साहित्य
कविता छैन मसँग भएका नारा लेख्दै छु
जान तिमी कविताको अस्मिता लुट्दै छु
कसैले भाषण दिएको टिपेर यो मुलुक सबै लेख्दै छु
छैन मसँग सपना सक्कल अरूको सपना लेख्दै छु
कवि भन्छु आफूलाई विवश छु कविता कति खोज्नु
धेरै के भनूँ दालभातडुकुका लागि कलम बेच्दै छु
नभनी नहुने धेरै गुनासा छन् भनेर पो कसले सुन्ने
काम यस्तायस्ता भइरहेछन् चुप लागेर बस्न नसकिने
बोलेर पनि के गर्नु आफूसँग फतफत गरेर हिँड्नु हो
सुनेको नसुन्यै गर्ने समय बज्र बहिरो कस्तो यस्तो
हिँड्ने गति छैन कुन्नि किन हो लंगडो चाल मेरो
अरूको तालीमा खुसीले उफ्रने बाँदरझैँ नाच मेरो
अलिकति आफ्नो केही छ भने मसँग जे छ
त्यो भनाइ नाच्न जाने पनि छैन आँगन मेरो ।
प्रकाशित मिति: शनिबार, पुस १३, २०८१ ०७:३९
प्रतिक्रिया दिनुहोस्