
पोखरा । पोखराको हरित यातायात प्रणाली विकासका लागि कोरियाले १५ लाख अमेरिकी डलर खर्चने भएको छ । बिहीबार पोखराको हरित यातायात प्रणाली विकास परियोजनासम्बन्धी अध्ययन प्रतिवेदन मेयर धनराज आचार्यलाई बुझाइएको छ ।
पोखरा महानगरपालिका र कोरियाको भूमि, पूर्वाधार र यातायात मन्त्रालयबीच यसअघि भएको सम्झौताबमोजिम प्रतिवेदन बनाइएको हो । प्रतिवेदनमा पोखराको विद्यमान सार्वजनिक यातायात व्यवस्थालाई प्रविधिमैत्री बनाउँदै सहज र सरल बनाउने विषयमा अध्ययन गरिएको छ ।
यसअघि पनि पोखराको सार्वजनिक यातायात प्रणालीको विषयमा स्थलगत अध्ययन गरेको कोरियाली रेलमार्ग अनुसन्धान संस्थानले पोखराका ८४ वटा बस रुटहरूमा एकहजार २८६ स्थानमा बस स्टप निर्माण गर्नुपर्ने तीन स्थानमा बस टर्मिनल आवश्यक रहेको बताएको छ ।
पहिलो चरणमा खर्च हुने १५ लाख अमेरिकी डलरको आधा रकम बसस्टप र बसहरूमा मेसिन जडान गर्दा खर्च हुनेछ । पोखराको मुख्य चोक पृथ्वीचोकलाई थप विस्तार गरिनेछ । तीन चरणमा गरी सम्पन्न गरिने यस परियोजनाको पहिलो चरणमा सहरी यातायात व्यवस्थापनका लागि प्रारम्भिक चरणको काम सकिनेछ । दोस्रो चरणमा हरित यातायात प्रणालीको विकास गरिने छ । तेस्रो चरणमा दिगो हरित यातायात प्रणालीको विकास गर्ने गरी प्रतिवेदन तयार गरिएको छ ।
विश्वमा भएको उत्कृष्ट सहरी यातायात व्यवस्थापनको नमुना पोखरामा हुने कोरियन टोलीले विश्वास दिलाएको छ । परियोजनाका दौरानमा हाल नेपालमा रहेका सवारीहरूको अवस्था र कोरियामा भइरहेको यातायात व्यवस्थापनको अनुभवलाई समेत प्रयोग गरिनेछ । प्रतिवेदन अनुसार परियोजनाको अन्त्यमा पोखराको सार्वजनिक सहरी यातायात व्यवस्थापन प्रविधिमैत्री र स्मार्ट हुनेछ ।
यस्तै, पोखरामा चल्ने सार्वजनिक यातायातको सेवाबारे हरेक नागरिकहरूले डिजिटल माध्यमबाट जानकारी पाउनेछन् । अहिलेजस्तो कुनै पनि स्थानमा लामो समयसम्म बस कुर्नुपर्ने छैन । चालकहरूले समेत जथाभाबी यात्रु चढाउन र ओराल्न पाउने छैनन् ।
क्याम्पिङ्चोकदेखि बगर (बसस्टप १९), निर निवासदेखि शान्तिनगर चोक (बसस्टप ११) र नुवारचोकदेखि महिमा किराना (बसस्टप १८) सम्म गरी तीनवटा मुख्य बस चल्ने रुटहरू हुनेछन् ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यस परियोजना मार्फत पोखरामा वातावरणमैत्री यातायात प्रणालीको विकासमा टेवा पुग्नुका साथै सार्वजनिक यातायात प्रयोग गर्ने यात्रुहरूको सङ्ख्यामा वृद्धि, कार्बन उत्सर्जनमा न्यूनीकरण र सार्वजनिक यातायातको सम्पूर्ण जानकारी प्राप्तिमा यात्रुहरूलाई सहजता पुग्ने विश्वास व्यक्त गरे ।