site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पाँच महिनामा १३ अर्ब चार करोड रुपैयाँको विद्युत् भारत निर्यात
फाइल तस्बिर ।

काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो पाँच महिनामा १३ अर्ब चार करोड रुपैयाँको विद्युत् भारत निर्यात गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले गएको साउन, भदौ असोज, कात्तिक र मंसिरमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको एक अर्ब ७६ करोड युनिट विद्युत् भारततर्फ निर्यात गरेको हो ।

चार महिनामा भारततर्फ निर्यात गरिएको विद्युत्को औसत दर प्रतियुनिट सात रुपैयाँ ३९ पैसा रहेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स)को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौताबमोजिम हरियाणा र बिहार राज्यमा बिक्री गरिरहेको छ ।

भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु)मा हुने गरेको छ । प्राधिकरणले विद्युत् बिक्री गरी आठ अर्ब १५ करोड भारु आम्दानी गरेको छ ।

साउनमा सबैभन्दा बढी चार अर्ब १५ करोडको विद्युत् निर्यात गरिएको थियो । मंसिरमा सबैभन्दा कम २८ करोड १४ लाख रुपैयाँको मात्र विद्युत् निर्यात गरिएको छ । भदौमा तीन अर्ब ६८ करोड, असोजमा तीन अर्ब सात करोड र कात्तिकमा एक अर्ब ८७ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले असोजमा आएको बाढीपहिरोका कारण मुख्य रूपमा ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् केन्द्रमा क्षति पुगेको बताए । त्यसले विद्युत् उत्पादन बन्द हुँदा निर्यात प्रभावित भएको उनले जानकारी दिए ।

माथिल्लो तामाकोसी बन्द भएका कारण त्यसपछिका महिनामा विद्युत् निर्यात घटेको र सुक्खायाम सुरु भएसँगै जलविद्युत् आयोजनाको उत्पादन कम भएकाले पोहोरभन्दा यो वर्ष चाँडै आयात गर्नुपरेको उनले उल्लेख गरे ।

अहिले विद्युत् निर्यात बन्द गरिएको छ । विद्युत् आयात सुरु गरिएको छ । हिउँदयाम सुरु भएसँगै नदी तथा खोलानालामा पानीको बहाव घट्दा जलविद्युत् आयोजनाको उत्पादनमा कमी आउँछ । त्यसैले देशभित्रको विद्युत् माग धान्न हिउँदका केही महिनामा विद्युत् आयात गर्नुपर्ने प्राधिकरणले जनाएको छ ।

नदी तथा खेलानालामा पानीको बहाव बढ्न सुरु भएपछि उत्पादन वृद्धि हुनेछ । त्यसपछि विद्युत् निर्यात पुनः सुरु हुनेछ । यो वर्षदेखि ४० मेगावाट विद्युत् भारत हुँदै बंगलादेश निर्यात पनि सुरु भइसकेको छ ।

चालु आवमा करिब ३० अर्ब रुपैयाँको विद्युत् निर्यातको लक्ष्य राखिएको छ । बाढीपहिरोका कारण जलविद्युत् आयोजना र प्रसारणलाइनमा क्षति पुग्दा निर्यात लक्ष्य प्रभावित हुने देखिएको प्राधिकरणले जनाएको छ ।

गत आवमा भारतबाट १६ अर्ब ९३ करोड रुपैयाँको विद्युत् आयात गरिएको थियो । सोही अवधिमा १७ अर्ब ६ करोड रुपैयाँको विद्युत् निर्यात गरिएको थियो । गत आवमा आयातभन्दा १३ करोड रुपैयाँ बढीको विद्युत् निर्यात गरिएको प्राधिकरणले जनाएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, पुस ६, २०८१  १४:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro