site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्वार्थैस्वार्थ हाबी हुँदा नैतिकता ‘डिक्सनरी’मा मात्रै सीमित

छ–सात वर्षदेखि संङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धी विधेयक ‘पेन्डुलम’ बनेको छ । विधेयकलाई कानुनी रूप दिन सकिरहेको अवस्था छैन ।  यो विधेयक कहिले कुनै स्वार्थ समूहको, कहिले दबाब समूहको, कहिले शक्ति समूहको चपेटामा परेको छ । तर, तिनको स्वार्थबाट यो विधेयक निकाल्न सकिएको अवस्था देखिँदैन ।

यसरी विधेयक थन्किएपछि बाहिरफेर मानिसहरू संसद्, सरकार, कर्मचारीसँग लाज मान्न थालिसकेका छन् । हामीले लाज मान्ने कि नमान्ने ? हामीलाई लागेको थियो कि निजामती सेवालाई नयाँ स्वरूप दिन विधेयक नयाँ ढंगले आउँछ । तर पुरानै ऐनको ‘कपी–पेस्ट’का रूपमा आयो ।

ऐन, कानुन बनाउँदा पारम्परिक हिसाबले हिजोका शब्द के थियो ? त्यही खेलाउने हो भने हामी कहिले नयाँ कुरा गर्न सक्छौं ? २१ औँ शताब्दीमा जहाँ सम्पूर्ण काम ‘डिजिटलाइज’ भइसकेको छ । सरकार ‘पेपरलेस’ हुँदै गएको छ । 

Dabur Nepal
NIC Asia

त्यस्तो अवस्थामा हामी निजामती सेवाको स्वरूप चाहिँ त्यही राणाकालीन ‘लिगेसी’बाटै चलाउने कि नयाँ ढंगले जाने ? यतिखेर पनि आँट नगर्ने हो भने कहिले गर्ने त ? यही प्रश्नमा घोत्लिँदै जवाफ आउने गरी विधेयकलाई कानुनी रूप दिनेतिर सोच्नुपर्छ ।

निजामती सेवा ऐन यतिबेला किन आवश्यक भयो ? विधेयकमा किन आवश्यक भयो भन्ने व्याख्या गर्न सकेको देखिँदैन । हामी यसका ‘अब्जेक्टिभ’मा परास्त भएका छौं । पहिलो त, मुलुक संघीय संरचनामा गइसकेपछि, तीन तहको सरकारको बीचमा तादात्यता, पारस्परिकता र समन्वय, सूचना प्रणाली विकास गर्न निजामती सेवा ऐन चाहिएको हो । 

तीन तहको सरकारबीच तादात्म्यता, पारस्परिकता, सूचना प्रणाली विनिमयका हकमा कुनै पनि प्रावधान उल्लेख छैन । अझै पनि हामीसँग एकात्मक मानसिकताको धङधङी छ । केन्द्र सरकार ठूलो हो त्यसले आदेश गरेपछि सबै सरकार चल्छ भन्ने मान्यता अझै देखिन्छ । मलाई त किन हामी नयाँ ढंगले सोच्न नसकेको होला जस्तो लाग्छ ।

दोस्रो, निजामती सेवा सञ्चालन गर्ने यो ऐनले कर्मचारीको वृत्ति–विकास, सरुवा, बढुवा मात्रै हो कि नागरिक सेवाका निम्ति पनि ? यसले नागरिकलाई सेवा दिने जोड्न सकेको पाइँदैन । 

हामीले खोजेको के हो ? सरुवा, बढुवा सबै मिलाऔं, कर्मचारीतन्त्रलाई खुसी पारौं भन्ने मात्र हो त ? यो विधेयकमा जनता कहाँ छ ? यो ऐनमा जनताकेन्द्रित सेवा–सुविधा प्रवाह गर्ने र जनताको आवाज राज्यको सेवासुविधा प्रवाह गर्ने प्रणालीमा कहाँनेर मुखर हुन्छ ? 

वृत्तिविकास, उत्प्रेरणाका कुरा गर्छौं । उत्प्रेरणा अस्थायी हुन्छ । हामीले उत्प्रेरित होइन कि प्रेरित सेवा बनाउन खोजेको हो । सन् १९८० देखि संसारभरि कसरी यसको काम गराइमा परिवर्तन ल्याउन सकिन्छ र सर्भिस डेलिभरीमा जनताको आवाजलाई समाहित गर्न सकिन्छ भन्ने मूलभूत प्रश्न छोड्यौं ।

निजामती सेवा डेग चल्दैन भनी किन गाली गर्ने ? डेग नचल्नुका कारण हो, जुन जगमा निजामती सेवा ऐनको निर्माण गर्नुपथ्र्यो, त्यो जग अझै छैन । हामीले हावामा निर्माण गरेका छौं । त्यसपछि प्रश्न त उठ्छ । कहाँ छ त जवाफदेहिता ? एउटा राष्ट्रसेवक कर्मचारी जसले जनतालाई सेवा प्रवाह गर्छ उसको जवाफदेहिता कोप्रति ? 

संसारभर हेर्ने हो भने निजामती सेवा प्रक्षेपण योग्य, अनुमानयोग्य हुन्छ । त्यो अनुमान निजामती सेवामा बस्नेले पनि गर्छ, बाहिरकाले पनि गर्छ । हाम्रो मात्रै यस्तो सेवा हो जहाँ प्रक्षेपण गर्न सकिँदैन । किनभने जुनसुकै सरकार बनेपनि पहिलो सरकार फेरिनासाथ सरुवा गर्ने खेती सुरु हुन्छ । 

चार महिनामा चार हजार कर्मचारी सरुवामा परिसकेका छन् । व्यवस्थित गर्ने भए त्यो ढंगको प्रावधान हुनुपर्यो र जवाफदेहितासहित हिँड्नुपर्यो । त्यो काम गर्न नसक्ने कुरै छैन । 

देशको निम्ति गर्ने भन्छौं निजामती सेवा ऐन बनाउँदा स्वार्थ, दबाबका आधारमा सम्झौता गर्दै लान्छौं । के ठीक हो भन्ने नैतिक प्रश्नबाट बन्छ । नैतिकता त ‘डिक्सनेरी’मा मात्रै छ । अन्त त कतै नैतिकता देखिँदैन । नैतिकतालाई कानुनले बाध्नुपर्यो । 

कानुनमै लेखिएको छ, दुई वर्ष नपुगी सरुवा हुँदैन । त्योभन्दा अघि सरुवा गर्नुपर्यो भने सामान्य प्रशासन मन्त्रालयको सहमति लिनुपर्छ । अब त त्यो पनि लिँदैनन् । एक ठाउँमा पुग्न पाएको छैन, फेरि सरुवा पुर्जी पाएका असंख्य उदाहरण छन् ।

सरुवालाई कुनै कुनै अवस्थामा दण्डको हतियार पनि बनाइएको छ । धेरैजस्तो अवस्थामा राजनीति हुने गरेको छ । राजनीति अध्यधिक हुँदा कर्मचारीतन्त्रमा दलीयकरण भयो । दलगत राजनीतिको चंगुलमा यो आफ्नो र त्यो कर्मचारी अर्काको भनी कित्तकाट गर्न लागे । राजनीतिक दलैपिच्छेका युनियन खडा गरी आफ्नो अभिष्ट पूरा गर्न लागे । सबैलाई थाहा छ यो बढ्ता भएको छ, तर कसैले आँट गर्न सक्दैन ।

जुन अंग निष्पक्ष रूपले जनतलाई सेवा दिनुपर्ने हो, त्यही राजनीतिक भयो भने के सेवा दिन्छ ? उसले आफ्नो पक्षलाई मात्र सेवा दिन्छ । त्यसकारण निष्पक्ष कसरी बनाउन सकिन्छ ? एउटा सचिव एक कार्यकालमा १० ठाउँ सरुवा हुन्छ । के हामी अब आँट गर्न सक्छौं ? २ वर्ष नभइ सरुवा गर्न पाइँदैन भनी लेखिएको कानुनी प्रावधान नाघ्नेलाई कारबाही हुन्छ भनी लेखौं त ? कानुनी रूपमा त्यसलाई पालना गर्न वाध्य पारियो भने अर्को परिस्थिति आउँछ । 

नेपालमा कुनै पनि परियोजना तोकिएको खर्चभित्र रहेर पूरा भएको र समयमा पूरा भएको इतिहास छैन । पाँच वर्षको परियोजना छ भने ६ पटक प्रमुख सरुवा हुन्छन् । अब उप्रान्त विकास परियोजनामा खटिने प्रमुख वा इन्जिनियरलाई अवधिभर किन नराख्ने ? उसले काम गर्न सकेन भने कारबाही गर्नुपर्छ । अनि २–३ वर्षमा सरुवा गरेन भने उ पनि हालीमुहाली गर्न थाल्छ । त्यस्तो खराब काम गर्नेमाथि निगरानी गर्नुपर्छ ।  

कार्यसम्पादन सम्झौता गर्ने लहर चलेको छ । तर, करार सम्झौता गर्ने मन्त्री पनि तीन महिनामा खुस्किन्छ, सचिव पनि तीन महिनामै सरुवामा पर्छन् । अनि एक वर्षलाई करार गर्नेलाई कसरी जवाफदेही बनाउने ? कसको अभिलेख कसरी राख्ने ?

तीन महिना त ‘सेटअप’ गर्नै लाग्छ । त्यसैले कार्यसम्पादन भनिरहनै पर्दैन । कार्यसम्पादन गर्ने हो भने सँगै तपार्ईंको दुई वर्ष सरुवा हुनै नसक्ने वाध्यकारी प्रावधान राख्नुपर्छ । यसैका आधारमा मूल्यांकन गरेपछि अर्को सरुवा हुन्छ किन नभन्ने ? 

अर्को, पदावधि हुँदाहुँदै संवैधानिक पदमा नियुक्ति गरिएको छ । अरु मान्छे पाइँदैन र ? कर्मचारीलाई संवैधानिक अंगमा नियुक्तिका निम्ति ‘कुलिङ पिरियड’ २–३ वर्ष राख्नुपर्छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोग, महालेखा परीक्षक, निर्वाचन आयोग रिटायर्ड निजामती कर्मचारीको थलो जस्तो भएको छ । त्यहाँ सक्रिय मान्छे लान सकिँदैन त ? बाहिरका बुद्धिजीवीलाई लानुपर्छ ।

वृत्ति विकासमा दुईवटा प्रावधान छन्, बरिष्ठता–योग्यता । तर यसमा के लागू हुन्छ भन्ने ग्यारेन्टी छैन । धेरै ठाउँमा बरिष्ठता र योग्यतालाई जोडेको छ । बरिष्ठतामा मात्रै जाँदा नयाँपन सिर्जना हुँदैन । मेरो जागिर पाकिराखेको छ, बढुवा समय आएपछि भइहाल्छ भन्ने भएपछि नयाँ सिर्जना गरौं या नयाँ योगदान दिऔं भन्ने हुँदैन । त्यसैले बरिष्ठता र क्षमताकोे मिश्रण हामीले खोज्नुपर्छ । नत्र हामीलाई धोका हुन्छ । 

(पूर्व मुख्यसचिव डा. विमल कोइरालाले संघीय निजामती सेवाको गठन, सञ्‍चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि पुस ९ गते राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा राखेको धारणा ।)
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस १८, २०८१  ०९:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro