site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
गैरबहरमा पनि गजल लेख्न सकिने पोखरेली मत
तस्बिर स्रोत : सरुभक्त श्रेष्ठको फेसबुक

पोखरा । पोखरेली गजलकारहरूले बहर वा स्वतन्त्र लयविधान जुनसुकै शैलीमा लेखिए पनि त्यो गजल नै हुने ठहर गरेका छन् । पोखरामा आयोजित गजलप्रेमीहरूको भेलाले नेपाली गजलमा देखिँदै आएको विवाद अनावश्यक रहेको निष्कर्ष निकालेको हो । 

भेलाले जारी गरेको सातबुँदे घोषणापत्रमा गैरबहरमा लेखिएका गजललाई गजल भन्न नहुने भन्दै केही समयदेखि केही गजलकाहरूले सञ्चालन गरेको अभियानले नवप्रवेशी गजलकारलाई दिग्भ्रमित पार्ने उल्लेख छ । भेलामा अवधारणापत्र प्रस्तुत गर्दै नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति सरुभक्तले गजलमा आएको विवादले गजलप्रति वितृष्णा जगाएको बताए । विशेष गरी बहरवादीहरूले स्वतन्त्र गजलप्रति गर्ने गालीगलौज र आक्षेपले नेपाली गजलको विकास नभई विनाश गरिरहेको धारणा उनको थियो । 

गजलमै विशेषज्ञता हासिल गरेका विद्वानहरूले समेत निषेधात्मक सोच राख्नु नेपाली साहित्यकै दुःखद अवस्था भएको भन्दै सरुभक्तले नयाँ सिद्धान्तको प्रतिपादक हुने लोभमा स्थापित विधाप्रति घृणा गर्नु आपत्तिजनक भएको बताए । 

कवि तीर्थ श्रेष्ठले साहित्यकारलाई कुनै वाद वा सूत्रको नियममा बाँध्ने प्रयास गर्न नहुने धारणा राखे । वर्तमानमा नेपाली गजलका क्षेत्रमा स्वतन्त्र लयविधानकै गजललाई पाठक÷श्रोताले आत्मसात् गरेको बताउँदै उनले शास्त्रीय बहरमा लेखिएका रचनालाई मात्रै ‘गजल’ भन्ने सोच राख्न नहुने बताए । 

बहरमा रुचि हुनेले बहरमा लेख्दा पनि हुने र स्वतन्त्र लेखनमा रुचि हुनेले स्वतन्त्र लयविधानमा गजल लेख्न सकिने श्रेष्ठको धारणा थियो । 

भेलाका अध्यक्ष गजलकार लक्ष्मण थापा पोखरामा पनि बहरमा लेख्ने गजलकारहरू प्रशस्त भए पनि यहाँ कसैले कसैलाई आक्षेप नलगाएको धारणा राख्दै देशभरि नै आ–आफ्ना रुचिअनुसारका गजल लेख्न आह्वान गर्ने उद्देश्यले भेला आयोजना गरिएको जानकारी दिए । 

उनले आवश्यक परे आगामी दिनमा पनि नेपाली गजलका बारेमा थप बहस गर्न यस्ता कार्यक्रमा आयोजना गर्न सकिने बताए । 

गजलकार डा. ईश्वरमणि अधिकारीले गतिशील संसारमा साहित्य पनि गतिशील हुने र समयअनुकूल विधागत वैशिष्ट्य पनि परिवर्तन हुनसक्ने बताए । 

गजलकार दीपक समीपले आफूले पनि बहर र स्वतन्त्र लयविधान दुवैमा गजल लेख्ने गरेको अनुभव सुनाए । आ–आफ्ना रुचि र क्षमताअनुसारका गजल लेख्ने सबैलाई उत्तिकै सम्मान गर्नुपर्ने उनको धारणा थियो । रासस

प्रकाशित मिति: मंगलबार, पुस १६, २०८१  २२:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro