काठमाडौं । अब शेरबहादुर देउवा विधानतः नेपाली कांग्रेसको सभापति उमेदवार बन्न पाउने छैनन् । सँगै कांग्रेसभित्र देउवाको उत्तराधिकारी को बन्लान् ? चासो र सक्रियता दुवै बढेको छ । कांग्रेसको विधानमा लगातार दुई पटकभन्दा बढी सभापति बन्न नपाइने व्यवस्था छ । पार्टी १५औं महाधिवेशनतिर अघि बढ्दै गर्दा देउवाको उत्तराधिकारी बन्न सक्रियता बढेको छ ।
देउवा समूहमा यतिखेर सभापति निम्ति सर्वसम्मत् उमेदवार देखिएका छैनन् ।
“उपसभापतिको जिम्मेवारीमा रहेका देउवा समूहमा सभापतिको उमेदवार हुनुपर्ने पूर्णबहादुर खड्का हुन्” देउवा निकटका एक पदाधिकारीले बाह्रखरीसँग भन्छन्,“तर, खड्काले देउवा समूहको उमेदवारको रूपमा आफूलाई प्रस्तुत गर्ने आफूलाई उभ्याउने गरी लाग्नुभएको पाइँदैन ।”
त्यो समूहबाट निर्विकल्प दाबेदार विमलेन्द्र निधि भएको भए पनि गत महाधिवेशनमा विद्रोह गरेको हुँदा उनको आधार कमजोर भएको ती पदाधिकारीको बुझाइ छ । सभापति देउवाको उत्तराधिकारी बन्न १२औं र १३औं महाधिवेशनमा प्रस्तावक बनेका नेता निधि देउवाले सर्त पालना नगरेपछि १४औं महाधिवेशन समूहबाट बाहिरिँदै चुनौती दिए ।
देउवाले एकीकृत कांग्रेसको एकपटक सभापति बनेपछि निधिलाई नेतृत्व हस्तान्तरण गर्ने सर्त पालना नभएको जिकिरसहित सभापतिको प्रतिस्पर्धामा होमिँदै पराजित भए ।
“देउवालाई समर्थन गरेको भए विमलेन्द्र निधि निर्विकल्प उमेदवार बन्नुहुन्थ्यो,’’ ती पदाधिकारीले भने, ‘‘तर, उहाँले सभापतिज्यूसँगको व्यक्तिगत सम्बन्धका कारण विद्रोह गर्नुभयो । त्यसले उहाँलाई पनि समूहमा अप्ठ्यारो परेको छ ।’’
देउवा समूहमा सभापति को बन्ने भन्ने बहस सुरू भइसकेको छ । तर, देउवाले उनीहरूलाई सिधा जवाफ दिएका छैनन् । एक पदाधिकारी देउवाको भनाइ उद्धृत गर्दै भन्छन्, “अब हेरौं, जसले राम्रो काम गर्छ उही हुन्छ ।”
गत महाधिवेशनमा देउवाका प्रतिस्पर्धी डा. शेखर कोइरालाको देश दौडाहा सुरू भएको छ ।
उनको देश दौडाहा हेर्दा सभापतिको उमेदवार बन्ने तय भएको देखिन्छ । त्यही समूहबाट महामन्त्री गगन थापाले सार्वजनिक घोषणा नगरे पनि सभापति निम्ति तयारीमै जुटेका छन् । उनले आफ्नो समूहलाई तयारीमा लाग्न परिचालित गरिसकेका छन् ।
उनी अहिले सभापति देउवासँग पनि नजिक रहेर काम गरिरहेका छन् ।
उता, १४औं महाधिवेशनमा दाजु डा. शेखर कोइरालालाई साथ नदिइ सहयोग पुर्याएवापत देउवाले ‘गुन’ तिर्नेछन् भन्नेमा पूर्वमहामन्त्री डा. शशांक कोइराला ढुक्क देखिन्छन् । त्यहीकारण हुन सक्छ, डा. शेखरसँग राजनीतिक सम्बन्ध जोडेका छैनन् ।
त्यसबाहेक देउवा समूहबाटै विद्रोह गरेका निधि, पुरानो संस्थापनबाट बाहिरिएर देउवालाई सहयोग गर्दै आएका नेता कृष्ण सिटौला पनि देउवा समूहबाट सभापतिको उमेदवार बन्ने आकांक्षामा छन् । तर उनले पनि अहिलेसम्म मुख खोलेका भने छैनन् ।
डा. शेखर कोइरालाले त सभापति देउवासँग पराजित भएपछिको पहिलो केन्द्रीय समिति बैठकमै १५औं महाधिवेशन अभियान घोषणा गरेका थिए । उनको कार्यकर्तामा जाने अभियान जारी छ । तर समूहभित्र नेता र उमेदवारको व्यवस्थापनका विषयमा ‘होमवर्क’ सुरू गरेको देखिँदैन ।
देउवा समूहबाट उमेदवार नबनेको खण्डमा डा. शेखर कोइराला, पूर्व महामन्त्री डा. शशांक कोइराला वा वर्तमान महामन्त्री गगन थापासमेतलाई समर्थन हुन सक्ने आकलन गरिँदैछ ।
यद्यपि कांग्रेस महाधिवेशनको मिति तय भएकै छैन ।
त्यतिखेरसम्म कस्तो परिस्थिति र परिघटना विकास हुने हुन् र त्यसकै आधारमा नयाँ उमेदवार तय हुन सक्छ ।
ती पदाधिकारीको बुझाइमा, ‘‘महामन्त्री गगन थापालाई सभापतिमा समर्थन गर्दा देउवा समूह एक ढिक्का रहन्छ कि रहँदैन भन्ने प्रश्न छ । एकातिर देउवा समूहका केही नेता डा. शेखर कोइरालासँग नजिक हुँदैछन् । त्यतिबेला थापालाई देउवाको समर्थन भएमा केही नेताहरूको मात्र साथ रहन सक्छन् ।’’
देउवा समूहकै केन्द्रीय सदस्य नैनसिंह महर भने महाधिवेशनसम्म परम्परागत गुट कुनै पनि बाँकी नरहने दाबी गर्छन् ।
सभापतिको आकांक्षा धेरैमा भए पनि तत्कालीक परिस्थितिमै तय हुने बुझाइ उनको छ ।
“महाधिवेशनसम्म पुग्दा परम्परागत गुटहरू भताभुङ्ग हुन्छन् । कुनै पनि गुट यथावत् अस्तित्वमा रहने अवस्था देखिँदैन,” उनले बाह्रखरीसँग भने, “सभापति बन्ने आकांक्षा त धेरैको छ । कांग्रेसमा रहेको पहिलो पुस्ता उमेरकै कारण बाहिरिने अवस्था छ । दोस्रो पुस्ताका नेताहरूले कति व्यवस्थापन गर्न सक्नुहुन्छ हेर्नुछ ।”
कांग्रेसमा कुनै स्थायी वैचारिक समूह नभएको उल्लेख गर्दै भन्छन्, “पहिलो त राष्ट्रिय स्वार्थ हो, दोस्रो पार्टी हाँक्न सक्ने क्षमता हो । जसले त्यो देखाउन सक्छ उही सभापतिको बलियो उमेदवार हुनेछन् ।’’
त्यसो त नेतृत्वका आंकाक्षीहरूले गुट परिवर्तनदेखि मौनता साधेको, भूमिगत रूपमा फरक गुटलाई सहयोग गरेको उदाहरण कांग्रेसमा स्थापित भइसकेका छन् ।
१३औँ र १४औँ महाधिवेशनका रूप हेर्ने हो भने को कतातिर पुग्छन् भन्न सकिँदैन ।
१३औं महाधिवेशनमा तत्कालीन संस्थापनका उमेदवार रामचन्द्र पौडेलविरुद्ध त्यही गुटका कृष्णप्रसाद सिटौलाले उमेदवारी मात्र दिएनन् कि दोस्रो चरणमा संस्थापनविरोधी देउवालाई समर्थन गरिदिए ।
सिटौलाको सहयोगले देउवा सभापति बन्न महत्वपूर्ण सहयोग मिल्यो । सँगै संस्थापन पक्ष इतर समूहमा पुग्यो, त्यस निम्ति सिटौलालाई दोषी देखाइयो ।
त्यसपछि १४औं महाधिवेशनमा संस्थापनइतर त्यो समूह एक रहन सकेन । उक्त समूहबाट शेखर कोइरालाविरूद्ध प्रकाशमान सिंह सभापतिको उमेदवार बने । देउवाका कट्टर विरोधी पहिचान बनाएका सिंह दोस्रो चरणको मतदानमा देउवालाई नै समर्थन गर्न पुगे ।