site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
गीत चलाउने साँचो बन्यो टिकटक (भिडियोवार्ता)

समकालीनले दुई र चार लाइन स्थायी भएको गीत लेखिरहँदा अर्जुन पोखरेल ६ देखि १० हरफतर्फ लागे ।

किन ? 

केही नयाँ गरौँ र भेरिएसन दिऊँ भन्ने छटपटी भइरहेको थियो । तर, मिल्दै मिल्दैन । जति फरक गर्छु भने पनि मिल्दै मिल्दैन थियो । संरचनाले बाँधी नै हाल्थ्यो । परिणामतः उस्तै मेलोडी । उस्तै फ्लेवर । अर्जुन आफैँलाई पट्यार लागिरहेको थियो ।

९० प्रतिशत गीतकारले पठाउने गीत संरचनागत हिसाबले उस्तै हुन्थे । दुई लाइन स्थायी, चार लाइन अन्तरा । यही संरचनामा गीत लेखिरहेका थिए । संरचनाले नै हातखुट्टा बाँधेपछि उनी छटपटाएर मात्र के नै हुन्थ्यो र !

अर्जुन विदेशी गीत सुन्थे । ती गीतको स्थायी निकै लामो हुन्थ्यो । एक पेज लामो स्थायी हुन्थ्यो । सुन्दा गजब राम्रो लाग्थ्यो । विश्वले मन पराइरहेको थियो । त्यसैले त अर्जुनलाई पनि मन परिरहेको थियो । 

अर्जुनले सोचे– विदेशमा एक पेज लामो स्थायी हुने, हाम्रोमा किन नहुने ? उनलाई त्यस्तो स्थायी कसैबाट आइरहेको थिएन । 

नयाँ गर्ने रहर छ, तर गीत छैन । गीत नयाँ नभएपछि नौलो काम पनि नहुने भयो । पुरानो संरचना र ढाँचामा बाँधिएपछि संगीत पनि त्यस्तै हुने नै भयो ।

आफैँ कस्सिए अर्जुन, गीत लेख्न । उनको चाह थियो, दुई लाइनको स्थायीलाई कम्तीमा दुईपटक मल्टिप्लाई गर्ने । 

‘म यस्तो गीत गाउँछु, जुन प्रेम गीत बनोस्...’ यसमा लामो स्थायी कोरे । अब यसमा कम्पोजिसनको प्यार्टन परिवर्तन गर्न उनलाई ठाउँ भयो । आइरहेको मेलोडीभन्दा फरक गर्ने ठाउँ भयो । स्थायीको मेलोडीमा पनि भेरिएसन दिने ठाउँ भेटियो ।

यस्तै प्रयोग ‘तिमी रोएको पल...’ मा गरे । ‘तिम्रो घरको वरिपरि...’ र ‘नबोली नबोली...’ लगायत गीतमा यस्तै फरक प्रयोग गरे ।

नयाँ प्रयोग गरे, आत्मसन्तुष्टि मिल्यो । त्योभन्दा पनि श्रोताले मन पराए । यसबाट अर्जुनले निष्कर्ष निकाले– मेलोडीमा भेरिएसन चाहिने रहेछ । श्रोतादर्शक हरसमय एउटै प्यार्टन र मेलोडीमा रहिरहन चाहँदैनन् । सुर र तालमा पनि परिवर्तन खोज्दा रहेछन् । स्थायीभित्रकै मेलोडीमा पनि भेरिएसन खोजेको पुष्टि भयो । अन्तरामा त भेरिएसन चाहिन्छ नै, अन्यथा श्रोता र दर्शक हुक हुँदैनन् ।

शब्दबाटै डिजाइन नगरिए मेलोडीमा ठूलो परिवर्तन गर्न नसकिने उनको अनुभव छ । त्यसैले शब्ददेखि नै उनी डिजाइन सुरु गर्छन् । कतिपय गीतकारका गीतमा दुई लाइनको स्थायी आए पनि उनी त्यसलाई बढाएर काम गर्छन् ।

गीत चलाउने साँचो बन्यो टिकटक

गीत चलाउन होस् वा चलचित्र, पछिल्लो समय सामाजिक सञ्जालको अहम् भूमिकालाई अब कसैले नजरअन्दाज गर्न सक्दैन । यसलाई चाहेर होस् वा नचाहेर सबैले स्वीकार गर्नुपर्ने अवस्था छ । चार दर्जनभन्दा बढी सुपरहिट गीत दिइसकेका संगीतकार अर्जुन पोखरेल टिकटक गीत चलाउने माध्यम बनेको सहर्ष स्वीकार गर्छन् ।

राम्रो गीत बनाएर मात्र नहुने उनी बताउँछन् । त्यो टिकटकमा नोटिस पनि हुनुपर्ने उनी सुनाउँछन् । अन्यथा, गीत नोटिस नै नहुने उनको अनुभव छ । गीतका केही शब्द र लाइन टिकटकमा नचलेसम्म गीत नचल्ने उनी बताउँछन् ।

“अहिले गीत चलाउने साँचो टिकटकसँग छ,” अर्जुन प्रस्ट पार्छन्, “टिकटकमा चल्ने शब्द, लाइन र मेलोडी चाहिन्छ नै ।” गीत चल्न र टिक्न केही शब्द र लय टिकटकमा जाने खालको अत्यावश्यक भइसकेको उनले गरेको अनुभव हो ।

गीत मात्र होइन, सिनेमा चलाउन पनि कतिपय सन्दर्भमा टिकटकको महत्त्वपूर्ण भूमिका रहने उनको भनाइ छ । 

गीतले सिनेमा चलाउँछ ? “सिनेमा नोटिस गराउन मद्दत गर्छ । सिनेमाको नाम नोटिस गराउन सहयोग गर्छ,” जवाफमा उनी भन्छन्, “केही हदसम्म मासमा चलेको गीतले सिनेमा चलाउन पनि सहयोग गर्छ । तर, केही दिनका लागि सिनेमाका गीतले सहयोग गरे पनि समग्रमा चलचित्र नै राम्रो हुनुपर्छ ।” 

गायकगायिकाको असली स्वर/क्षमता

अर्जुनले प्रस्ट भन्दै आएको कुरा हो– पछिल्लो समय गला चल्दैन, अटोट्युन चल्छ । अटोट्युन सफ्टवेयर नहुने हो भने हाल चलेका धेरै गायकगायिकाले गीत गाउनै नसक्ने उनी प्रस्ट पार्छन् ।

“एउटै मान्छेले एक दिनमा ८/१० वटा गीत गाउनुपरेको छ । एउटै मान्छेले एकैदिन ७/८ ठाउँमा अन्तर्वार्ता दिनुपरेको छ । एउटै मान्छेले एकैदिन २/३ वटा महोत्सव भ्याउनुपरेको छ,” अर्जुन अगाडि थप्छन्, “उसलाई रियाज गर्ने फुर्सद नै छैन । धेरै सिंगरलाई रियाज गर्ने फुर्सद छैन । जो रियाज गरेर बसेको छ, ऊ पछि परिरहेको छ ।”

गड गिफ्टेड राम्रो टोन र एभरेज गला भएको व्यक्ति हाल चलिरहेको अर्जुनको मूल्यांकन छ । गलाको नगरेर प्रविधिको साधनामा गायकगायिका भर परिरहेको भन्न उनी हिचकिचाउँदैनन् । 

अटोट्युन नलाग्दाको स्वर कस्तो हुन्छ ?

“महोत्सवमा उनीहरूले गाएको हेर्नुस् न, त्यहीँ छ नि जवाफ । प्रस्ट देखिन्छ, प्रविधिले साधना गरिरहेको छ कि गलाले । ती कोको हुन् भनेर मैले नाम भन्नै पर्दैन,” अर्जुन भन्छन्, “स्टुडियोको आउटपुट र त्यही गीत उहाँहरूले स्टेजमा गाएको सुन्नुस्, आकाश–जमिनको फरक छ ।”

स्टुडियोमा एकएक शब्दको टेक लिएर अटोट्युन चलाएर गाउनेको परिणाम नेपाली सांगीतिक क्षेत्रमा देखिइरहेको अर्जुन सुनाउँछन् । पहिलाको जस्तै म्युजिक ट्रयाकमा लाइभ रेकर्डिङ गरिए आजकाल चलिरहेका धेरै गायकगायिका नै नहुने उनको निष्कर्ष छ । 

त्यस्तै गीत चाहियो !

पछिल्लो समय चलचित्रका गीत उस्तैउस्तै भए भन्ने टिप्पणी हुँदै आएको छ । रोमान्टिक अथवा लोकलय, फ्लेवर उस्तैउस्तै हुन्छ, किन ? 

कतिपय निर्देशक र निर्माताले आफूसँग गीत माग्दा कथाको सिचुएन समेत नदिने गरेको अर्जुन स्मरण गर्छन् । ‘म चलचित्र बनाउँदै छु, एउटा गीत चाहियो’ भन्ने गरेको उनी सुनाउँछन् । जबकि, सिनेमाको गीत कथाको सिचुएसनानुसार आउने हो । सिचुएसनानुसार संगीत सिर्जना गर्नुपर्छ । तर, सिचुएसन नै नभएपछि के हुन्छ ? उनी प्रतिप्रश्न गर्छन् । जस्तो गीत संगीतकारले बनाउँछ वा बनाइसकेको छ, त्यस्तै आउँछ । 

चलचित्रका निर्देशक र निर्मातामा संगीतको चेत छैन भनेर उनी सिधै आरोप लगाउन त चाहँदैनन्, तर गम्भीरता कम रहेको भन्न संकोच मान्दैनन् ।

बजारमा चलेको गीत सुनेर मलाई पनि त्यस्तै चाहियो भनेर माग्ने निर्देशक र निर्माताको संख्या ठूलो छ । त्यसरी मागेपछि फ्लेवर पनि उस्तै आउने सम्भावना उच्च हुन्छ । र, त्यही नै भइरहेको अर्जुनको ठम्याइ छ ।

त्यस्तै चाहियो भनेर गाइड नगरे लभ सङमा पनि विविधता दिन सकिने उनी ढुक्कैले सुनाउँछन् । जति बढी प्रयोग र विविधता दिन सक्यो, त्यति नै राम्रो सिर्जनाको जन्म हुन्छ । यही चेतको विकास हुनुपर्नेमा उनी सिनेमा मेकरलाई सचेत गराउँछन् । 

“उस्तै फ्लेवरको गीत मागिन्छ भने त्यसरी मागिएको गीतमा समानता देखिन सक्छ । लोक होस् वा लभ सङ, सेम फ्लेवर देखिन सक्छ,” अर्जुन भन्छन्, “संगीतको अल्पज्ञान छ भनेर म आरोप लगाउन चाहन्नँ । तर, संगीतको डमी सुनेर मेकरले यसको आउटपुट थाहा पाउन सक्नुपर्छ । यो निकै कम छ ।”

प्रकाशित मिति: शनिबार, माघ १२, २०८१  ०८:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro