site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
दूध उत्पादक किसानलाई अनुदान

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले दूध उत्पादक किसानलाई प्रतिलिटर २० रुपैयाँ अनुदान दिने भएको छ । 

गाउँपालिकाले गत आर्थिक वर्षसम्म प्रतिलिटर सात रुपैयाँ पचास पैसा अनुदान दिँदै आएकोमा चालु आर्थिक वर्षदेखि अनुदान रकम वृद्धि गरी प्रतिलिटर २० पुर्याइएको हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताइन् । 

अनुदान रकम साना किसानसम्म पुर्याउन एक आवमा सहकारीमार्फत बिक्री गरेको दूधको परिमाण अनुसार अनुदान रकम प्रदान गरिने गाउँपालिकाका अध्यक्ष पाण्डेले बताइन् ।   

“गाउँपालिकाभित्र रहेका दुग्ध सहकारीहरूले उपलब्ध गराएको वार्षिक तथ्यांकका आधारमा अनुदान दिने व्यवस्था गरेका छौँ”, उनले भनिन्, “किसानलाई प्रोत्साहन गरी गाउँपालिकाभित्र दूध उत्पादन वृद्धि गर्ने हाम्रो मुख्य लक्ष्य हो ।” 

हुप्सेकोट गाउँपालिकाको आव २०८१/८२ को नीति कार्यक्रम एवं बजेटमा गाउँपालिकाभित्रका दुग्ध सहकारीमा किसानले बिक्री गरेको प्रतिलिटर दूधमा रु २० नगद अनुदान दिने उल्लेख गरिएको छ । दूध उत्पादन वृद्धि गर्न गाउँपालिकाले आव २०७८/७९ देखि प्रतिलिटर रु पाँच अनुदान दिन सुरु गरेकोमा चालु आवमा अनुदान रकम उल्लेख्य वृद्धि गरिएको हो । 
     
उत्पादनको आधारमा अनुदान दिँदा साना किसान लाभान्वित भएको गाउँपालिका अध्यक्ष पाण्डेको भनाइ छ । उत्पादनका आधारमा दूधमा अनुदान वितरण गर्न थाले पछि दूध उत्पादन र पशु पाल्ने किसानको संख्या वृद्धि भएको उनले बताइन् । 

“हुप्सेकोट गाउँपालिकालाई दुग्ध उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्यअनुसार कृषकलाई आकर्षित गर्ने कार्यक्रम अगाडि सारिएका छन्”, उनले भनिन्, “गाउँपालिकाको पहाडी क्षेत्रमा पशुपालन कम हुने हुँदा यस क्षेत्रमा दूध उत्पादन कम हुने गरेको छ ।” 

गाउँपालिकाले गत आवमा प्रतिलिटर रु १० अनुदान रकम उपलब्ध गराउने घोषणा गरे पनि गण्डकी प्रदेश सरकारले पनि दूधमा अनुदान रकम उपलब्ध गराएकाले प्रदेशबाट किसानलाई प्राप्त अनुदान रकम घटाएर प्रतिलिटर रु १० हुने गरी अनुदान वितरण गरिएको हुप्सेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद पराजुलीले बताए । 

“आव २०८०/८१ मा कूल ७५ हजार दुई सय दुई लिटर दूधमा कूल रु पाँच लाख ६४ हजार १२ अनुदान रकम किसानलाई वितरण गरिएको छ”, उनले भने, “आव २०७९/८० मा कूल ५७ हजार तीन सय २३ लिटर दूधमा प्रतिलिटर रु पाँचको दरले रु दुई लाख ८६ हजार छ सय १९ अनुदान रकम प्रदान गरिएको थियो ।”  रासस

प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०८१  ०६:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro