site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
Tiktok banner adTiktok banner ad

प्रधानमन्त्री खड्गप्रसाद ओली आज सोमवार नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै चीनको औपचारिक भ्रमणमा प्रस्थान गरेका छन् । यसपटक प्रधानमन्त्री भएपछि यो उनको पहिलो औपचारिक विदेश भ्रमण हो ।

चीन भ्रमणको मिति आधिकारिकरूपमा सार्वजनिक नहुँदै प्रधानमन्त्री ओलीको भ्रमणलाई विवादमा तान्ने प्रयास गरिएको थियो । मूलतः प्रमुख विपक्षी नेता पुष्षकमल कमल दाहालले ओलीले भारतभन्दा पहिले चीन भ्रमण गरेर ‘चाइना कार्ड’ खेलेको आरोप लगाएपछि विवाद चर्केको हो । 

भ्रमणलाई थप विवादमा ल्याउने काम भने प्रधानमन्त्री ओलीको सत्ता साझेदार दल नेपाली कांग्रेसका नेताहरूको ‘बीआरआईमा ऋण’ लिँदै नलिने घोषणाबाट भयो । फलस्वरूप प्रधानमन्त्री ओली  महत्त्वाकांक्षी ‘बेल्ट एन्ड रोड इनिसियटिभ’ कार्यान्वयनसम्बन्धी सम्झौता होस् भन्ने चिनियाँ चाहना र सत्ता साझेदारको आनाकानीको चेपुवामा परे ।

धन्न भ्रमण सुरु नहुँदै सत्ताका प्रमुख साझेदारहरूबीच बीआरआईमा चिनियाँ अनुदान स्वीकार गर्नेमा मतैक्य भयो । यसपछि बीआरआईअन्तर्गत निर्माण गरिने परियोजनाहरूको कार्यान्वयनका लागि बाटो खुलेको छ । सम्भवतः चिनियाँ पक्ष अपेक्षितमात्रामा लचिलो भएमा बीआरआई परियोजना कार्यान्वयन सम्झौता यसै भ्रमणमा हस्ताक्षर हुनेछ ।

कार्यान्वयन सम्झौतामा हस्ताक्षर भइहाले पनि परियोजनाहरूको कार्यान्वयनमा भने निकै जटिल हुने देखिन्छ । विशेषगरी अमेरिकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन कार्यान्वयनका क्रममा चर्काइएको अनावश्यक र अनुचित विवादले पछिल्ला वैदेशिक सहयोग कार्यान्वयनमा किचलो खडा हुनु अस्वाभाविक होइन ।    

सरकार यस्ता किचलोका डरले निस्क्रिय बस्न भने हुँदैन । तर, बीआरआई कार्यान्वयन सम्झौता भएपछि जनमानसमा त्यसप्रति सन्देह उत्पन्न हुन दिनु हुँदैन । बीआरआई नेपालका लागि ‘ऋण पासो’ होइन र हुँदैन भनेर जनतालाई आश्वस्त तुल्याउन पनि यससम्बन्धी सम्झौता र सहमतिहरू पूर्ण पारदर्शी बनाउनुपर्छ । 

पारदर्शिता चीनका लागि असहज विषय हुनसक्ला तर चीनजस्तो सदाशयी मुलुकले नेपालको बाध्यता पक्कै बुझ्नेछ । नेपाली पक्षले पनि आफ्नो बाध्यता स्पष्ट शब्दमा राख्नु भने पर्छ । सदाशयी मित्रहरूबीच लुकाउनु पर्ने पनि त केही हुँदैन ।

देशभित्र पनि सरकारका मुख्य साझेदारहरू नै मुख्य प्रतिस्पर्धी राजनीतिक दल पनि भएकाले लुकाउन कोही पनि सफल हुनसक्दैन । अहिले नभए पनि चुनावका बेलामा एकअर्काको कमजोरी उदिन्ने गरिनेछ । यसैले पनि अहिले नै सबै विषय पारदर्शी गराउनु सरकारका लागि हितकारी हुनेछ ।  

आशा गरौँ, बीआरआई कार्यान्वयनका क्रममा कुनै तगारो भए यस भ्रमणपछि खुल्नेछ । प्रधानमन्त्री ओली बीआरआईको ‘ब्रेक थ्रु’ गरेर फर्कनेछन् र सबै सम्झौता सहमति सार्वजनिकरूपमै पारदर्शी गरिनेछ । 

प्रधानमन्त्री ओलीसहित नेपाली प्रतिनिधिमण्डलको चीन यात्रा सुखद, सार्थक र सफल होस् । शुभकामना !
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  १५:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro