काठमाडौं । चलचित्र ‘महाराजधिराज’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ ।
पोस्टरमा दुई कलाकार छन् । एकजना राजर्षि पहिरनमा छन् भने अर्को व्यक्ति नग्न अवस्थामा छन् । राजर्षि पहिरनमा रहेका व्यक्तिले शीरमा श्रीपेच र हातमा राजदण्ड बोकेर उभिएका छन्, जसले उनी राजा भएको संकेत गर्दछ ।
यो तस्बिर भित्तामा फ्रेममा राखिएको जस्तो देखिन्छ । चलचित्रको स्लोगन ‘अनेकौं समस्या म देख्छु जगतमा, छ कि दोष हाम्रो आफ्नै रगतमा’ राखिएको छ ।
यो फस्टलुक र स्लोगनले समस्या आफैँमा रहेको बताउँछ । ‘अनेकौं समस्या म देख्छु जगतमा, छ कि दोष हाम्रो आफ्नै रगतमा’ लेखिएको स्लोगनले व्यक्ति स्वयंमा समस्या रहेको संकेत गर्छ । राजा होस् वा नागरिक समस्या हरेक व्यक्तिमा छ भन्ने यो स्लोगन र पोस्टरले प्रष्ट पारेको छ ।
परिच्छेद सेनले निर्देशन गर्ने चलचित्रको कथा पनि उनी स्वयंले लेखेका छन् ।
‘महाराजधिराज’का प्रस्तुतकर्ता विराज विष्ट हुन् । बिराजले यसअघि चलचित्र ‘बुलाकी’ निर्माण गरेका थिए । निर्देशक सेनले ‘प्रेमगञ्ज’ निर्देशन गरेका थिए ।
चलचित्रको निर्मातामा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवी खड्का रहेका छन् । यो चलचित्र दसैँको फूलपातीमा आउने निर्माण टिमले बताएको छ ।