैसा मात्रै आएर हुँदैन, कर्पोरट सेक्टर आएपछि निर्माण पनि त्यही किसिमले हुनुपर्छ,” निर्देशक मनोज पण्डित भन्छन्, “उद्योगीले चलचित्र निर्माण गर्दा कर्पोरेट हिसाबले भयो भने मात्रै त्यसलाई कर्पोरेट सेक्टरको प्रवेश भन्न सकिन्छ ।” कर्पोरेट फर्ममा चलचित्रमा लगानी हुन नसक्नु नै समस्या भएको उनको ठहर छ ।

लगानी गरेपछि त्यसबाट नाफा खोज्नु स्वाभाविक भएको उनी बताउँछन् । तर, बिजनेसमा लगानी गर्नेबित्तिकै प्रतिफल आउँछ भन्ने निश्चित नहुने कुरा याद गर्नुपर्नेमा उनी जोड दिन्छन् ।

“हरेक प्रोडक्टबाट नाफा हुन्छ नै भन्न सकिँदैन । एउटा चलचित्र बनाएर घाटामा गएपछि त्यो क्षेत्रबाट निस्किने हो भने त्यो कर्पोरेट नै भएन,” मनोज भन्छन्, “एउटा चलचित्रले लगानी उठाएर भनेर नदोहोरिने हो भने त्यो व्यावसायिकता नै होइन ।”

कर्पोरेट हाउसले सिरिजमा चलचित्र निर्माण गर्न सक्नुपर्ने उनी बताउँछन् । संख्या र विधामा विविधता दिन सके मात्र त्यसलाई कर्पोरेट फर्मको लगानी भन्न सकिने उनको तर्क छ ।

“कर्पोरेट हाउसले एउटा प्रोडक्ट घाटामा गयो भने त्यो उद्योग नै बन्द गर्दैन, उस्तै खालका अरू प्रोडक्ट पनि बजारमा ल्याउँछ,” उनी भन्छन्, “चलचित्रमा पनि त्यस्तै हो । एउटाबाट घाटा होला, अर्कोबाट नाफा होला । कर्पोरेट हाउसले कलाकारलाई पनि त्यसैगरी काम लगाउने होला ।”

उद्योगीले चलचित्रमा लगानी गरे पनि सिरिजमा लगानी गर्न नसकेको उनको भनाइ छ । 

चलचित्रप्रतिको सामाजिक न्यारेटिभ नै गलत बनेकाले कर्पोरेट हाउस खुलेर सिनेमा निर्माणमा आउन नसकेको मनोजको बुझाइ छ । “नेसनल न्यारेटिभ नै सिनेमा भनेको समाजको महत्त्वपूर्ण पक्ष हो भनेर नराखेर यसलाई दोस्रो दर्जामा राखिएको छ,” उनी अगाडि थप्छन्, “समाजले नै दोस्रो दर्जामा राखेपछि राज्य प्रशासनले पनि त्यस्तै नजरले हेरिरहेको छ ।”

चलचित्र बनाउनु भनेको जुवामा दाउ लगाउनुसरह हो भन्ने सोच रहेकाले पनि उद्योगीहरू सिनेमा निर्माणलाई निरन्तरता दिन हिचकिचाइरहेको उनको तर्क छ । 

चलचित्र भनेको पुस्तकजस्तै हो, यो शिल्प, शैली र प्रस्तुतिले चल्छ भन्ने अवधारणाको विकास नै हुन नसकेको मनोज बताउँछन् । चलचित्र मिहिनेतले गरिने सामाजिक उत्पादन हो भन्ने अवधारणा विकास नभएसम्म उद्योगीले निर्माणमा निरन्तरता नदिने उनी टिप्पणी गर्छन् ।

“चलचित्र बिग्रेका मान्छेले बनाउने र त्यस्तैले हेर्ने भन्ने समाजमा बुझाइ छ । यो सिर्जनात्मक काम हो भन्ने विषयमा त भर्खर बहस हुँदै छ,” मनोज अगाडि थप्छन्, “चलचित्र सामाजिक उत्पादन हो भन्ने सेन्ट्रल बुझाइ नबनेसम्म सिनेमा निर्माणमा व्यापारिक घरानाले कर्पोरेट फर्ममा लगानी गर्दैन ।” 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १५, २०८१  ११:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro