site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वकिल कुट्ने पाण्डे रविविरुद्ध चुनाव लडेर रविकै समर्थक, अरू को हुन् ?
Tiktok banner adTiktok banner ad

काठमाडौं । जिल्ला अदालतको ढोकामा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई कुटेको आरोपमा प्रहरीले हुम्लाको अदानचुली गाउँपालिका–४ का ३२ वर्षीय महेन्द्र पाण्डे भनिने महानन्द जैसीलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार उनी आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को हुम्ला जिल्ला उपसभापति दाबी गरिरहेका छन् । तर, रास्वपा स्रोतका अनुसार पाण्डे हुम्ला जिल्लाका आधिकारिक उपसभापति होइनन् । 

हुम्लाका आधिकारिक उपसभापति हुन्, लक्ष्मण ऐरी । ऐरीका अनुसार रास्वपाले संगठन विस्तार अभियान नचलाउँदै हुम्लामा रास्वपा समर्थक युवाहरूले आफ्नै सक्रियतामा रास्वपाको हुम्ला जिल्ला कमिटी बनाएका थिए ।

ऐरी भन्छन्, “रास्वपाले औपचारिक रूपमा हुम्लामा संगठन नबनाउँदै हामीहरू आफैँ मिलेर हुम्लामा रास्वपाको संगठन बनाएका थियौँ । त्यतिखेर उहाँ (महेन्द्र पाण्डे)लाई उपसभापति तोकिएको हो ।”

तर, त्यसपछि रास्वपाले औपचारिक रूपमै लक्ष्मण ऐरीलाई हुम्ला जिल्लाको उपसभापतिको जिम्मेवारी दियो । ऐरीलाई उपसभापति तोकेपछि पाण्डे भने आफू नै उपसभापति भएको दाबी गर्छन् । ऐरीका अनुसार पाण्डे अहिले रास्वपाका सदस्य मात्र हुन् ।

रास्वपा स्रोतका अनुसार पाण्डे रास्वपाको केन्द्रीय कार्यालयमा निरन्तर आउजाउ गरिरहन्छन् । “उनी पार्टीका खास मान्छे हुन्,” रास्वपा स्रोत भन्छ, “पार्टीभित्र पनि उनी रविका मान्छे हुन् । रवि भनेपछि हुरुक्कै हुने मान्छे हुन् ।”

पाण्डे अहिले रवि लामिछानेका निम्ति कुटाकुट गर्ने अवस्थामा पुगे पनि उनी १० वैशाख ०८० को उपचुनावमा रवि लामिछानेविरुद्ध नै चितवन–२ चुनाव उठेका थिए । ‘राष्ट्रिय जनमुक्ति पार्टी’बाट १० वैशाख ०८० मा भएको उप–चुनावका क्रममा घर चुनाव चिह्न लिएर रवि लामिछानेविरुद्ध लडेका थिए । उनले चुनावमा जम्मा १८ मत ल्याएका थिए ।

राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष खड्कप्रसाद पालुङवाका अनुसार रास्वपामा जानुअघि पाण्डे जनमुक्ति पार्टीको कर्णाली प्रदेश इन्जार्च थिए । “१० वैशाख ०८० को उपचुनाव हारेपछि उहाँ रास्वपामा जानुभयो,” पालुङवाले भने, “त्यहाँदेखि उहाँ हाम्रो पार्टीमा हुनुहुन्न ।” उपचुनावमा रवि लामिछानेको माहोल र क्रेज देखेपछि उनी लोभिएको हुनसक्ने बताउँछन्, पालुङवा ।

रास्वपा स्रोतका अनुसार उनी पार्टीभित्र पनि अराजक मानिन्छन् । “मान्छे साह्रै अराजक हो । आफैँले आफैँलाई उपसभापति भन्छन् । अस्तिको स्थानीय तह उपचुनावका बेला पनि हुम्लामा गएर झगडा गरेका थिए ।”

रास्वपामा जोडिइसकेपछि पनि पाण्डे माइतिघरमा ‘निलो क्रान्ति जिन्दावाद’ भन्दै धर्नामा बसेका थिए । उनी आफूलाई रास्वपा हुम्ला भ्रष्टाचारविरुद्धको खबरदारी अभियानको संयोजक पनि दाबी गर्छन् ।

रोचक त के भने, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गरेपछि उनले फेसबुकमा भने कुटपिट गर्नुहुँदैन भनेर लामो पोस्ट लेखेका छन् । उनले फेसबुकमा लेखेका छन्, “लोकतन्त्रमा विरोध गर्न मिल्छ, विरोध गर्‍यो भन्दैमा भौतिक आक्रमण गर्नु राम्रो होइन ।”

यसैबीच, वरिष्ठ अधिवक्ता त्रिपाठीलाई कुटेको आरोपमा अर्की एक महिला पनि पक्राउ परेकी छन् । आइतबार (हिजो) झापाको बुद्धशान्ति गाउँपालिका–४ की ५५ कि शीतल राई भनिने सीतादेवी राई छिन् । उनी काठमाडौं महानगरपालिका–३२, शान्तिनगरमा बस्दै आएकी थिइन् ।

उनी काठमाडौं महानगरपालिका वडा नम्बर ३२ की रास्वपा उपसभाति रहेको प्रहरी स्रोत बताउँछ ।

उनलाई पक्राउ गरी प्रहरी वृत्त सिंहदरबारमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी गराएको छ ।

त्रिपाठीमाथि कुटपिट आरोपमा गत शुक्रबार प्रहरीले दोलखाको तामाकोसी गाउँपालिका–१ का ४८ वर्षीय ललितकुमार केसीलाई पक्राउ गरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ७, २०८१  १७:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro