site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एनपीएलको उपाधि भिडन्तमा सुदूरपश्चिम र जनकपुर, कसले जित्ला उपाधि ?

काठमाडौं । पछिल्लो तीन सातामै नेपाली खेलकुदकै सबैभन्दा चर्चित प्रतियोगिताको रुपमा दरिएको नेपाल प्रिमियर लिग (एनपीएल) फाइनल आज हुँदै छ ।

उपाधिका निम्ति मधेस प्रदेशको प्रतिनिधित्व गरेको जनकपुर बोल्ट्स र सुदूरपश्चिमको सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदै छ । 

प्रतियोगिताको लिग चरणबाट शीर्ष दुईमा रहँदै प्लेअफ आइपुगेका टिम हुन्, जनकपुर र सुदूरपश्चिम । लिग चरणका सातमध्ये एक खेलमा मात्र हार व्यहोरेको सुदूरपश्चिमले १२ अंकसहित शीर्ष स्थान हाशिल गरेको थियो । दोस्रो स्थानमा रहँदै प्लेअफ आएको जनकपुरले समान खेल खेल्दा दुई हारसहित १० अंक जोडेको थियो ।

जनकपुरविरुद्ध लिग चरणमा जित निकाल्ने दुईमध्यको एक टोली हो, सुदूरपश्चिम । दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिमले लिगमा जनकपुरविरुद्ध ७२ रनको जित निकालेको थियो । यी दुवै टिमले हार भने चितवन राइनोजविरुद्ध व्यहोरेका थिए । प्रतियोगिताको शीर्ष दुई टोलीलाई हराएको चितवनले भने इलिमिनेटरबाट माथिको यात्रा तय गर्न सकेन ।

शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो बहुप्रतिक्षित खेल दिउँसो १२ः३० बजेदेखि सुरु हुनेछ । 

प्रतियोगिताको पहिलो क्वालिफायरमा पनि जनकपुरविरुद्ध आठ विकेटको सहज जित निकालेको सुदूरपश्चिम स्वभावलै बलियो दाबेदार बनेको छ । बलिङ, ब्याटिङ र फिल्डिङ तीनै क्षेत्रमा सन्तुलन बनाएको सुदूरपश्चिमले समर्थकबाट पनि त्यस्तै साथ पाइरहेको छ । तर, कप्तान दीपेन्द्र भने यसअघि दुई पटक हराएकै कारण फाइनलमा कमजोर आक्न नहुने बताउँछन् ।

“यसअघिका खेलहरू सबै राम्रो भए । राम्रो भइरहेको छ, प्रशिक्षण पनि । हामी फाइनलका लागि तयार छौँ । हरायौँ भन्दैमा सहजरूपमा लिने होइन । उनीहरूको टिम पनि राम्रो छ,” फाइनलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रले भने, “जसरी लिगका खेलहरू खेलेका थियौँ, त्यसरी नै खेल्नेछौँ । धेरै सोचेका छैनौँ । आफ्नो शतप्रतिशत दिनेछौँ ।” 

दुई पटक हार व्यहोरेको टिमविरुद्ध जितसहित प्रतियोगिताको उपाधि जित्नुभन्दा ठूलो बदला जनकपुरलाई पक्कै पनि अर्को हुँदैन । प्रतियोगिताभर सुदूरपश्चिमपछि सबैभन्दा राम्रोसँग टिमलाई साथ दिइरहेको जनकपुरका समर्थकका लागि पनि योभन्दा ठूलो आनन्दको अनुभव अरु हुँदैन । तर, फाइनलअघि जनकपुरका कप्तान आसिफ सेखलाई यही प्रश्नको सामना पनि गरे । बदलाको अवसर छ, त्यसका लागि तयार हुनुहुन्छ ? 

यो प्रश्नमा आसिफले सरल तर गहन जवाफ फर्काए । उनले जनकपुरको ध्यान बदलाभन्दा स्तरीय क्रिकेट प्रस्तुत गर्नेमा रहेको बताए ।

“बदला लिने मानसिकता छैन । स्तरीय क्रिकेट खेल्छौँ । मैदानबाट निस्किँदा आफूले सक्दो दियौँ भन्ने महसुस हुनुपर्‍यो,” आसिफले भने ।

यस्तो छ दुई टिमको फाइनलसम्मको यात्रा 
फाइनलसम्मको यात्रा तय गर्दा जनकपुरले नौ र सुदूरपश्चिमले आठ खेल खेलेका छन् । 

जनकपुरले प्रतियोगिताको सुरुका चार खेलमा लगातार जित निकाल्दै बलियो सुरुआत गरेको थियो । तर, लिग चरणका अन्तिम तीन खेल खेल्दा भने जनकपुरले दुई खेलमा हार व्यहोरेको हो ।

जनकपुरले पहिलो खेलमा विराटनगर किंग्सविरुद्ध आठ विकेटको, दोस्रो खेलमा कर्णाली याक्सविरुद्ध पनि आठ विकेटको नै, तेस्रो खेलमा पोखरा एभेन्जर्सविरुद्ध सात विकेटको र चौथो खेलमा लुम्बिनी लायन्सविरुद्ध एक रनको जित निकालेको थियो । 

पाँचौँ खेलमा भने जनकपुरले सुदूरपश्चिम रोयल्सविरुद्ध ७२ रनको हार व्यहोरेको थियो । छैटौँ खेलमा काठमाडौंविरुद्ध पाँच विकेटको जित निकालेको जनकपुरले सातौँ खेलमा चितवन राइनोजसँग ३२ रनको हार व्यहोरेको हो ।

पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग हार व्यहोरेको जनकपुरले दोस्रो क्वालिफायरमा भने कर्णाली याक्सविरुद्ध दुई विकेटको कठिन जित निकालेको थियो ।

यता, लिगको आफ्नो पहिलो खेलमा सुदूरपश्चिमले विराटनगर किंग्सविरुद्ध ९० रनको जित निकालेको थियो । दोस्रो खेलमा काठमाडौं गुर्खाजविरुद्ध ७३ रनको र तेस्रो खेलमा लुम्बिनी लायन्सविरुद्ध ४५ रनको जित निकालेको थियो । चौथो खेलमा भने सुदूरपश्चिमले चितवन राइनोजविरुद्ध ३३ रनको हार व्यहोरेको थियो ।

पाँचौँ खेलमा सुदूरपश्चिमले जनकपुर बोल्ट्सविरुद्ध ७२ रनको, छैटौँ खेलमा पोखरा एभेन्जर्सविरुद्ध पाँच रनको र सातौँ खेलमा कर्णाली याक्सविरुद्ध ६ विकेटको जित निकालेको थियो ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, पुस ६, २०८१  ०६:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro