site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
एनपीएल : बसिरको ‘सबैभन्दा उत्कृष्ट प्रदर्शन’

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सले शुक्रबार दोस्रो जित निकाल्दा नायक बने, बसिर अहमेद ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा विराटनगरले चितवन राइनोजविरुद्ध ५१ रनको सहज जित निकाल्दा बसिरले बलिङ र ब्याटिङमा उस्तै सानदार प्रदर्शन गरे ।

टस जितेर ब्याटिङमा आउने निर्णय गरेको विराटनगरले स्कोरबोर्डमा १० रन जोड्दै शीर्षक्रमका तीन ब्याटरलाई गुमाइसकेको थियो । दोस्रो ओभरमै तीन ब्याटर गुमाउँदा कप्तान सन्दीप लामिछानेको ब्याटिङ गर्ने निर्णय गलत रहेजस्तो देखिन्थ्यो । विराटनगरले चौथो विकेटका रूपमा निकोलस किर्टोनलाई पनि स्कोरबोर्डमा ३३ रन हुँदा गुमायो ।

यसपछि ब्याटिङका निम्ति क्रिजमा ओर्लिए– बसिर अहमेद । ६.३ ओभरमा ब्याटिङमा ओर्लिएका बसिर पहिलो इनिङको अन्तिम बलसम्मै अविजित रहे ।

यसक्रममा उनले ४४ बल खेल्दा ६८ रन अर्धशतकीय इनिङ खेले । जसमा समान चार चौका र छक्का समावेश छन् । ३३–४ को स्थितिबाट बसिरले पाँचौँ विकेटका निम्ति मार्टिन गप्टिलसँग ६५ रनको साझेदारी गर्दै विराटनगरको मध्यक्रम सम्हाले । बसिरलाई बलियो साथ दिएका गप्टिल अर्धशतकबाट पाँच रनले चुके । उनले ३५ बलमा एक चौका र चार छक्का प्रहार गरे ।

प्रतियोगितामा पहिलोपटक अर्धशतकीय इनिङ खेलेका बसिरले ३९ बलमा ५० रन पूरा गरेका थिए । जतिबेला उनले चार चौका र दुई छक्का प्रहार गरेका थिए ।

त्यसो त बसिरलाई पभेलियन फर्काउन चितवनले अवसर नपाएको भने हैन । खेलको ८.५ ओभरमा चितवनबाट खेलिरहेका पाकिस्तानी बलर सोहेल तान्विरले बसिरको सहज क्याच ‘मिस’ गरेका थिए । उक्त ओभरमा क्याच छुट्दा बसिर नौ रनमा खेलिरहेका थिए ।

“क्याच छुटेपछि आज लामो इनिङ खेल्छु भन्ने लागिरहेको थियो । एकदमै खुसी लागिरहेको छ । थ्यांक्स टू अल्लाह,” खेलपछि बसिरले क्याच छुटेको र आफ्नो प्रदर्शनबारे भने ।

ब्याटिङमा अर्धशतक बनाएका बसिरले बलिङमा पनि उस्तै प्रभावशाली प्रदर्शन गरे । चार ओभर बलिङ गर्दा बसिरले चितवनका ओपनर हसन एसाखिललाई पभेलियनको दिशा देखाए । उनले आफ्नो स्पेनलमा किफायती बलिङ गर्दै १९ रन खर्चिदा एक मेडन समेत फ्याके । जुन खेलभर कुनै पनि बलरले फ्याकेको एक मात्र मेडन ओभर समेत थियो ।

अविजित ६८ रनसँगै ४–१–१९–१ (ओभर, मेडन, रन र विकेट) बलिङ प्रदर्शन गरेका बसिर खेलको ‘प्लेयर अफ दी म्याच’ समेत चुनिए ।

खेलपछि पत्रकारबाट प्रश्न आयो– आजको यो प्रदर्शनलाई तपाईंको हालसम्मकै बेस्ट भन्न मिल्छ ? यसमा बसिर केही सेकेन्ड सोचमग्न जस्तो देखिन्थे । त्यसपछि छोटो–सरल जवाफ फर्काए ।

“यो ठूलो गेम हो भन्न मिल्छ,” जवाफमा बसिरले भने । बसिरको यो प्रतिक्रियापछि ‘पोस्ट म्याच प्रेस मिट’ मा उपस्थित सबै पत्रकारमा हाँसोको फोहरा छुट्यो । बसिर आफैँले पनि हाँसो रोक्न सकेनन् ।

अझै कठिन स्थितिमा विराटनगर
जितका बाबजुद विराटनगरको प्लेअफमा पुग्ने सम्भावना भने निक्कै झिनो छ । ६ खेलबाट चार अंक जोडेको विराटनगर तालिकाको पाँचौँ स्थानमा छ । विराटनगरले अब लिग चरणको अन्तिम खेलमा आइतबार काठमाडौं गुर्खाजविरुद्ध खेल्ने तालिका छ । प्लेअफ सम्भावनालाई जिवित राख्न विराटनगर यो खेलमा जित्नै पर्ने दबाबमा हुनेछ ।

विराटनगरलाई आफ्नो जितमात्रै पर्याप्त भने छैन । सन्दीप लामिछानेको कप्तानीमा रहेको यो टोलीले अरु खेलको नतिजा पनि कुर्नुपर्ने हुन्छ ।

यही समीकरण लक्षित प्रश्न बसिरलाई यसरी आयो– लिग चरणको अन्तिम खेलमा काठमाडौंविरुद्ध खेल्दै हुनुहुन्छ । प्लेअफ पुग्ने कुरामा कत्तिको विश्वस्त हुनुहुन्छ ?

जवाफमा बसिरले भने, “त्यही हो, अन्तिम खेल जतिसक्दो राम्रोसँग जित्ने । राम्रो रनरेटले ।”

प्रकाशित मिति: शुक्रबार, मंसिर २८, २०८१  २०:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro