site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Global Ime bankGlobal Ime bank
संसद्‌मा राजनीतिक दललाई छुट्याएर हेर्न सकिँदैन

लामो समयदेखि विधेयकहरू निस्कर्षबिहीन राखेकामा आलोचना खेपिरहेका छन्, संसदीय समितिहरूले । त्यही आलोचनाबीच संघीय संसदको नियमावली संशोधन गरी पारित गर्ने तयारीमा सत्तारुढ दल लागेका छन् । सँगै संसदीय समितिका सदस्यहरूलाई ह्वीप लगाउँदै विधेयक पारित गर्ने खेल पनि चलिरहेको छ । सामान्यतः खुला र सहज छलफल गर्न सकून् भनी संसदीय समितिमा ह्विप लगाइँदैन । 

सत्तारुढ नेपाली कांग्रेसबीच उच्चस्तरीय राजनीतिक संयन्त्र बनेको छ । उक्त संयन्त्रले संसदीय समितिका आफ्ना सदस्यहरूलाई विधेयकमा के गर्ने या के नगर्ने निर्देशन दिँदै निर्णय लिन खोजिँदैछ । यसले सत्तारुढ दलमा ह्वीप लाग्ने र अल्पमतको कदर नहुने हो कि संशय पैदा भएको छ । सत्तारुढ यही आशंकाबीच नेकपा एमालेका सचिव तथा संसदीय विभाग प्रमुख योगेश भट्टराईसँग न्युज एजेन्सी नेपालले संक्षिप्त कुराकानी गरेको छ । तर, भट्टराई सांसदहरू राजनीतिक दलकै सदस्य हुँदा राजनीतिक दलको विचार र अडान सांसदले बोक्नुपर्ने बताउँछन् । यिनै विषयमा केन्द्रित रहेर भट्टराईसँग भएको कुराकानीको संपादित अंश । 
 

–सत्तारुढ प्रमुख दलहरू नेपाली काग्रेस र एमालेले बनाएको कार्यदल कस्तो हो ? 

Dabur Nepal
NIC Asia

प्रमुख राजनीतिक दल नेपाली कांग्रेस र एमालेबीच भिन्न विषयमा सहजीकरण गर्न उच्चस्तरीय राजनीतिक संयन्त्र बनेको छ । दुवै पार्टीका प्रमुखको नेतृत्वमा अन्य शीर्ष नेता सम्मिलित संयन्त्र बनेको छ । यो संयन्त्रले भिन्न–भिन्नस्तरमा कार्यदल बनाएर काम गर्ने समझदारी बनेको छ । यस्ता संयन्त्र केन्द्र, प्रदेश, जिल्ला तहमा बनेका छन् । 

सरकारी काम प्रभावकारी, संसदलाई प्रभावकारी बनाउन र सबै अंगलाई गति दिन संयन्त्रको आवश्यकता देखिएको हो । यस्ता काममा कार्यदलले छिटो छरितो कार्यसम्पादन गर्न सहयोग गर्नेछ । शीर्ष नेतृत्वअन्तर्गत अरु तीनवटा कार्यदल पनि बनेका छन् । एउटा कार्यदलले संविधान संशोधनका काम गर्छ ।

यो कार्यदलले संविधान संशोधनका मुख्य—मुख्य विषयबारे छलफल गरी प्रक्रियाबारे सुझाव दिनेछ । संविधान संशोधनका विषयमा कांग्रेस र एमालेबीच साझा सहमतिको खाका तयार गरिनेछ । यसपछि कार्यदलले संसदभित्रका अन्य दलहरूसँग छलफल गरी सहमति जुटाउन प्रयास गर्नेछ । 

दोश्रो कार्यदलले आर्थिक क्षेत्रमा देखिएको बाधा र अफ्ठ्यारा पहिल्याएर सुझाव दिनेछ । यो कार्यदलले विद्यमान कानुन तथा व्यवस्थाको अध्ययन गर्नेछ । देशमा लगानीको वातावरण बनाउन, सुशासन कायम गराउन र भ्रष्टाचार निवारण गर्न कानुनी आवश्यकताबारे पनि यो कार्यदलले अध्ययन गरेर सुझाव दिनेछ । यसले दिने सुझावका आधारमा विधेयक तर्जुमा गर्ने संसदमा लैजाने, कानुन संशोधन गर्नुपर्ने भए त्यसको आधारमा संसोधन प्रस्ताव समेत निर्माण गर्नेछ । 

तेस्रो कार्यदलले संसद्मा विचाराधीन विधेयक छिटो भन्दा छिटो समितिबाट संसद् बैठकमा टेबल गर्न सघाउनेछ । संसदको दुवै सदनका समितिहरूमा १९ बढी विधेयक छलफलमा छन् । यसमध्ये कति विधेयक धेरै समयदेखि समितिमा नै अड्किएर बसेको छ । सबै विधेयक आगामी अधिवेशनमा टेबल गरेर पास गराउने गरी काम थालेका छौं । 

–हिजोको बैठक कस्तो बैठक हो, के गर्नुभयो ?

हामीले विधेयकका अवस्थाबारे प्रारम्भिक रूपमा छलफल गरेका छौँ । करिव १९ वटा विधेयकमा १५ वटा विधेयक प्रतिनिधिसभाका समितिको छलफलमा अन्तिममा पुगेको र निरन्तर छलफल चलिरहेको छ । कतिपय सामान्य छलफलमै अड्किएका छन् भने कतिमा छलफल नै भएको छैन । सबै विधेयक अगाडि बढाउने गरी काम गर्छौं ।

संघीयता कार्यान्वयनसम्बन्धी विधेयक प्राथमिकता साथ अघि बढाउनेछौं । आजबाट यसबारे पनि छलफल शुरु गरेका छौं । साथै विधेयकबारे अन्य दलहरूसँग प्रमुख सचेतकका मध्यमबाट छलफल अघि बढाउनेछौं । अन्य दलहरूसँग छलफल गरेर विधेयक संसदीय समितिबाट अघि बढाउँदै आउँदो अधिवेशनमा पास गराउने गरी काम गर्नेछौं ।

–विधेयक अघि बढाउन के कुराले रोकेको छ त ?

विधेयक छिटो–छरितो ढंगबाट अघि बढाउन संसद्को नियमावली बाधक छ कि भन्ने हामीलाई लागेको छ । नियमावली संशोधन गरेर भएपनि विधेयक सदनमा लैजानेछौँ । एउटा विधेयक समितिमा कति समयसम्म रहने, कहिलेसम्म छलफल गर्ने भन्ने स्पष्ट नहुँदा र समय नतोकिँदा लामो समयसम्म रहेको छ । हाम्रै संसद्को बैठक समय तोकी छलफल गर्ने अनि संसदीय समितिमा असीमित समय राख्नु अलि नमिलेको जस्तो छ । यसलाई मिलाउनुपर्नेछ । 

अब कुनै विधेयक समितिमा कति समयसम्म राख्ने भन्ने व्यवस्था नियमावलीमा राख्नुपर्ने भएको छ । नियमावली संशोधन गर्नुपर्ने भएको छ । नियमावली संशोधनका विषयमा सबै राजनीतिक दलसँग छलफल गर्नेछौं । सभामुखसँग पनि छलफल गरी आगामी अधिवेशनमा नियमावली संशोधन गर्नेछौं ।

–सरकारमा तपाईंहरू, संसद्–समितिमा बहुमत तपाईंहरूको छ, समितिमा सभापति तपाईंहरूको अनि विधेयक किन अगाडि नबढेको, यो विषय हेर्नुभएको छ ?

संसदमा कसको कति संख्या छ भन्ने आधारमा समितिको छलफल वा निर्णय नहुने रहेछ । समितिको काम कार्यपात्रो (क्यालेण्डर) अनुसार नहुँदा र हामीसँग जति पनि समय छ भनी छलफल लम्बिएको छ । कतिपय बेला कोरम नपुगेर बैठक स्थगित हुने अवस्था देखियो । सांसदहरूमा समय पर्याप्त छ भनी बैठक लम्ब्याउने प्रवृत्ति पनि देखियो । कार्यपात्रो (क्यालेण्डर) बनाएर समय सीमा तोकेर समितिका बैठक सञ्चालन गरेर अघि बढेमा बाध्यता पनि हुन्छ । प्रभावकारी पनि हुन्छ भन्ने हामीलाई लागेको छ ।

समितिमा गएका विधेयक २/३ महिनाभित्रै सदनमा पेश गर्ने भनियो भने छिटो काम गर्छ, विज्ञ तथा सरोकारवालाको राय सुझाव पनि तालिका बनाएर लिन्छ भन्ने हाम्रो विश्वास हो । विदेशमा यसप्रकारका असल अभ्यास छन् । बेलायतमा त विधेयक अनुसारको अस्थायी प्रकृतिको समिति बनाएर काम गर्ने चलन रहेछ । हामी पनि यस्तै मोडलमा जान सक्छौँ ।

–सांसदहरूले समितिमा बसेर खुला मन, उदार विधायिकी मनसाय साथ काम गर्न नसक्ने अवस्था आउने हो कि, राजनीतिक दलको सहमतिले सांसदको सार्वभौम अधिकार खुम्चिने, संकुचन हुने डर पनि छ नि ? 

हो, यसबारे समाचारहरू आएका छन्, मैले पनि हेरेको छु । यो विषय राम्रो मनसायसाथ आएको हो भन्ने मैले बुझेको छु । सांसदहरूको भूमिकामा संकुचन नआओस् भनी चिन्ता देखिनु राम्रो हो । यो सँगै अर्को बुझ्नुपर्ने कुरा भनेको राजनीतिक दलले समन्वय गर्ने भनेको संसदभित्र रहेका दलले समन्वय गर्ने भनेको हो । राजनीतिक दल भनेको संसदको एउटा भाग नै हो । 

हामी पार्टी र संसदीय प्रणालीमा छौं । राजनीतिक दलले समन्वय नगर्ने हो भने विवादित विषय निष्कर्षमा पुग्नै सक्दैन । सत्य निरूपण तथा मेलमिलापसम्बन्धी विधेयक लामो समयपछि पास भयो । यो विधेयक पास हुनुका पछाडि राजनीतिक दलहरूले गरेको समन्वय मेहनत र छलफलको परिणाम हो भन्ने बिर्सनु हुन्न ।

संसद्को जटिल विषय पनि राजनीतिक तहबाट समाधान खोजिन्छ । तर यसलाई संसदीय प्रक्रिया अवलम्वन गरेर नै अगाडि बढाइन्छ । यसमा सांसदहरूको सार्वभौम अधिकार कुण्ठित नगरी प्रक्रिया अघि बढाइन्छ । यिनै प्रक्रियालाई समन्वय र सहजीकरण गर्न हामीले कार्यदल बनाएका हौँ । यो सबै देशमा देखिन्छ, राम्रो अभ्यास पनि छ । हाम्रो संयुक्त सरकारमा यसको आवश्यकता अझ बढी छ । 

–तपाईंहरू अत्यधिक बहुमतमा हुनुहुन्छ, यस्तो अवस्थामा अल्पमतको कदर कसरी हुन्छ, साना दल, अल्पमतमा रहेका दलहरूको विचार भावना बहुमतले थिचेर जाने डर पनि देखिन्छ नि ?

हाम्रो अभ्यास र अनुभवमा एकदमै थोरै संख्यामा विधेयक बहुमत, अल्पमत छुट्याएर पास गरेको अवस्था छ । हामीले धेरै विधेयक सर्वसम्मतिबाटै पास गरेका छौं । हाम्रो संसदीय इतिहासमा, अभ्यासमा धेरै विधेयक सर्वसम्मतिले सहमतिले पास गरेका छौं । हामीले दुई पार्टीको समन्वयमा  अवलम्वन गरेको प्रक्रियाले सर्वसम्मत् प्रक्रिया नै प्राथमिकतामा रहन्छ, त्यसरी नै लैजान्छौं ।

कांग्रेस र एमाले दलबाहेकका दलहरूसँग बसेर सहमति बनाउने, राय–सुझाव लिने, सल्लाह लिने र सर्वसम्मतिमै काम गर्छौं । संसदमा सकेसम्म सहमति खोज्ने तर सहमति जुट्न नसके मात्र बहुमत र अल्पमत छुट्याएर निर्णय लिन्छौं । यद्यपि यो अन्तिम विकल्प हो । मत विभाजनमा पुग्नुअघि पर्याप्त छलफल गरेका हुनेछौँ, सहमति खोज्ने प्रयास खोज्न छौं ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस १२, २०८१  १४:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro