काठमाडौं । केही दिनयता कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा दिनभरि हुस्सु र कुहिरो लाग्दा जनजीवन प्रभावित भएको छ ।
मधेश प्रदेशको पूर्वी भूभाग (सप्तरी) तथा कोशी प्रदेशको तराई भू–भाग (झापा, मोरङ र सुनसरी)मा केही दिनयता मन्द शीतलहर चलेको हो ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान शाखाले मधेस प्रदेशको पूर्वी भू–भाग तथा कोशी प्रदेशको तराई भू–भागमा मिति आजसम्म शीतलहरको अवस्था नै रहने सम्भावना देखिएको जनाएको छ । छ ।
मधेस प्रदेशको पश्चिमी भू–भाग तथा बाँकी प्रदेशहरूका तराईका भू–भागमा बिहानीपख हुस्सु र कुहिरो लाग्ने र मध्याह्नपछि क्रमिक रूपमा सुधार हुने सम्भावना रहेको पूर्वानुुमान शाखाले जानकारी दिएको छ ।
मौसम पूर्वानुमान महाशाखाले तराईका भू–भागमा हुने हुस्सु–कुहिरो–शीतलहर निरन्तर अनुगमन गरिरहेको र आवश्यकताअनुसार थप विशेष बुलेटिन समेत जारी गर्ने जनाएको छ।
हुस्सु–कुहिरोको थप जानकारीका लागि हरेक दिन बिहान ९ः३० बजे मौसम पूर्वानुमान महाशाखाले जारी गर्ने हुस्सु–कुहिरो–शीतलहर बुलेटिन अनिवार्य हेर्न सुझाव दिएको छ ।
शीतलहरका कारण स्वास्थ्य, यातायात, शिक्षा, कृषि तथा मानिसहरुको दैनिक जीवनमा असर पर्ने हुनाले आवश्यक सतर्कता अपनाउन पनि विभागले अनुरोध गरेको छ ।