काठमाडौं । युवा व्यवसायी विक्रम लामामाथि ज्यान मार्ने उद्देश्यले आक्रमण गराउने योजनाकारलाई उन्मुक्ति दिँदै जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सोमबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गराएको हो ।
विक्रममाथि आक्रमण गर्ने समूहका सातजनालाई अभियुक्त बनाउँदनै मुद्दा दर्ता गरिएको छ । तर, आक्रमण गराउने योजनाकारमध्येका दुईजना टीका भण्डारी र पदम राईलाई भने उन्मुक्ति दिइएको छ । भण्डारी गण्डकी प्रदेशका तत्कालीन सांसद तथा पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे)का सहयोगी हुन् ।
विक्रममाथि आक्रमण गराउने योजनाकारमा उनीहरूको संलग्नता देखिएपछि काठमाडौं प्रहरी परिसरको टोलीले भण्डारी र राईलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो ।
संगठित रूपमा योजना बनाउँदै विक्रममाथि आक्रमण गराएको भन्दै प्रहरीले उनीहरूविरुद्ध ज्यान मार्ने उद्योग र संगठित अपराध मुद्दाको कसुरमा सजाय हुनुपर्ने राय दिएको थियो ।
तर, जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले भने भण्डारी र राईको हकमा मुद्दा नचल्ने निणर्य र संगठित अपराधसमेत हटाउँदै ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गराएको छ । विक्रममाथि आक्रमण गर्ने समूहमध्येका अधिकांश भने फारर छन् । हाल सातजनाविरुद्ध मुद्दा चलाएको छ, जसमा तीनजनामात्रै पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा गोरखा गण्डकी गाउँपालिका–४ का २८ वर्षीय निश्चल सुनार, नुवाकोट बेलकोटगढी नगरपालिकाका मार्सल भन्ने शैलेन्द्र तामाङ र गोरखा आरुघाट गाउँपालिका–८ का सिजन अधिकारी मात्रै पक्राउ परेका छन् ।
अभियुक्तमध्येका नुवाकोट ककनी गाउँपालिकाका ४० वर्षीय अजय लामा, गोरखा आरुघाटका दीपक बरामु, सुनसरी धरानकी लक्ष्मी राई र धादिङ ज्वालामुखी गाउँपालिका–४ का रमेश सिलवाल भने फरार छन् ।
प्रहरीको अनुसन्धानका क्रममा लक्ष्मी राई, रमेश सिलवाल, टीका भण्डारी र पदम राईकाे याेजनापछि अजय लामासहितका चारजनाले विक्रममाथि ज्यान मार्ने उद्देश्यले आक्रमण गरेको खुलेको थियो ।
तर, भण्डारी र पदम राईविरुद्ध भने जिल्ला सरकारी वकिल कार्यालयले नै मुद्दा नचल्ने निर्णय गर्र्दै सातजनालाई मात्रै अभियुक्त बनाएको छ ।
प्रहरी अनुसन्धानका क्रममा विक्रममाथि आक्रमण गर्ने योजना काठमाडौंको एक होटेलमा लक्ष्मी राई, रमेश सिलवालसहितका अभियुक्तले बनाएको खुलाएको थियो । सोही योजनाकारमा टीका भण्डारी र अजय लामा रहेको समेत प्रहरीको अनुसन्धानले देखाएको थियो ।
पक्राउ परेका अभियुक्त शैलेन्द्र तामाङलेसमेत होटेलमा भएको योजनाबारे हाल फरार रहेका अजय लामा र टीका भण्डारीलाई थाहा होला भन्ने बयान दिएका छन् ।
उनले बयानमा भनेका छन्, “हामीले आर्थिक लाभ लिने उद्देश्यले अजय लामाको निर्देशनमा विक्रममाथि आक्रमण गरेका हौँ । योजनाबारे अजय र टीका भण्डारीलाई थाहा होला ।”
तर, जिल्ला सरकारी वकिल कार्यालयले भने अजय पक्राउ नहुँदै टीका भण्डारीविरुद्ध मुद्दा नचल्ने नियर्ण गरेको छ । प्रहरीको अनुसन्धानमा विक्रममाथि आक्रमण हुँदाको दिन र त्यसअघि समेत पदम राई र आक्रमण गर्नेमध्येका मुख्य योजनाकार अजय लामाबीच २५ पटक टेलिफोन सम्पर्क भएको देखिएको थियो ।
पदम राईले अजयलाई १६ पटक र अजयले नौ पटक फोन गरेको टेलिफोन चार्ट प्रहरीले अनुसन्धान प्रतिवेदनमा समावेश गरेको थियो । अजयबाहेक पदमको पक्राउ परेका निश्चलसित समेत सम्पर्क रहेको देखिएको थियो । टीका र अभियुक्त लक्ष्मी राई तथा रमेश सिलवालबीच समेत पटक–पटक शंकास्पद टेलिफोन सम्पर्क भएको देखिएको प्रहरीले टेलिफोन चार्ट राखेको छ ।
तर, जिल्ला सरकारी वकिल कार्यालयले भने उक्त टेलिफोन चार्टसमेत अभियोजन गर्दा समावेश गरेको छैन । प्रहरीको अनुसन्धानका क्रममा विक्रममाथि आक्रमण गर्ने उद्देश्यले उनीहरूले महिनौँदेखि योजना बनाएको खुलाएको छ ।
विक्रमले चढ्ने गाडी र टोखास्थित उनको निवाससम्म ‘रेकी’ गर्ने गरेको प्रहरीले खुलाएको हो । प्रहरीले उनीहरूले रेकी गर्दाको सीसीटीभी फुटेजहरूसमेत फेला पारेको थियो ।
घरजग्गा व्यवसायी विक्रममाथि कात्तिक ११ गते उनको कार्यालय नजिकै लाजिम्पाटस्थित इनोभा अस्पतालको पार्किङमा अन्धाधुन्ध रड प्रहार गरिएको थियो । यसअघि, विक्रमको गाडीभित्र लागुऔषध राखेर फसाउने योजनासमेत बनाएको खुलेको छ ।
ज्यान मार्ने उद्देश्यले आक्रमणमा परेका विक्रम भाग्यवस बाँचेका थिए । उनी करिब एक महिना अस्पताल भर्ना भएपछि घर फर्किएका थिए । उनको टाउको, हात र खुट्टामा गम्भीर चोट लागेको थियो ।