काठमाडौं । यो वर्षको हिउँद अवधिमा देशभर सरदरभन्दा कम वर्षा हुने सम्भावना छ । अधिकतम र न्यूनतम तापक्रम देशभर सरदरभन्दा बढी रहने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागले यही मंसिर १६ देखि फागुन १६ गतेसम्म तीन महिनाको हिउँद अवधिको हावापानीको आकलन गरेको हो । विभागको आकलन अनुसार, यो हिउँदमा कोसी प्रदेशका दक्षिणी र मधेस प्रदेशका पूर्वी भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत छ ।
यस्तै, सुदूरपश्चिम र कर्णाली प्रदेशका दक्षिणी, लुम्बिनी प्रदेशका अधिकांश भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत छ । गण्डकीका पूर्वी तथा दक्षिणी, वाग्मती, मधेस प्रदेश र कोसी प्रदेशका पश्चिमी भूभागमा पनि सरदरभन्दा कम वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत छ । देशका बाँकी भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागले जनाएको छ ।
न्यूनतम तापक्रम
न्यूनतम तापक्रम देशभर सरदरभन्दा बढी हुने सम्भावना छ । वाग्मती प्रदेशका अधिकांश र मधेस प्रदेशका पश्चिमी भूभागमा न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ५५ देखि ६५ प्रतिशत छ । कर्णाली र लुम्बिनीका अधिकांश भूभागमा न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको विभागले जनाएको छ ।
विभागका अनुसार, यो हिउँदमा गण्डकीका दक्षिणी तथा पश्चिमी, मधेसका पूर्वी र कोसी प्रदेशका दक्षिणी भूभागमा पनि न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ४५ देखि ५५ प्रतिशत छ । देशका बाँकी भूभागमा न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ४५ प्रतिशत छ ।
अधिकतम तापक्रम
यो हिउँदमा अधिकतम तापक्रम देशभर सरदरभन्दा बढी हुने सम्भावना छ । कर्णालीका मध्य तथा पूर्वी, लुम्बिनीका पूर्वी, गण्डकी प्रदेश, वाग्मती र मधेस प्रदेशका पश्चिमी भूभागमा अधिकतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको विभागले जनाएको छ ।
यस्तै, कर्णालीका दक्षिण–पश्चिम र दक्षिणी, लुम्बिनीका पश्चिमी, वाग्मतीका उत्तर–पूर्वी र कोसी प्रदेशका उत्तरी र दक्षिण–पूर्वी भूभागमा अधिकतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ४५ देखि ५५ प्रतिशत छ । देशका बाँकी भूभागमा अधिकतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागले छ ।
“विभागले यस आकलन विश्व मौसम संगठनको विश्वभर तथा क्षेत्रीयस्तरको जलवायु सूचना उत्पादन गर्ने केन्द्रहरूको हावापानी प्रारूपहरूको आकलन, थर्ड पोल क्लाइमेट फोरम (टीपीसीएफ) र साउथ एसियन सिजनल क्लाइमेट आउटलुक फोरम (एसएएससीओएफ)को आकलनको आधारमा तयार गरेको हो,” विभागले भनेको छ, “साथै, नेपालको हिउँद अवधिको जलवायुमा प्रभाव पार्ने पूर्वी प्रशान्त महासागरमा विकसित हुने एल निनो एन्ड साउदर्न ओस्सिलेसन (ईएनएसओ) तथा हिन्द महासागरमा विकसित हुने इन्डियन ओसिएन डिपोल (आईओडी)को हालको अवस्थाहरूलाई समेत मध्यनजर गरी तयार गरिएको छ ।”
विभागका अनुसार, हाल प्रशान्त महासागरमा ईएनएसओ तटस्थ अवस्थामा छ । आगामी हिउँद अवधिमा ला निना विकास हुने आकलन गरिएको छ ।
“त्यसैगरी, हिन्द महासागरमा विकसित हुने आईओडी हाल तटस्थ अवस्थामा रहेको र हिउँद अवधिभर तटस्थ नै रहने आकलन गरिएको छ । यद्यपि, ऋतुगत जलवायु विभिन्न सामुद्रिक तथा वायुमण्डलीय प्रणालीहरू, भूउपयोगजस्ता कुराहरूमा निर्भर हुने र जलवायु प्रारूपहरूलाई यस्ता प्रणाली ऋतु परिवर्तन हुने समयमा शतप्रतिशत विश्वसनीय पूर्वानुमान गर्न कठिन हुने तथ्य मनन गर्नुपर्ने देखिन्छ,” विभागले भनेको छ ।
सामान्यतया सरदर वर्षा/तापक्रम भन्नाले कुनै स्थानको लामो समय (सन् १९९१–२०२०) को ३३.३ देखि ६६.६ प्रतिशतकको वर्षा/तापक्रमलाई जनाउँछ । “सरदरभन्दा कम र बढीको वर्षा/तापक्रम भन्नाले क्रमशः ३३.३ प्रतिशतकभन्दा कम र ६६.६ प्रतिशतकभन्दा बढीको वर्षा/तापक्रमलाई जनाउँदछ,” विभागले भनेको छ ।