site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
क्याची मेलोडीको पछि लागेको नेपाली संगीत 

काठमाडौं । पछिल्लो समय नेपाली गीत कति काव्यात्मक छन् ? यो प्रश्नको जवाफ सायद कोही व्यक्ति विशेषसँग खोजिरहनु पर्दैन । किनकि, गीत आफैँ बोलिरहेका छन् ।

अहिले नेपाली संगीत क्याची मेलोडीको पछि लागेको छ । न गहन शब्द चाहिन्छ न काव्यात्मक सिर्जना नै । “अहिले नेपाली संगीतमा क्याची मेलोडी भए पुग्छ । शब्द राम्रो चाहिँदैन,” संगीतकार वसन्त सापकोटा भन्छन्, “भाइरल कसरी बन्ने भन्नेमा धेरैको ध्यान छ ।”

संगीत पढेर र बुझेर आउनेको संख्या निकै कम रहेको उनको अनुभव छ । संगीत पढेर, अध्ययन गरेर र साधना गरेर आउनेको संख्या निकै कम रहेको उनको भनाइ छ । त्यसैले अहिले गायकगायिकाको गलाले होइन, प्रविधिले साधना गर्छ भन्ने टिप्पणी हुने गरेको छ ।

Dabur Nepal
NIC Asia

“संगीत साधना गरेर आउने क्षेत्र हो भन्ने नै छैन । कसरी भाइरल हुने भन्नेमा ध्यान छ,” उनी भन्छन्, “जसरी हुन्छ चिनिए पुग्छ । राम्रो गरेर होस् वा नराम्रो होस् चिनिन पाए पुग्छ ।”

पछिल्लो समय लोक फ्लेवरको संगीतको बोलावाला छ । लोकलय मिसिएका गीत चलिरहेका छन् । यद्यपि, कस्तो गीतसंगीत चल्छ भनेर खुट्ट्याउन कठिन रहेको संगीतकार सापकोटा बाताउँछन् ।

“कस्तो गीतसंगीत चल्छ भन्नेमा सर्जक स्वयंमा कन्फ्युजन छ । स्रोता तथा दर्शकले पनि कस्तो गीत मन पराउँछन् भन्ने थाहै हुँदैन,” उनी अगाडि थप्छन्, “गीत निकालेको समयमा चल्दैन । तर, ६ महिनापछि त्यही गीत चल्छ । यसले पनि सर्जकमा अडियन्सको टेस्ट अहिले कस्तो छ भन्नेमा कन्फ्युजन गरिदिएको छ ।”

कस्तो गीत चल्छ भनेर सर्जक स्वयं दोधारमा हुँदा रिटर्न्सको निश्चित नहुँदा पनि लगानीकर्ता गीतमा लगानी गर्न हिचकिचाइरहेको वसन्त बताउँछन् । लगानी सुरक्षित हुने निश्चित भएको अवस्थामा गीतसंगीतमा लगानी गर्नेको संख्या बढ्ने उनको भनाइ छ ।

“गायकगायिकाहरू फ्रीमा ट्रयाक लिएर स्टेजस्टेजमा गएर गाउनुहुन्छ । तर, त्यो आम्दानी केही हिस्सा गीतकार, संगीतकार तथा उत्पादकलाई जाँदैन,” उनी अगाडि थप्छन्, “यसको असर लगानीमा देखिएको छ । सर्जकले रोयल्टी नपाउने अवस्था र लगानीको ग्यारेन्टी नहुँदा पनि गीतसंगीतको संख्या कम हुँदै गएको छ ।”

पछिल्लो समय लाइभ ब्यान्ड र लाइभ पफर्मेन्स बढ्दै गएको संगीतकार सापकोटा बताउँछन् । “लाइभ पफर्मेन्स बढेको छ । ब्यान्डहरू सक्रिय हुन थालेका छन्,” उनी अगाडि थप्छन्, “अहिले पुराना ब्यान्डहरू पनि सक्रिय हुन थालेका छन् । सांगीतिक माहोल भने राम्रो देखिन थालेको छ ।”

गायक शिशिर योगी गीतलाई सस्तो मनोरञ्जनका रूपमा मात्र लिँदा गीतसंगीत कमजोर हुँदै गएको बताउँछन् । गीत बज्दा नाच्न पाए त्यसमै सन्तुष्ट हुने अवस्था आएको उनको भनाइ छ । “नाच्दा शरीर चल्छ, तर दिमाग चल्दैन । यही कुराले बजार लियो, जेले बजार लियो त्यसैको व्यापार बढ्यो,” शिशिर भन्छन्, “त्यसपछि गुदी भएका खँदिला कुरा पछि परे ।”

मेला तथा महोत्सवमा पनि उफ्रिने गीतका कलाकारलाई बोलाउने गरिएको उनी टिप्पणी गर्छन् । गफ गर्दा गीतसंगीतको विकास र गुणस्तरको कुरा गर्ने व्यक्तिले नै मेलामहोत्सवमा भने अर्धनग्न भएर गाउने र नाच्नेलाई बोलाउने गरेको कसैबाट नछिपेको शिशिरको भनाइ छ ।

काव्यात्मक गीत गाइए पनि त्यसको खोजी नभएको उनको बुझाइ छ । राम्रा र क्वालिटी म्युजिक बजारमा सानो संख्यामा आए पनि त्यस्ता गीतसंगीत नखोजिएको उनको गुनासो छ ।

“राम्रा गीत आएका छन्, तर ती सामाजिक सञ्जालमै हराए । सञ्चारमाध्यम र सामाजिक सञ्जालमा पनि सस्तो मनोरञ्जनका लागि आएका गीतले प्रश्रय पाइरहेका छन्,” उनी भन्छन्, “आयोजक, लगानीकर्ता पनि कसरी धेरै भ्युज आउँछ र भाइरल भइन्छ भनेर त्यसकै पछि लाग्दा सस्ता गीतले मौका पाए ।”

प्रोत्साहन पाउने कलाकार निरुत्साहित भइरहेको र निरुत्साहित हुनुपर्ने व्यक्तिले प्रोत्साहन पाउँदा नेपाली संगीतले उकालो बाटो समाउन नसकेको उनको बुझाइ छ । यसमा दोष लगानीकर्तादेखि गायकगायिकासम्मको रहेको उनको आरोप छ ।

मैले जस्तो गीत गाए पनि चल्छ, स्रोताले सुन्छन् भन्ने हेपाहा प्रवृत्ति गायकगायिकामा रहेको उनी बताउँछन् । “यो ट्रेन्ड नै बसिसक्यो, स्रोतालाई जस्तो गीत दियो त्यस्तै सुन्ने हो,” उनी अगाडि थप्छन्, “कि सुन्दै नसुन्नु पर्‍यो, सुन्ने हो भने त्यही नै सुन्नुपर्‍यो । यही अहिलेको एउटा मुख्य समस्या हो ।”

स्रोताले पनि नराम्रा र सस्तो मनोरञ्जनका निम्ति मात्र ल्याइएका गीतलाई बेवास्ता गर्नुपर्ने उनको धारणा छ । स्रेता सचेत नभएसम्म केही पनि नहुने शिशिर बताउँछन् ।

“जनता नजागेसम्म देश बन्दैन । जनता नै अन्तिम र महत्त्वपूर्ण शक्ति हो । स्रोताले जस्तो पनि सुन्दिन्छु भन्नु हुँदैन । यसकै परिणाम अहिले नेपाली गीतसंगीतले भोगिरहेको छ,” शिशिर नेपाली गीतसंगीतको क्वालिटी खस्किनुको कारण बताउँछन्, “यसको असर भोलिको सन्ततिमा पर्छ नै, आज पनि यसको मलाई नकारात्मक प्रभाव पारिरहेको छ भन्ने कुराको हेक्का पनि हुनुपर्छ ।”

लहडमा नेपाली संगीत रुमलिएको उनी बताउँछन् । जता हावा बग्यो त्यतै बहने र भ्युज र दुई पैसा बढी आम्दानी गर्ने लोभजमा सर्जक तथा स्रष्टा केन्द्रित हुँदा संगीतको स्तर ओरालो यात्रामा रहेको शिशिरको बुझाइ छ । संगीतमा साहित्यको सबैभन्दा ठूलो महत्त्व हुने तर त्यही नै ओझेलमा परेको उनको गुनासो छ । 

संगीत साधना हो र यो सिकेर आउनुपर्छ भन्ने मान्यता नहुँदा पनि गायन शिल्प कमजोर भइरहेको उनको ठहर छ ।

गीतसंगीत पनि परिवर्तनशील भएकाले यसमा देखिएको परिवर्तनलाई नकार्न नसकिने तर परिवर्तन स्वाभाविक र सभ्य हुनुपर्नेमा गीतकार राजेन्द्र थापाको जोड छ ।

“गीतमा काम, क्रोध र मोह हुन्छ । गीत भनेकै प्रेम हो । प्रेममा लिंगीयता हुन्छ । तर, त्यो भल्गर हुनु हुँदैन,” राजेन्द्र भन्छन्, “विम्ब र प्रतीकको प्रयोग हुनुपर्छ । लिंगीयता सिधासिधा भनिनु हुँदैन । पल्लाघरे साइँलाले लडायो भन्नेजस्ता गीतका शब्द हुनु हुँदैन ।”

गीत काव्यात्मक नै हुनुपर्छ भन्ने नरहेकाले बोलीचालीको भाषामा पनि हुने तर त्यो सभ्य हुुनुपर्ने उनको धारणा छ । गीत बिग्रियो भनेर चिन्ता गरिहाल्नुपर्ने अवस्था नरहेको र उच्छृंखलता भने कम गर्न जरुरी रहेको उनको धारणा छ ।

“समयसँगै परिवर्तन आउँछ । ३० दशकको गीत अहिले खोजेर हुँदैन । मोर्डन समाजले मोर्डन गीत नै रुचाउँछ,” उनी भन्छन्, “अबको १० वर्ष पछाडिको गीत अरू नै हुनसक्छ । पहिलाकै अवस्थामा पनि फर्किन सक्छ । हरेक १० वर्षमा खाना/नाना/गाना परिवर्तन हुन्छ भनिन्छ ।”

आधुनिक गीत कहिल्यै नबिग्रिने तर लोकगीत बिग्रिने र बिग्रिरहेको गीतकार राजेन्द्रको तर्क छ । आधुनिक गीत आजको गीत भएकाले परिवर्तन हुँदै जाने उनको जिकिर छ ।

“आधुनिक गीत सुरुमा दुई लाइनको हुन्थ्यो । पछि मैले नै तीन लाइनको लेखेँ । पछि चार लाइनको पनि लेखेँ । यसको अर्थ आधुनिक गीत परिवर्तनशील हुन्छ, तर लोकगीत जस्तो हो त्यस्तै ठेट हुनैपर्छ,” उनी प्रस्ट पार्छन् ।

आधुनिक गीतमा लोक वा र्‍यापगीत मिसाउन पाइने तर लोकगीतमा आधुनिक वा र्‍याप मिसाउन नपाइने उनी बताउँछन् । यो भने चिन्ताको विषय भएको उनको भनाइ छ ।

“वास्तवमा अहिले लोकगीत पनि रहेन, आधुनिक गीत पनि लोकलय मिसाएकाले आधुनिकजस्ता रहेनन्,” गीतकार राजेन्द्र अगाडि थप्छन्, “आधुनिकको यो मोर्डनाइजेसनलाई स्वीकार्नुपर्छ । तर, लोकगीतको यो परिवर्तन स्वीकार्य छैन ।”

आधुनिक गीतको अघिल्लो र पछिल्लो लाइन एकार्कासँग अन्तरसम्बन्धित हुनुपर्ने तर लोकगीतमा यसको आवश्यकता नरहेको उनी सुनाउँछन् ।

स्रोता तथा दर्शकले अनावश्यक परिवर्तन र भल्गारिटीलाई रोक्नुपर्नेमा उनको जोड छ । कोठाभित्र मात्र गाउन सकिने गीतलाई मेनस्ट्रिममा ल्याउन नहुने उनको धारणा छ ।

“यो वर्ष छक्का पञ्जाको गाली गर्ने गीतलाई सबैले गाली गरे । तर, त्यही नै सबैभन्दा धेरै हेरिने गीतमध्यमा पर्‍यो, त्यसकै समाचार बढी आयो,” उनी भन्छन्, “गाली पनि गर्ने अनि त्यसैलाई सबैभन्दा धेरै हेरेर माया पनि गरिदिने संस्कारले पनि केही हदसम्म बिगारिरहेको छ ।”

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस १६, २०८१  १३:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro