site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दक्षिण कोरियामा हलचल : राष्ट्रपतिले अचानक ‘मार्सल ल’ किन लगाए र फिर्ता लिए ?
मार्सल लको विरोधका क्रममा विपक्षी र सुरक्षाकर्मी । तस्बिर : एपी ।

काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति युन सुक–योलले मंगलबार राति अचानक एउटा निर्णय गरे, जसले सबैलाई चकित बनायो । उनको निर्णय थियो, दक्षिण कोरियामा ‘मार्सल ल’ लगाउने ।

मार्सल ल लगाउने घोषणा गरेको केही समयमै दक्षिण कोरियामा यसको चर्को विरोध भयो । चर्को दबाबपछि उनले मार्सल ल लगाउने निर्णय फिर्ता लिए ।

युन सुक–योलको यो अप्रत्याशित घोषणा अबेर राति टीभीमा प्रसारण गरिएको थियो । उनले उत्तर कोरिया र राष्ट्रविरोधी शक्तिबाट देश खतरामा रहेको बताउँदै मार्सल लगाउने घोषणा गरेका थिए ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

तर, यो छिट्टै स्पष्ट भयो कि उक्त निर्णय बाह्य धम्कीका कारण नभई राष्ट्रपति युनको आफ्नै निराशाजनक राजनीतिक समस्याबाट प्रेरित थियो ।

उक्त घोषणासँगै हजारौँको संख्यामा जनता संसद् भवनअगाडि जम्मा भएर विरोध प्रदर्शन गरे । तत्कालै विपक्षी सांसद संसद्‌मा पुगेर मार्सल ल खारेज गर्न आपत्कालीन मतदानको माग गरे ।

सांसद र आमजनताको दबाबपछि युनले हार स्वीकार गरे । केही घण्टापछि संसद्‌मा मतदान स्वीकार गरे र मार्सल ल लगाउने निर्णय फिर्ता लिए । 

घटना कसरी घट्यो ?
पर्यवेक्षक भन्छन्– युनले यस्तो राष्ट्रपतिका रूपमा काम गरिरहेका छन्, जसले आफूलाई चारैतिरबाट घेरिएको महसुस गरेका छन् ।

मंगलबार राति सम्बोधन गर्दै उनले प्रतिपक्षले सरकारलाई कमजोर बनाउने प्रयास गरेको उल्लेख गरेका थिए । ‘विनाश मच्चाउने राष्ट्रविरोधी शक्तिहरूलाई कुचल्न’ मार्सल लको घोषणा गरेको उनले जिकिर गरेका थिए । उनको आदेशसँगै दक्षिण कोरिया अस्थायी रूपमा सेनाको नियन्त्रणमा गएको थियो ।

राष्ट्रियसभा भवनमा हेल्मेटसहितका सैनिक र प्रहरी तैनाथ गरिएको थियो । यो भवनको छतमा हेलिकोप्टर अवतरण गरेको देखिएको थियो ।

स्थानीय सञ्चारमाध्यमले मास्क लगाएका, बन्दुक बोकेका सिपाही भवनभित्र पसेका तस्बिरहरू पनि देखाएका थिए । राष्ट्रियसभाका कर्मचारीले सैनिकहरूलाई रोक्न खोजिरहेका भिडियो सार्वजनिक भएका थिए ।

दक्षिण कोरियाली समयानुसार मंगलबार राति करिब ११ बजे सेनाले आदेश जारी गरेको थियो । उक्त आदेशमा तत्काल संसद् र राजनीतिक समूहका विरोध प्रदर्शन र गतिविधिमा प्रतिबन्ध लगाइएको र सञ्चारमाध्यमलाई सरकारको नियन्त्रणमा राखिएको उल्लेख थियो ।

तर, दक्षिण कोरियाली राजनीतिज्ञले तुरुन्तै युनको घोषणालाई अवैध र असंवैधानिक घोषणा गरेका थिए । उनको आफ्नै पार्टी कन्जरभेटिभ पिपुल्स पावर पार्टीका नेताले पनि युनको निर्णयलाई ‘गलत कदम’ बताए ।

यसैबीच, देशको सबैभन्दा ठूलो विपक्षी पार्टी लिबरल डेमोर्क्याटिक पार्टीका नेता ली जे–म्युङले आफ्ना सांसदहरूलाई संसद्‌मा पुग्न र मार्सल लको घोषणाको विरुद्धमा मतदान गर्न आह्वान गरेका थिए । उनले दक्षिण कोरियाली नागरिकलाई संसद् भवनमा आउन र विरोध गर्न पनि आह्वान गरेका थिए ।

ली जे–म्युङले भनेका थिए, “मेरा साथीहरू, राष्ट्रियसभामा पुग्नुहोस्, ताकि ट्यांक, सशस्त्र सवारीसाधन, बन्दुक र चक्कुहरूको सहारामा सेनाले देशमा शासन नगरोस् ।”

यो सन्देश सुन्नेबित्तिकै संसद् भवनबाहिर हजारौँ मानिस जम्मा भएका थिए । आन्दोलनकारीले ‘मार्सल ल लाग्ने छैन’, ‘तानाशाहीको अत्य गर’ जस्ता नारा लगाएका थिए ।

संसद् भवनबाहिरबाट प्रसारण हुने स्थानीय सञ्चारमाध्यमले पनि गेटमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको देखाएका थिए । सैनिकहरूको उपस्थितिका बाबजुद तनाव हिंसामा भने परिणत भएन ।

यसैबीच, सांसदहरू ब्यारिकेड पार गरी संसद्‌मा प्रवेश गरेका थिए । उनीहरू सबै अवरोध पार गर्दै मतदान केन्द्रमा पुग्न सफल भएका थिए ।

कोरियाली समयानुसार बुधबार बिहान १ बजेतिर दक्षिण कोरियाको संसद्‌मा ३०० मध्ये १९० सदस्य उपस्थित भएका थिए । यी सांसदले विधेयक अस्वीकार गरे र राष्ट्रपति युनको मार्सल लको घोषणालाई अमान्य घोषित गरेका थिए ।

मार्सल ल लगाउनुको अर्थ के थियो ?
दक्षिण कोरियामा मार्सल ल एक अस्थायी नियम हो, जुन आपत्कालीन अवस्थाको समयमा लगाइन्छ । यस्तो बेला सेनाले देशको कमान्ड लिन्छ । यसको कारण जननिर्वाचित सरकारले आफ्नो काम गर्न नसकेको बताइन्छ ।

पछिल्लोपटक सन् १९७९ मा दक्षिण कोरियामा मार्सल ल घोषणा गरिएको थियो । त्यसपछि दक्षिण कोरियाका तत्कालीन सैन्य तानाशाह पार्क चुङ–हीको कु’को हत्या भएको थियो ।

सन् १९८७ मा दक्षिण कोरियामा लोकतन्त्र स्थापना भएपछि मार्सल ल एकपटक पनि लगाइएको थिएन । तर, मंगलबार युनले मार्सल ल लागु गर्ने घोषणा गरेका थिए । राष्ट्रका नाममा सम्बोधन गर्दै उनले दक्षिण कोरियालाई ‘राष्ट्रविरोधी शक्ति’बाट बचाउन आफू लागिपरेको बताएका थिए ।

राष्ट्रपति युनले उत्तर कोरियाविरुद्ध विगतका सरकारहरूको तुलनामा धेरै कडा अडान लिइरहेका छन् । आफ्नो सम्बोधनमा उनले विपक्षीहरूलाई उत्तर कोरियाको समर्थकका रूपमा वर्णन गरे । तर, आफ्नो भनाइको समर्थनमा उनले कुनै प्रमाण पेस गरेका थिएनन् ।

मार्सल कानुनअन्तर्गत सेनालाई अतिरिक्त शक्ति दिइन्छ र नागरिक अधिकार प्रायः निलम्बित हुन्छन् ।

यसैअनुसार सेनाले राजनीतिक गतिविधि र मिडियामा प्रतिबन्धको घोषणा गरेको थियो । तर, प्रदर्शनकारी र राजनीतिज्ञले खुला रूपमा ती आदेशको अवज्ञा गरेका थिए । सेनाले आफ्नो आदेशमा सबै सञ्चारमाध्यम सरकारको नियन्त्रणमा रहेको जनाएको थियो । 

युनले यो निर्णय किन लिए ?
युन सन् २०२२ मेमा सत्तामा आएका थिए । उनको छवि कट्टर रूढिवादी थियो । तर, यो वर्षको अप्रिलमा देशको आमनिर्वाचनमा विपक्षीले ठूलो जित हासिल गर्‍यो । त्यसपछि देशमाथि उनको पकड कमजोर बनेको थियो । संसद्‌मा प्रतिपक्षको नियन्त्रणका कारण उनको सरकार विधेयक पारित गराउन असफल बनेको थियो ।

देशमा उनको लोकप्रियता लगातार घट्दै गएको छ । हालैको सर्वेक्षणले उनको लोकप्रियता १७ प्रतिशतको न्यून स्तरमा पुगेको देखाएको छ ।

यो वर्ष उनी धेरै घोटालामा फसेका छन् । यी घोटालामध्ये एक उनको पत्नीसँग सम्बन्धित छ । उनकी श्रीमतीले उपहारका रूपमा एउटा आकर्षक ब्याग लिएको आरोप छ । यसबाहेक सेयर बजारमा हेरफेरको मुद्दा पनि सार्वजनिक भएको छ ।

गएको महिना राष्ट्रपति युनले राष्ट्रिय टीभीमार्फत माफी मागेका थिए । उनले प्रथम महिलाको कामको अनुगमनका निम्ति कार्यालय स्थापना गरिरहेको समेत बताएका थिए । तर, उनले विपक्षीले गर्दै आएको व्यापक छानबिनको मागलाई अस्वीकार गरेका थिए ।

त्यसपछि यो हप्ता विपक्षीले बजेट विधेयकमा कटौतीको प्रस्ताव गरेका थिए । देशको कानुनानुसार राष्ट्रपतिले यो विषयमा ‘भिटो’ प्रयोग गर्न पाउँदैनन् ।

सोही क्रममा विपक्षीले प्रथम महिलामाथि अनुसन्धान गर्न असफल भएको भन्दै मन्त्रिपरिषद्का सदस्य र धेरै वरिष्ठ सरकारी वकिलहरूविरुद्ध महाभियोगको प्रस्ताव पनि राखेका थिए ।

अब के हुन्छ ?
युनको घोषणाले धेरै मानिसलाई आश्चर्यचकित बनायो । दक्षिण कोरियाली ६ घण्टासम्म अन्योलमा परेका थिए । मार्सल ल ‘अर्डर’को अर्थ के हो भनेर मानिस जान्न चाहन्थे । तर, तत्कालै संसद्‌मा भेला भएका विपक्षीले राष्ट्रपतिको आदेशको विपक्षमा मतदान गर्दै मार्सल ल अस्वीकृत गरेका थिए ।

राजधानी सियोलमा सैनिक र प्रहरीको भारी उपस्थिति भएता पनि सेनाले देश नियन्त्रणमा लिन सम्भव नहुने देखिएको थियो । दक्षिण कोरियाको कानुनानुसार संसद्को बहुमतले मार्सल लको विरोध गरेमा त्यसलाई लागु गर्न सकिँदैन । यस ऐनअन्तर्गत मार्सल ल कमान्डरलाई पनि सांसदलाई पक्राउ गर्नबाट रोक लगाइएको छ ।

यति भइसक्दा पनि यो स्पष्ट छैन कि अब के हुन्छ । युनले यो कदमका निम्ति कस्तो परिणाम भोग्नुपर्नेछ त्यो पनि स्पष्ट भइसकेको छैन ।

मंगलबार राति संसद् भवनबाहिर जम्मा भएका केही प्रदर्शनकारीले ‘युन सुक–योललाई गिरफ्तार गर’ जस्ता नारा लगाएका थिए ।

राष्ट्रपति युनको यो कदमले दक्षिण कोरियालाई स्तब्ध भने बनाएको छ । यहाँका जनताले आफ्नो देशलाई समृद्ध आधुनिक लोकतन्त्र मान्छन् । उनीहरूले विगतको अधिनायकवादको युगलाई धेरै पछाडि छोडिसकेका छन् ।

मंगलबार जे भयो – त्यसलाई दक्षिण कोरियामा सबैभन्दा ठूलो चुनौतीका रूपमा हेरिएको छ । यो घटनाले दक्षिण कोरियाको लोकतन्त्रको विश्वसनीयतामाथि असर गर्ने विज्ञको भनाइ छ ।

“युनले गरेको मार्सल लको घोषणा कानुनी अतिक्रमण र राजनीतिक गल्तीको प्रतीक हो । यसले दक्षिण कोरियाको अर्थतन्त्र र सुरक्षालाई खतरामा पार्न सक्छ,” सियोलको इवा विश्वविद्यालयका विज्ञ लीफ–एरिक इस्लेले भने ।

उनले थप स्पष्ट पार्दै भने, “उनी पूर्णतया घेराबन्दीमा परेको राजनीतिज्ञजस्तो देखिन्थ्यो । जसले बढ्दो घोटाला र महाभियोगको मागको विरुद्ध हताश भएर यस्तो कदम चालेको थियो । तर, अब यी सबै कुराको माग झन् चर्को हुनेछ ।”

युनको कदमका विषयमा सभामुखले पनि मुख खोलेका छन् । बुधबार बिहान सैनिक कानुन विधेयक अस्वीकृत गर्दै सभामुखले स्पष्ट भने, “जनतासँग मिलेर लोकतन्त्रको रक्षा गर्छौँ ।” बीबीसीमा प्रकाशित समाचारको भावानुवाद ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १९, २०८१  १३:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro