site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अस्ट्रेलियामा कति छन् नेपाली ?

सिड्नी । अस्ट्रेलियामा नेपाली कति छन् ? एउटा महत्त्वपूर्ण प्रश्न हो, जसको उत्तर सधैँ लगभग र अनुमानितमा मात्र आउने गर्छ । हरेक व्यक्ति तथा संघसंस्थाबाट यसको फरक–फरक उत्तर आउँछ । 

कोही एक लाख भन्छन्, केही डेढ लाख अनि कसैले तीन लाखसम्म भन्न पछि पर्दैनन् । तर, एकिन संख्या कसैलाई थाहा छैन र यसको कुनै अभिलेख कोहीसँग पनि छैन । लगभग, अनुमानितकै भरमा चलेको छ, यो किटानी ।

सबै आ–आफ्नो अनुमान र हचुवाका भरमा बोलिरहेका हुन्छन् । सिड्नी, मेलवर्न र ब्रिजबेनका सडक तथा व्यापारिक केन्द्रमा नेपालीको घुइँचो देखिन्छ । सिड्नी ट्रेन चढ्दा एउटा डिब्बामा एकतिहाइ नेपाली नै भटिन्छन् ।

राज्यको अभिलेखको पुराना पानाहरूमा केही अघिसम्मका तथ्यांक थियो । तर, थपिँदै गएका नेपाली विद्यार्थी र बाक्लिदै गएको नेपाली समाजको एकीन संख्याको उत्तर भने कुनै निकायसँग छैन ।

हरेक वर्ष थपिने नेपाली विद्यार्थीको संख्या, स्थायी बसोबासको अनुमति (पीआर) र नागरिकता ग्रहण गरेकाहरूको संख्या ढिलो चाँडो पाइन्छ । अन्य भिसामा रहेकाहरूको एकीन संख्या प्राप्त गर्न निकै कठिन भएकाले पनि नेपालीको संख्या हचुवाका भरमा आँकलन गरिँदै आएको हो ।

सन् २०१७ को अस्ट्रेलियन सरकारको जनगणना हेर्ने हो भने ७३ हजार ७४० जना नेपालमा जन्मेका व्यक्ति अस्ट्रेलियामा बसोबास गरिरहेको तथ्यांक थियो । पछिल्लो जनगणना सन् २०२२ को अन्तिममा एक लाख ५१ हजार १४० जना नेपालमा जन्मिएर अस्ट्रेलियामा बसोबास गर्दै आएको सरकारी तंथ्याकमा पाइन्छ । तर, जनगणनामा भाग नलिने विद्यार्थीहरूको संख्या पनि ठूलै पाइन्छ । 

तर, त्यसपछि कति थपिए, विद्यार्थीको एकिन संख्या कति हो र अभिभावक तथा अन्य भिसामा रहेका नेपालीको संख्या कति छ, कुनै तथ्यांक कतै छैन । त्यसमा पनि पछिल्लो पुस्तामा अस्ट्रेलियामा जन्मेका नेपालीहरूको तथ्यांक भेट्न मुस्किल छ । 

अध्यागमन विभागको आधारमा हेर्ने हो भने अस्ट्रेलियामा स्थायी बसोबास गरिसकेका नेपालीको संख्या एक लाख ६० हजारको हाराहारीमा रहेको तथ्यांक सार्वजनिक भएको छ । अस्ट्रेलियामा नेपाली विद्यार्थीहरूको पछिल्लो संख्या ६३ हजार रहेको डेढ वर्षअघिको तथ्यांकले देखाउँछ । तर, त्यसपछि बाक्लो रूपमा उच्च अध्ययन गर्न आएका नेपाली विद्यार्थीको संख्या भने जोडिएको छैन । 

पछिल्लो तथ्यांकले एक लाख ५१ हजार नेपालीमूलका मानिस अस्ट्रेलियामा बसोबास गरिरहेको देखाउँछ । त्यसपछि थपिएका जोड्दा पुगनपुग दुई लाखको हाराहारीमा हुनसक्ने अस्ट्रेलियाका लागि नेपाली कार्यवाहक राजदूत कुलबहादुर मगर बताउँछन् । “यसको यकिन गर्न मापन गर्ने भनेको अस्ट्रेलियन सरकारको जनगणना नै हो, हामीसँग ठाक्कै मापन गर्ने कुनै संयन्त्र नै छैन,” मगरले भने । 

पछिल्लोपटक बिदाइ भएका अस्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलले करिब दुई लाख नेपाली अस्ट्रेलियामा रहेको एक कार्यक्रममा बताएका थिए । 

कयौ वर्षदेखि अस्ट्रेलियन सरकारले दिएको पूरानो तथ्यांकका आधारमा नेपालीको संख्या मापन गरिँदै आए पनि पछिल्लोसमय नेपालीहरूको संख्या ह्वातै बढ्न थालेपछि यसको खोजीनिति सुरु भएको हो । 

केहीअघि अस्ट्रेलियास्थित नेपाली दूतावासले प्यासिफिक क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकको गणना सुरू गरे पनि त्यो अभियान बीचमै बन्द भएको देखिन्छ ।

राजदूतावासले अष्ट्रेलियालगायत न्युजिल्यान्ड, फिजी, पपुवान्युगिनी, भानुआटु, सोलमन आइल्यानड, टुभालु र सामोआमा बसोबास गर्ने नेपाली नागरिकलाई लक्षित गरी सर्वेक्षण फारम जारी गर्दै नेपालीको संख्या यकिन गर्ने अभियान थालनी गरेको थियो । तर, सो अभियान बीचमै रोकिएको हो । 

संस्थागत रूपमा यसको खोजिनिति प्रारम्भ गर्न नसके पनि हाल अस्ट्रेलियामा करिब दुई लाख ५० हजारको संख्यामा नेपाली बसोबास गरेको विभिन्न तथ्यहरूमा भेटिएको गैरआवासीय नेपाली संघका केन्द्रीय सचिव डा. ज्ञानेन्द्र रेग्मीले बताए । उनले भने, “सन् २०१७ को जनगणनामा जसजसले सहभागिता जनाए त्यस अनुरुप हेर्ने हो भने हाम्रो संख्या ७३ हजार मात्र देखिन्छ, २०२२ मा आएर केही बढी मानिसको सहभागिता रहँदा यो संख्या एक लाख ५१ हजार पुगेको छ, जुन सरकारी तथ्यांक हो ।” 

यसको विवरण राख्ने र सरकारसँग समन्वय गर्ने काम एनआरएनले अगाडि पर्नेमा उनले जोड दिए । 

प्राविधिक रूपमा सम्बन्धित राज्यले उपलब्ध गराएको तथ्यलाई आधार मान्नुपर्ने बाध्यताले पनि राजदूतावासलाई यसै भन्न कठिन भएको एनआरएनका कोषाध्यक्ष अर्जुन गौतमले बताए । “नेपालबाट आएका विद्यार्थीको शिक्षा मन्त्रालयसँग अभिलेख रहे पनि कति फर्के, कति यतै बसे भने कुनै लेखाजोखा छैन,” कोषाध्यक्ष गौतमले भने, “नेपाल सरकारको अध्यागमन विभागले आफ्नो तथ्यांक खोतल्ने हो भने कति नेपाली अस्ट्रेलिया गए र कति फर्के भन्ने संख्या यकिन गर्न सके मात्र ठ्याक्कै संख्या निस्कन्छ ।” 

हाल बिनाभिसा गैरकानुनी रूपमा केही नेपाली अस्ट्रेलियामा रहेको हुनसक्ने अनुमान छ । अभिभावकको संख्या मात्र आठ हजारभन्दा बढी छ । “यो हामी सबैको लागि महत्त्वपूर्ण विषय हो जस्तो लाग्छ, हाम्रो संख्या हामीलाई नै थाहा नहुनु र हचुवाको भरमा बोलिरहनु उचित हुँदैन, राजदूतावाससँग समन्वय गरेर एनआरएनले यस विषयमा पहल गर्नुपर्छ,” एनआरएनए एनएसडब्लूका सचिब कल्याण खड्काले भने । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, मंसिर १४, २०८१  ०७:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro